News Portal

  • यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले

    अनलाइनपर्दा संवाददाता
    ८९५ पटक

    हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै सुनेका भए पनि, यो सिद्धान्तलाई परिभाषा गर्न अप्ठ्यारो पर्ने गर्छ । नवउदारवाद शब्दको अर्थ के हो थाह छ ?

    यो सिद्धान्तको अनभिज्ञता नै मुठ्ठीभर मानिसहरूको हातमा शक्तिको कारण र लक्षण हो । नवउदारवादले संसारमा भइरहेको असाधारण र गम्भीर सङ्कटहरूलाई पैदा गर्नमा ठूलो भूमिका खेलेको छ । अर्थात सन् २००७–०८ को आर्थिक मन्दी, शक्ति र अर्थको चरम निकासी जसका बारेमा ‘पानामा पेपर’ले थोरबहुत जानकारी दियो । सार्वजनिक शिक्षा र स्वास्थ्यको क्षयीकरण, बाल निर्धनताको पुनरुत्थान, एक्लोपनको महामारी, जैविक प्रणालीको विनास, डोनाल्ड ट्रम्पको उदय ।

    हामी यी समस्या र सङ्कटहरूलाई परिस्थितिजन्य भनेर बुझ्छौँ, यी समस्याहरू कुनै सिद्धान्तले उब्जाएको वा ती सिद्धान्तका नतिजा बिग्रेर आएका हुन् भन्ने तथ्यप्रति हामी अनविज्ञ छौँ । अधिकांशलाई यो सिद्धान्त वा कार्यप्रणालीका बारेमा थाहा छैन । यी तमाम सङ्कटहरूको सृजना गराइरहेको सिद्धान्तको नामसमेत थाह नहनुले यो सिद्धान्तको शक्ति कति होला ? आँकलन गर्न गाह्रो छ ।

    नवउदारवाद यति व्यापक हुँदा पनि हामीले यसलाई कहिल्यै सिद्धान्तका रूपमा चिन्न सकेनौँ । हामी नजानिदो तरिकाले यस सिद्धान्तलाई स्वाभाविक रूपमा ग्रहण गर्छौँ । मानाै यो डार्बिनको जैविक सिद्धान्त हो । तर यो सिद्धान्त मानव जीवनलाई असर पार्न र शक्तिको केन्द्र बदल्न जानीजानी प्रतिपादन भएको हो ।

    नवउदारवादले मानवीय सम्बन्धमा प्रतिस्पर्धालाई परिभाषाको मुख्य कडी बनाएको छ । यसले जनतालाई उपभोक्ता भनेर परिभाषित गर्छ, जसका लोकतान्त्रिक छनोट किनबेचले निर्धारण गर्छ । जहाँ योग्यतालाई पुरष्कृत गरिन्छ र असक्षमतालाई दण्डित गरिन्छ । यसले ‘बजारले’ नाफा र समृद्धि ल्याउँछ नकि कुनै योजनाले भन्ने भान पार्छ ।

    यी प्रतिस्पर्धालाई कम गर्ने कोसिसलाई स्वतन्त्रता लोकतन्त्रको बर्खिलाप गएको झैँ व्यवहार गरिन्छ । कर र कानुनी दायरालाई निकै कम गरिन्छ वा निरुत्साहित नै गरिन्छ र सार्वजनिक सेवाको निजीकरण गरिन्छ । ट्रेड युनियन र तिनका सामूहिक संवाद र मागलाई बजारले विकृतिका रूपमा चित्रण गर्छ । यथार्थमा ट्रेड युनियन र यिनका प्रयासले विजेता र पराजितहरूको तहगत संरचना अर्थात ‘हाइरार्की’लाई रोक्ने काम गर्छ ।

    असमानतालाई दैविक देखाउने प्रयास गरिन्छ, अर्थात असमानतालाई उपयोगिता र अर्थ सृजनाको पुरस्कारका रूपमा देखाइन्छ । जसले धनी अझै धनी हुँदा गरिब अथवा निम्नवर्गको विस्तारै उन्नति हुन्छ भन्ने मान्यता राख्दछ । समतामूलक समाज बनाउने प्रयासलाई प्रत्युत्पादक र नैतिक रूपमा पतित देखाउने चेष्टा गरिन्छ । कसले कति र के पाउने त्यो बजारले निर्धारण गर्छ ।

