चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव फेला परेको छ । बुधबार शव फेला परेको हो ।
बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बोरा खोली हेर्दा हात खुट्टा डोरीले बाँधेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अन्दाजी ४० वर्ष उमेरका जस्तो देखिने दुवै शवको पहिचान खुल्न सकेको छैन । उनीहरूको पहिचानका लागि तथा घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।