सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सरकारलाई साथ् दिनुपर्ने बताएका छन । शुक्रवार झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
देशलाई समृद्धितर्फ लैजाने जिम्मेवारी सरकारको भएको तर समृद्धि प्राप्त गर्नेतर्फको यात्रामा सञ्चारमाध्यमले पनि साथ दिनुपर्नेमा उनको जोड छ ।‘पत्रकारितामा पोल्टिक्सलाई मिसाउने काम नगरौं।’ उनले भने ।
सञ्चार जगतले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका मन्त्री बास्कोटाले भने, ” प्रेस जगत विश्सनीय र व्यावसायिक भइ देश तथा समाजप्रति थप उत्तरदायी बन्न सके मात्र समृद्धि सजिलै सम्भव छ ।”
संचार जगतलाई थप मर्यादित र व्यावसायिक बनाउने खाँचो रहेको र आफू त्यसको लागि आवश्यक नीतिगत व्यवस्था गर्न लागिपर्ने उनको भनाइ छ । “सञ्चारमाध्यमको नीतिगत व्यवस्थापनमा चुनौती देखिए निराकरणका लागि सरकार गम्भीर छ ।” उनले भने ।
समाजका बेथिति मात्र केलाएर सञ्चारमाध्यमको दायित्व पूरा नहुने जिकिर गर्दै उनले देश र जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिए । मन्त्री बाँस्कोटाले पत्रकारिताको लागि एउटै छाता ऐन बनाएर अघि बढ्नु पर्ने समेत बताए ।