    हामी नवउदारवादका यी मतहरूलाई सहज र स्वाभाविक रूपमा आफूभित्र समाहित गर्छौँ । धनीहरू आफूले पाएका विशेष लाभलाई अर्थात शिक्षाको मौका, विरासत र वर्गलाई नजरअन्दाज गरी आफूसँग भएको धनसम्पत्ति, योग्यता र मेहनतको उपज भनेर दाबी गर्न लागिपर्छन् । गरिबहरू आफ्नो गरिबीका कारण आफैलाई ठान्दछन र आफैलाई दोषी करार गर्छन् । जब कि उनीहरू परिस्थितिलाई बदल्न सामथ्र्य राख्दछन् ।

    पौल भरहेगले आफ्नो पुस्तक ‘ह्वाट एबाउट मी ?’ मा, स्व–नोक्सानी, भोजन विकार, डिप्रेसन, एक्लोपन, समाजको डर र अनेक चिन्ताको महामारीलाई नवउदारवादको नतिजा मान्न सकिन्छ भनेका छन् । बेलायत जसले नवउदारवादी नीतिलाई मजैले मलजल गरेर लागू गरेको छ । त्यसलाई युरोपको निस्तब्ध राजधानी भन्नु कुनै अस्वाभाविक कुरो होइन । हामी सबै नवउदारवादी हौँ ।

    नवउदारवाद शब्दको उत्पत्ति सन् १९३८ मा पेरिसको एक बैठकमा भएको हो । बैठकमा सहभागी दुई पाहुना लुडविग भोन मिसेस र फ्रेडरिक हाएकले यो सिद्धान्तलाई परिभाषित गरेका हुन् । सन् १९४४ मा प्रकाशित हाएकको पुस्तक ‘दि रोड टु सर्फडम’मा उनी सरकारको व्यक्तिवाद सिध्याउने नीतिले निःसन्देह अधिनायकवाद ल्याउँछ भन्ने तर्क गरेका थिए ।

    ‘दि रोड टु सर्फडम’, लुडविग भोन मिसेसको पुस्तक ‘ब्युरोक्रेसी’ जत्तिकै चर्चित भएको थियो र पढिएको थियो । यो पुस्तक केही निकै सम्भ्रान्त र धनीहरूको नजरमा पर्न गयो, जसले यो सिद्धान्तलाई कर र करसम्बन्धीका नियमबाट उन्मुक्ति पाउने मौकाका रूपमा लिए । सन् १९४७ हाएकले यो सिद्धान्तको प्रचारका निम्ति ‘मोन्ट पेलारिन सोसाइटी’को स्थापना गरे । त्यस बखत यो संस्थालाई त्यतिबेलाका करोडपतिहरू र तिनका संस्थानहरूले आर्थिकरूपमा सहयोग गरेका थिए ।

    यी धनाढ्य र तिनका संस्थानका सहयोगमा हाएकले, डेनियल स्टेडमेन जोन्सले ‘मास्टर्स अफ दि युनिभर्स’मा भनेझैँ ‘एक किसिमको नवउदारवादी अन्तर्राष्ट्रिय’ बनाउन थाले जसका लागि प्राज्ञ, व्यापारी, पत्रकार र अभियन्ताहरूको ट्रान्स एटलान्टिक सन्जाल बनाउनुथियो । यो अभियानमा धनाढ्य सहयोगीहरूले शृङ्खलाबद्धरूपमा यसका पक्षपोषक विचारकहरूलाई आर्थिक सहयोग गरेका थिए । यो सहयोग अभियानमा ‘अमेरिकन इन्टरप्राइज इन्स्टिच्युट’, ‘दि हेरिटेज फाउन्डेसन’, ‘दे क्याटो इन्स्टिच्युट’, ‘दि इन्स्टिच्युट अफ इकोनोमिक एफेयर्स’, ‘दि सेन्टर फर पलिसी स्टडिज’ र ‘दि एडम स्मिथ इन्स्टिच्युट’ थिए ।

