नेपाल प्राचीन समयदेखि नै निरन्तर युद्धमा छ । व्यवस्था विरुद्धको आन्दोलन आजपर्यन्त जारी छ । तर, संघर्षका स्वरुप, शैली र त्यसमा प्रयोग हुने प्रविधिमा भने बदलाव आएको छ । प्रविधि बदलिए पनि मानिसहरुको प्रवृति भने फेरिएको छैन । हरेक एक युगले अर्को युगलाई पछार्दै आफ्नो दवदवा कायम गरेको छ । किराती, लिच्छवी, मल्ल, शाह, राणा, शाह आदि वंशहरुले नेपालमा एउटा निश्चित समयसम्म राज्य चलाए । तर, उनीहरुका शासकीय घमण्ड र मैमत्त हैकमवादी प्रवृतिका कारण जनताको आन्दोलनबाट पछारिँदै गए । पछिल्लो समय हामीले लामो संघर्ष गरेर शाह वंशलाई परास्त गर्यौ र देशमा गणतन्त्र स्थापना गर्यौ । तर, गणतन्त्रको संस्थागत विकास नहुँदै पुरानै राजाकालीन प्रवृति बोकेका नेताहरु त्यस्तै शैलीमा अगाडि बढिरहेका छन् ।
शान्ति प्रक्रियामा आईसकेपछि प्रचण्ड बाबुरामहरुले माओवादी आन्दोलन भुले । उनीहरु नातावाद, कृपावाद, पैसा र विदेशी इसारामा चल्न थाले । त्यत्रो संकल्प गरेको आन्दोलनमाथि उनीहरुले हेर्दा हेर्दै गद्दारी गरे । जुन व्यवस्थाले नेपालको यो दयनीय अवस्था बनाएको हो भन्न्ने निष्कर्ष निकालेर १० वर्ष जनयुद्ध लडेको हो, त्यही व्यवस्थामा अहिले उनीहरु समाहित भए । त्यही संसदीय व्यवस्थाका प्रवक्ता बनेका छन् । जनता, कार्यकर्ताहरुको रगत र जीवनसँग साटेका हातहतियार र उनीहरुको योगदानले उठेको आन्दोलनलाई कुर्सीसँग साटे । दलाली र बार्गेनिङ गर्दै उनीहरु सत्तामा पुगे । उनीहरुले जनयुद्धलाई राज्यसत्तामा जाने भ¥याङ बनाएका रहेछन भन्ने कुरा अहिले प्रष्टियो ।
जनयुद्धको अवशेष अझै बाँकी छ । एजेन्डा बाँकी नै छन् । १० वर्ष लडेका योद्धाहरु हारेका छैनन् । १० वर्षको जनयुद्धको खास पीडा सौखिन नेताहरुलाई होइन, घाईते, अपाङ्ग, अनाथ, असहाय, टुहुराहरुलाई छ । अहिले जुन परिवर्तन भयो भनिएको छ, त्यसको महशुस घाइते अपाङ्ग लडाकु योद्धा तथा जनयुद्धमा परिवार गुमाएका योद्धाहरुका परिवारले गर्न सकेका छैनन् । धेरैलाई अझै पनि आफ्ना आफन्तले रगत बगाएको जनयुद्ध पूरा हुनुपर्छ भन्ने आशा छ । त्यो कार्यभार विप्लवले पूरा गर्छन कि भन्ने धेरैको आशा छ । अर्को देशभक्त समाजले ठूलो क्रान्तिको नेतृत्व लिंदैछ । हामी देशभक्त, सबै जातिय समुदाय, भाषा, धर्म, संस्कृति र राष्ट्रिय पुँजीपति सबैलाई समेटेर आन्दोलन गर्दैछौं । त्यसरी देशभक्तहरुलाई समेटेर देशमा आमूल परिवर्तनको आन्दोलनका लागि अघि बढ्ने प्रण गरिरहेको छौं ।
