
भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि मैदान बनेको छ। यही कुरालाई चरितार्थ गरेको छ एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको वादविवाद प्रतियोगिताले, जुन सुर्यविनायक-३ बालकोटस्थित ईडेन गार्डेन इङ्ग्लिस स्कुलको आयोजनामा भव्य रूपमा सम्पन्न भएको हो ।
प्रतियोगितामा छात्राका लागि “विद्यार्थीलाई सजाय होइन, प्रोत्साहन आवश्यक छ” र छात्रका लागि “शिक्षाको उद्देश्य प्राप्तांक होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ” भन्ने विषयमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले धारिलो तर्कसहित भाग लिएका थिए।
प्रतिस्पर्धामा यूनिटी स्कुलकी दीपशिखा भट्ट छात्रातर्फ तथा क्वालिटी स्कुलका अभिषेक दुलाल छात्रतर्फ प्रथम स्थान हासिल गरी विजयी बने।
दोस्रो स्थानमा छात्रातर्फ सेन्ट जोन्स इङ्ग्लिस स्कुलका सम्राट नेपाल र छात्रातर्फ ईटुसा लिम्बू पुगे भने, तृतीय स्थान छात्रातर्फ हिमाल एकेडेमीका प्रज्ज्वल वाग्ले र छात्रातर्फ सुर्योदय सेकेन्डरी स्कुलकी प्रशंसा गोले ले प्राप्त गरे।
सान्त्वना पुरस्कार छात्रातर्फ सुर्योदय स्कुलका रियान बनमाला र छात्रातर्फ विमल मेमोरियल स्कुलकी प्रविधी खड्का लाई प्रदान गरियो।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली छन्द साहित्यमा सबैभन्दा ठूलो महाकाव्यका रचनाकार चन्द्रप्रसाद न्यौपाने र चर्चित साहित्यकार/कवि जीवनाथ अधिकारी रहनुभएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष जी.भी. खड्का तथा आयोजक विद्यालयका सह-प्रधानाध्यापक अनिश राई ले विजयी प्रतिभालाई ट्रफी, प्रमाणपत्र र सम्मान प्रदान गर्नुभयो।
अध्यक्ष खड्काले यस्ता प्रतिस्पर्धाले विद्यार्थीमा आत्मविश्वास, तर्कशीलता र राष्ट्रप्रेम विकास हुने विश्वास व्यक्त गर्दै भविष्यका कर्णधार उत्पादनमा यस्ता कार्यक्रमको भूमिकालाई महत्वपूर्ण ठहर गर्नुभयो।
सभापति अनिश राईले ईप्सनद्वारा सञ्चालन गरिने यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्दै उनीहरूलाई नयाँ अवसर प्रदान गर्ने बताए।
साँच्चिकै, यो कार्यक्रम विचार, आवाज र आत्मविश्वासको उत्सव बन्यो – जहाँ शब्दहरू तीर बने र तर्कहरुले युद्ध गरे ।