    उनीहरूले प्राज्ञिक तह र विभागहरूलाई सहयोग गरेका थिए । विशेषगरी सिकागो र भर्जिनिया विश्वविद्यालयमा सहयोग गरिएको थियो । समयसँगै, नवउदारवाद जबर्जस्त रूपले स्थापित हुन थाल्यो । हाएकको दृष्टिकोणबाट प्रभावित थुप्रै अमेरिकी समर्थक जस्तै मिल्टन फ्रेडमेनहरूले एकाधिकारको शक्तिलाई दक्षताको पुरस्कारका रूपमा बुझ्न् मदत पुर्यायो ।

    यो अभियानले आफ्नो नाम र पहिचान गुमायो । सन् १९५१ सम्म पनि फ्रेडमेन आफूलाई नवउदारवादीका रूपमा खुसीसाथ चिनाउँथे । तर त्यसलगत्तै यो शब्द (नवउदारवाद) हराउन थाल्यो । अहिले पनि धेरैलाई यो शब्द नौलो लाग्दछ । नवउदारवादी विचार बलियो र स्थिर हुँदै गयो तर पनि लुप्त भएको यस विचारको वैकल्पिक नाम भने आएन ।

    अत्यधिक आर्थिक सहयोगका बावजुद पनि सुरवाती चरणमा नवउदारवाद धेरै चर्चित थिएन । युद्धपछिको सोच सारा विश्वमा एकैखालको थियो । जोन मेनार्ड केइनिसको आर्थिक उपायलाई व्यापक रूपमा लागू गरिएको थियो । पूर्ण रोजगारी र गरिबी निवारण अमेरिकालगायतका पश्चिमी युरोपेली मुलुकहरूको साझा उद्देश्य थियो । धनाढ्यहरूका करको दर उच्च थियो । कुनै व्यवधानबिना सामाजिक सुरक्षाको व्यवस्था थियो । जनताका लागि नयाँ नयाँ सेवा र सुविधाको र सुरक्षा योजनाहरू थिए ।

    तर सन् १९७० को दशकमा केइनिसियन नीतिहरू असफल हुन थाल्यो र एटलान्टिकका दुवैतर्फ आर्थिक सङ्कटको अवस्था देखिन थाल्यो । तत्पश्चात मूलधारमा नवउदारवादी नीतिले ठाउँ पाउन थाल्यो । नवउदारवादी नीतिका समर्थक पत्रकार र राजनीतिक सल्लाहकारका सहायोगमा विशेषतः मुद्रासम्बन्धीको नवउदारवादी नीति अमेरिकाको जिम्मी कार्टर प्रशासन र बेलायतमा जिम केलाघन सरकारले लागू गर्यो ।

    जब बेलायतमा मार्गरेट थेचर र अमेरिकामा रोनाल्ड रेगन शक्तिमा उदाए । नवउदारवादका जम्मै नीति लागू गरियो, जसमा धनाढ्यहरूलाई भारी कर कटौतीको छुट दिइयो । ट्रेड युनियनलाई ध्वस्त बनाइयो, भारी मात्रामा सार्वजनिक क्षेत्रलाई निजीकरण, प्रतिस्पर्धाको बाटोमा लगियो । आई.एम.एफ (अन्तर्राष्ट्रिय मुद्रा कोष), विश्व बैङ्क, मास्त्रिक सन्धि र विश्व व्यापार सङ्गठनहरूका माध्यमबाट विश्वको अधिकांश मुलुकहरूमा नवउदारवादी नीतिहरू लादियो । अचम्मको कुरो यी नीतिहरू एक समयका वामपन्थी भनिएका पार्टीहरूले पनि लागू गरे । उदाहरणका रूपमा लेबर पार्टी र डेमोक्रेटिक पार्टी ।

    छनौट र स्वतन्त्रताको आश्वासन दिने भनिएको सिद्धान्तलाई ‘अरू विकल्प छैन’ भनेर प्रचार नगरिनु अचम्म थियो । तर नवउदारवादको नीति लागू गर्ने सुरुवाती मुलुकहरूमध्येको पिनोसे शासित चिलीको एक कार्यक्रमममा हाएकले ‘व्यक्तिगत रूपमा म लोकतान्त्रिक भनिएको व्यवस्थामा हुने स्वतन्त्रताको सङ्कुचनभन्दा उदारवादी अधिनायकत्वलाई सही मान्दछु’ भन्ने अभिव्यक्ति दिए । सामान्यतया नवउदारवादले प्रदान गर्ने भनिएको स्वतन्त्रता सुन्दा आकर्षक सुनिन्छ तर यो स्वतन्त्रता ठुलाबडा कुलीनका लागि मात्रै हुन्छ न कि गरिबका लागि ।

    अर्थात मजदुर युनियन र तिनका प्रतिरोध, कर दायरा, प्रकृतिलाई बचाउने अभियानहरूबाट स्वतन्त्रता । कर दायराबाट स्वतन्त्रता हुनु भनेको अन्ततः गरिबलाई गरिब बनाउने नीति हो किनभने उठाउनुपर्ने कर उठाउन नसके राज्यकोषबाट अर्थको क्षय हुन्छ ।

    नाओमी क्लिनले आफ्नो पुस्तक ‘दि सक डक्ट्रिन’मा भनेका छन् नवउदारवादी विचारकहरूले अलोकप्रिय नीतिहरू सङ्कटका बखत मुलुकहरूमा लागू गरिन्छ जतिखेर जनता विक्षिप्त हुन्छन् । उदाहरणका लागि चिलीमा पिनोसेको कू, इराक युद्ध, क्याटरिना आँधीपछिको अवस्थालाई लिन सकिन्छ । जहाँ यो नीति घरेलु स्तरमा लागू गर्न सकिँदैन । त्यहाँ यो नीति अन्तर्राष्ट्रिय रूपमा विभिन्न व्यापार सन्धिका माध्यमबाट लादिन्छ । जहाँ विदेशी लगानीकर्तालाई सामाजिक अवस्थालाई बिगार्न र वातावरणलाई दुरूपयोग गर्ने छुट दिइन्छ ।

    जब–जब संसदहरू चुरोटको व्यापारलाई नियन्त्रण गर्ने वा खानेपानीको स्रोतहरूलाई माइनिङ (खनन) बाट जोगाउने, इन्धन विधेयकलाई फ्रिज गर्ने काम गरिन्छ वा यस्ता विधेयक पारित गरिन्छ तब कर्पोरेसनहरूले भारी मात्रामा क्षतिपूर्ति लिएकै हुन्छन् । लोकतन्त्रलाई रणमैदानमा परिवर्तन गरिन्छ । नवउदारवादको अर्को विरोधाभाष भनेको विश्वव्यापी प्रतिस्पर्धा परिमाण र तुलनामा हुन्छ ।

    नतिजा सार्वजनिक सेवा मजदुर, बेरोजगार र सबै जनताका लागि जालसाजी र अफ्ठ्यारोको विषय बन्दछ र राज्य नियन्त्रणमुखी र दमनकारी हँुदैजान्छ । भोन मिसेसले आफ्नो सिद्धान्तले नोकरशाही व्यवस्थाका दुःखबाट मुक्त गर्छ भनेका थिए तर त्यस विपरीत उनको नीतिले जनतामा झन् ठुलो मार पर्न गयो ।

    नवउदारवादलाई सुरुमा आफैलाई उकास्ने तिकडमका बुझिएको थिएन । तर अविश्वसनीय तरिकाले आफैलाई उकास्ने तिकडम बन्न पुग्यो । मुठ्ठीभरका पुँजीपतिहरूलाई अलग्याउने हो भने नवउदारवादको उभारभन्दा पहिलेका दशकभन्दा, नवउदारवादी युगमा (१९८० को दशकपछि) आर्थिक उन्नति कम भएको देखिएको छ । नवउदारवादी युगमा ट्रेड युनियन, कर कटौतीमा धावा बोलिनु र निजीकरणलाई प्रोत्साहन दिइएको कारण, ६० वर्ष पुरानो सङ्कटपछि (सन् १९२०–२१ को आर्थिक मन्दी) आम्दानी र सम्पत्तिको वितरणमा असमानता उच्च विन्दुमा पुगेको छ ।

    इन्धन, खानेपानी, यातायात, स्वास्थ्य सेवा, शिक्षा, सडकसेवा, कारागारजस्ता सार्वजनिक सेवाको निजीकरण वा बजारीकरणले ठुलठुला कर्पोरेसनहरूलाई जनता र सरकारसमेतबाट ठुलो मात्रामा धन असुलीको माध्यम बनेको छ । बेलायतमा भएका निजी स्वामित्व र अर्ध–निजी स्वामित्वका मालिक थोरै लगानी र धेरै शुल्कले अत्यधिक नाफा कमाइरहेका छन । रुस र भारतमा कुलीन व्यापारीहरू राज्य स्रोत र सम्पत्तिहरू भारी छुटमा पाइरहेका छन् । मेक्सिकोमा कार्लोस स्लिमलाई करिब सबै लेन्डलाइन र मोबाइल फोन सेवाहरूमा नियन्त्रणको सुविधा दिइयो । नतिजा उनी संसारको सबैभन्दा धनी मान्छे बन्न पुगे ।

    जब गरिब झनै गरिब बन्दै जान्छ र धनी झनै धनी बन्दैजान्छ, धनीहरूका नियन्त्रणमा महत्वपूर्ण सम्पत्ति मानिएको मुद्रा पर्न जान्छ । भारी व्याजले ठुलो मात्रामा धनीहरूको खातामा भारी मात्रामा अर्थ सञ्चय हुन्छ । जब सेवा सुविधा र अत्यावश्यकीय सामग्रीका भाउ बढ्छ र राज्यबाट कुनै किसिमका सहयोग हुँदैन् तब यसले जनतालाई भारी ऋण र बोझमा पारिदिन्छ । अन्ततः यसले बैङ्क र तिनका साहुहरूलाई फाइदा पुर्याउँछ ।

    ‘ह्वाई वी कान्ट एफोर्ड दि रिच’का लेखक एन्ड्रियु सेयर भन्छन्– पछिल्ला ४ दशक गरिबबाट धनीहरूमा सम्पत्ति सञ्चय मात्र भएको छैन, यो समयमा धनीहरूभित्र सम्पत्तिको सञ्चार भएको छ अर्थात नयाँ सेवा वा वस्तु उत्पादन गर्ने व्यापारीबाट धनको सञ्चार राज्य स्रोतमा नियन्त्रण राख्ने र व्याजखोर धनाढ्यहरूको खातामा सञ्चय भहेको छ । कमाएको सम्पत्तिलाई नकमाएको सम्पत्तिले ठूलो मात्रामा विस्थापित गरेको छ ।

    नवउदारवादी नीतिहरूले सबै ठाउँमा बजारलाई असफल बनाइरहेको छ । बैङ्क मात्र होइन, सार्वजनिक सेवा दिने भनिएका कर्पोरेसनहरू असफल हुँदै गइरहेका छन् । यस सन्दर्भमा टोनी जुडले आफ्नो पुस्तक ‘इल फेअर्स दी ल्यान्ड’मा हाएकले अत्यावश्यकीय राष्ट्रिय सेवालाई ध्वस्त गराउन सकिँदैन, अर्थात प्रतिस्पर्धाले समाधान दिँदैन भन्ने कुरा बुझेनन् भनेर लेखेका छन् । यस अवस्था व्यापारले मात्र नाफा कमाउने हुन्छ र राज्यले जोखिम लिन्छ । राज्यको असफलता जब बढ्दै जान्छ, नवउदारवादी नीति त्यति नै फल्दैफुल्दै जान्छ । सरकारहरूलाई नवउदारवादी नीति कर कटौती गर्न, बाँकी भएका सार्वजनिक सेवाहरूलाई निजीकरण गर्न, सामाजिक सुरक्षा नीतिहरू असफल गराउन, कर्पोरेसन र विभिन्न धन्दाहरूलाई नियमहरूमा छुट दिन र जनतालाई नियमहरूले कस्ने बहाना र मौका दिन्छ । आफैलाई घृणा गर्ने राज्य प्रणाली हरेक सार्वजनिक सेवामा नङ्ग्रा गाड्छ ।

    नवउदारवादले निम्त्याएको राजनीतिक सङ्कट आर्थिक सङ्कटभन्दा बढी खतरनाक हुन आउँछ । जब राज्यको काम कारवाही र अधिकार क्षेत्र साँघुरिदै जान्छ, मतदानबाट आफ्नो जीवन स्तर उकास्ने र परिवर्तन ल्याउने क्षमता ह्रास अवश्यम्भावी हुन्छ । नवउदारवादी नीतिले जनताको अधिकारको प्रयोग जनताको खर्च गर्ने क्षमताले निर्धारण गर्छ । तर जनताहरूबीच खर्च गर्ने क्षमताको ठुलो फरक रहन्छ विशेषतः ठुलो उपभोक्ता वा हिस्सेदारी लोकतन्त्र भएको समाजमा, नतिजा मत समानरूपमा वितरण हुदैन ।

    यसले गरिब र मध्यमवर्गीय जनतालाई कमजोर र निरही बनाउँछ । जब दक्षिणपन्थी र पुराना वामपन्थी पार्टी नवउदारवादी नीति लागू गर्छन् तब गरिब र मध्यमवर्गका निरहिपन मताधिकारको वन्चना सावित हुन्छ । अन्ततः राज्यको ठुलो हिस्सा राजनीतिक प्रक्रियाबाट बाहिरिन्छ ।

    क्रिस हेजेस भन्छन– ‘फासीवादी अभियानले आफ्नो आधार सक्रिय राजनीति नभई निस्क्रिय राजनीतिबाट बनाउँछन र फासिवादीहरूले कथित रूपमा हारेका जनता जसको प्रतिनिधित्व र आवाज संस्थापन र राज्यमा समेटिएको हुँदैन तिनका सहयोगबाट सत्ता हत्याउँछन् । राजनीतिक सङ्कथन र बहस जब जनतामा जाँदैन, तब जनता नारा, चिह्न र उत्तेजना ल्याउने भावनाका पछि कुद्छन् । उदाहरणका लागि ट्रम्प प्रशासन र कार्यकर्तालाई तथ्य र तर्कको कुनै अर्थ हँुदैन ।

    जुडले व्याख्या गरेका थिए, जब जनता र राज्यबीचको संवादलाई निस्तेज गरेर सम्बन्ध हुकुम र पालनामा झारिन्छ तब राज्यलाई बाँध्ने अस्त्र केवल शक्ति हुनपुग्छ । हाएकले चिन्ता गरेको अधिनायकवाद तब मात्र उदाउँछ जब सरकारहरू सार्वजनिक सेवा चुस्तरूपमा दिन नसकी नैतिक प्राधिकार गुमाउँछन र नतिजा ‘धोकाधडी वा झुटो आस्वासन, धम्की र अन्ततः जबर्जस्ती हुकुम मान्न बाध्य बनाइन्छ ।’

    नवउदारवाद त्यस्तो देवता हो जसको मृत्यु भइसक्यो तर पनि यसको प्रेत सिद्धान्त लड्खडाउँदै हिँडि नै रहेको छ र यसको एक मात्र कारक हो यसको अज्ञातता । नदेखिने सिद्धान्तको नदेखिने हातलाई नदेखिने समर्थकहरूले प्रोत्साहन गरेका थिए । विस्तारै–विस्तारै ती नदेखिएकाहरूका पहिचान पत्ता लाग्दैछ । उदाहरणका लागि ‘इन्स्टिच्युट अफ इकोनोमिक एफेयर्स’ जसले सुर्ती उद्योगलाई कडीकडाउ गरेको नियमविरुद्ध मिडियाबाजी गरेर विरोध जनाएका थिए ।

    जसलाई सन् १९६३ देखि गोप्य रूपमा ‘ब्रिटिस अमेरिकन टोबाको’ले आर्थिक सहयोग गर्दैआएको थियो । चार्लस र डेविड कोच भाइहरू जो संसारका धनीमध्येका व्यक्ति हुन्, जसले कुख्यात ‘ट्री पार्टी मुभमेन्ट’मा भारी आर्थिक सहयोग गरेका थिए जो जगजाहेर पनि छ । अझै अघि बढेर हेर्ने हो भने चाल्र्स कोचले विचारक (थिङ्कट्याङ्क) बनाउने प्रक्रियामा के भनेका थिए भने– ‘अनावश्यक आलोचनाबाट बाच्नका, कसरी संस्था नियन्त्रण र निर्देशित भएको छ, त्यसलाई व्यापकरूपमा विज्ञापन गरिनु हँुदैन’ ।

    नवउदारवादी नीतिले प्रयोग गर्ने शब्दहरू बढी झुक्याउने हुन्छन् । जति तिनले अर्थ दिनुपर्ने हो । ‘बजार’ भन्ने शब्द सुनिदा त्यो शब्द हामीलाई निकै स्वाभाविक सुनिन्छ अर्थात गुरुत्व वा वायुमण्डलीय चापझैँ सहज सुनिन्छ । वास्तवमा बजार शक्ति सम्बन्ध र गठजोडले भरिएको हुन्छ । ‘बजारले चाहन्छ’ भन्नु कर्पोरेसन र तिनका हाकिमले के चाहन्छन् भन्ने अर्थ निस्किन्छ । ‘लगानी’, सेयरले भनेझैँ यस शब्दले दुई फरक अर्थ दिन्छ । पहिलो, उत्पादन र सामाजिकरूपमा काम लाग्ने गतिविधिमा पैसा खर्च गर्नु र दोस्रो, भएका स्रोत साधनलाई खरिद गरेर त्यसलाई नाफा, व्याज र भारी मात्रामा धन कमाउने दुहुनो गाई बनाउनु हो ।

    यो शब्दको विभिन्न प्रयोजनका लागि प्रयोग हुनु भनेको ‘अर्थको स्रोतहरूलाई लुकाउनु हो’, नतिजा यसले हामीलाई अर्थ निकासी र अर्थ उत्पादनको भिन्नतामा अल्मल्याई दिन्छ । यी अज्ञातता र भ्रमहरू नामविहीनता र ठेगान नभएका अहिलेको आधुनिक पुँजीवादसँग गजबको जालो बनाउँछ, जसको नतिजा मजदुरहरूका लागि कसका लागि पसिना बगाउँदैछु भन्नेसमेत थाह हुँदैन ।

    बहुराष्ट्रिय कम्पनी विभिन्न ठाउँमा यसरी लगानी गरिरहेका हुन्छन् । तिनका संरचना निकै कठिन हुन आउँछन् । तिनका असली लगानीकर्ता वा लाभका भागिदारी को हुन् भनेर पुलिसले समेत पत्ता लगाउने स्थिति छैन । किनभने विभिन्न किसिमका कर सम्बन्धका व्यवस्थाले सरकारहरूलाई छल गरिरहेका हुन्छन् र तिनका वित्तीय उत्पादनहरूलाई कसैले बुझ्दैन ।

    नवउदारवादको अज्ञाततालाई मज्जैले जोगाइएको छ । हाएक, मिसेस र फ्रेडम्यान प्रभावित भएकाहरू नवउदारवाद शब्द प्रयोग गर्न रुचाउँदैनन् । आजकल नवउदारवादी शब्दको प्रयोग अपमान जनाउन मात्रै प्रयोग गरिन्छ । शब्द नवउदारवाद नै प्रयोग नगरे पनि उनीहरूले अर्को वैकल्पिक नीति दिँदैनन् । तीमध्ये धेरैजसोले आफूलाई शास्त्रीय उदारवादी वा उदारवादी भनेर चिनाउँछन् । यी दाबीहरू भ्रामक र सङ्कोचयुक्त हुन्छन् । यसको पुष्टि तब हुन्छ, जब उनीहरू ‘दि रोड टु सर्फडम’, ‘ब्युरोक्रेसी’, अथवा फ्रेडमेनको ‘क्यापिटालिज्म एन्ड फ्रिडम’ पुस्तकहरूमा कुनै नवीनता छैन भनेर टिप्पणी गर्छन् ।

    यति कुराका बाबजुद नवउदारवादका केही सकारात्मक पक्ष छन् । कम्तीमा यसका सुरुवाती चरणमा । सुरुमा यस विचारको प्रष्टता थियो, यो नयाँ विचारलाई केही विचारकहरूले खुलेरै प्रोत्साहन गरेका थिए र यसलाई लागू स्पष्ट खाका तयार बनाएका थिए । यो विचारमा धैर्यता र दृढता थियो । अन्त्यमा ‘दि रोड टु सर्फडम’ शक्ति सञ्चयको शक्तिशाली बाटो बन्यो ।

    नवउदारवादको जित हुनुमा वाम शक्तिको र विचारधाराको असफलताको दर्साउछ । जब लेसेज–फेयर अर्थनीतिले सन् १९२९ मा विपत्ति ल्यायो, तब केयनेसले विस्तृत अर्थनीति ल्याए, यो सङ्कटबाट पार पाउनका लागि । तर जब सन् १९७० को दशकमा यो नीति असफल हुनपुग्यो र यस असफलताको मौका नवउदारवादी नीतिले लियो । तर पनि सन् २००८ मा नवउदारवाद असफल भयो र यसको भविष्य अनुत्तरित रहन गयो । तब न नवउदारवादको प्रेत अझै पनि हिँडिरहेको छ ।

    ८० वर्षको लामो समयसम्म पनि वाम र मध्यमार्गी विचारक र शक्तिहरूले अर्थनीतिको कुनै सामान्य खाका पनि तयार गर्न सकेन । लर्ड केयनेसका अर्थनीतिका आह्वानहरू पनि असफल भए । अहिले २१औँ शताब्दीका समयमा केयनेसका समाधानका शुत्रलाई लागू गर्नु भनेको अहिलेका स्वाभाविक समस्यालाई नजरअन्दाज गर्नु हो । केइनिसका पुराना उपायहरूमा जनतालाई गतिशील बनाउन गाह्रो हुन्छ । अर्थात सन् ७० को दशकमा देखिएका कमजोरीहरू अझै हटिसकेको छैन र महत्वपूर्ण कुरो केयनेसको नीतिले अहिलेको समयको सबैभन्दा गम्भीर दुर्दशा, वातावरण सङ्कटबारेमा निस्क्रिय रहेको छ ।

    केयनेसवाद उपभोक्ता मागलाई प्रोत्साहन गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने मान्यता राख्दछ । तर उपभोक्ता माग र त्यससँग जोडिएको आर्थिक उन्नति वातावरण विनासका मुख्य कारक हुन् । केयनेसवाद र नवउदारवादको इतिहासले देखाइसकेको छ अहिलेसम्मको क्षतविक्षित व्यवस्थालाई सुधार्ने कुनै नीति छैन । अबको समस्यासँग जुध्न वैकल्पिक नीतिको प्रस्तावना आउनुपर्छ । मध्यमार्गी र वामशक्तिहरूले २१औँ शताब्दीमा नयाँ व्यवस्थाका लागि सुहाउँदो अर्थनीतिको ठोस कार्यक्रम ल्याउनुपर्ने अहिले प्रमुख आवश्यकता हो । राताेपाटीबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...

    नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा प्यानलसहित दोहोरिए

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा भएको जिल्ला अधिवेशनबाट दुर्लभ थापाको नेतृत्वमा नयाँ कार्यसमिति...

    एमाले महाधिवेशनमा सहमति जुटेन, नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

    सौराहा, १२ मंसिर । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको...

    भक्तपुरबाट कांग्रेसको पहिलो मन्त्री दिलाउन सफल सभापति थापा पुन: दोहोरिने दावी,सोमबार चुनाव

    पार्टीको आन्तरिक प्रतिस्पर्धामा पोख्त नेपाली कांग्रेसको अधिवेशनले भक्तपुरमा चुनावी माहौल सृजना गरेको छ । नेपाली...

    भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न...