प्रचण्ड–बाबुराम समूह विदेशीको इसारामा सञ्चालित भए अथवा विलय भयो । मोहन वैद्य समूहको विचार अहिले पनि क्रान्तिकै पक्षमा देखिएको छ । आमूल परिवर्तनका लागि लडेका प्रचण्ड बाबुरामले धोका दिए । क्रान्तिलाई बिर्सिए, सहिद, अपाङ्ग, घाईतेका सपना भुले, विदेशीको दलाली गर्दै सत्ताको च्याखे थापे, राष्ट्रियता भुले । त्यसैले हामीले देशभक्त समाज पार्टीमार्फत त्यो अभिभारालाई अगाडि बढाउने प्रयास गरेका छौ । पुरानो सत्तालाई विस्थापित गर्ने र नवसत्ता ल्याउने यस पार्टीको स्पष्ट अडान रहेको छ ।
देशभक्त समाजले छिट्टै आन्दोलनको घोषण गर्दैछ । तर, आन्दोलनका स्वरुपहरु पक्कै पनि पहिलेकै जस्तो वा परम्परागत ढर्रामा सफल हुन सक्दैनन । हामी अबको आन्दोलनलाई नयाँ स्वरुपमा अगाडि बढाउन खाजिरहेका छौ । आमुल परिवर्तनको लागि सम्पूर्ण पक्ष एक भई सर्वोदय समाजको अवधारणा अनुसार देशमा पुरानो सत्ता विस्थापित गरी नवसत्ता स्थापना गर्ने हाम्रो लक्ष्य रहेको छ । अर्को मार्मिक कुरा के छ भने अब साना देशहरुको नेतृत्व नेपालले गर्ने वातावरण सिर्जना हुनेछ÷गरिनेछ । किनकि नेपाल पूर्वीय दर्शनको एक महत्वपूर्ण केन्द्र हो । विश्वमा गोर्खालीहरुको गौरवपूर्ण इतिहास परिचित छ । हामी नेपालीले गर्न नसक्ने केही छैन । २००७, ०४६, १० वर्षे जनयुद्ध, ०६२, ०६३ जनआन्दोलन सबै सम्झौता परस्त भयो । जनयुद्धले नेपाली जनतामा ठूलो चेतना दियो । त्यसबाहेक सिमित व्यक्तिको लागि मात्र गण्तन्त्र, संघीयता भनियो र भयो । आमूल परिवर्तनका लागि लडेका भनिएका प्रचण्ड बाबुरामबाट नेपाली जनताको लागि ठूलो धोका भयो ।
देशमा अहिले दुईतिहाई नजिक बहुमत भएको सरकार रहेको छ । त्यसमा पनि आफूलाई कम्युनिस्ट भन्नेहरु छन् । साजवाद उन्मुख अर्थतन्त्र निर्माणको घोषणा छ । अहिलेसम्म सरकारको परफरमेन्स हेर्दा आफ्नै घोषणाका विरुद्ध गए जस्तो लाग्छ । भ्रष्ट संस्कार पूरै मौलाएको छ । भित्रभित्रै भ्रष्टाचार भुसको आगो जसरी सल्किरहेको छ । सुशासनको अभाव छ । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । भ्रष्टाचार सबैभन्दा पहिले माथिल्लो तहबाटै हुन्छ । त्यसपछि उपल्लो तहका कर्मचारी हुँदै तलसम्मका कर्मचारी संयन्त्रबाट भ्रष्टाचार मौलाउँछ । प्रधानमन्त्रीले भाषणहरुमा भ्रष्टाचारमा शुन्य सहनशिलताको चर्का तर्क गर्ने गरे पनि सरकारले भ्रष्टाचार नियन्त्रण गर्न कुनै कदम चालेको छैन ।
अर्को कुरा यो सरकारले राजनीतिलाई नै पथभ्रष्ट बनाएको छ । राजनीति भनेको नेता रिझाउनु हो भन्ने बुझाई सरकारले पारेको छ । त्यसका लागि नेतालाई पैसा दिएर रिझाउने, चाकडी चाप्लुसी गरेर नेता रिझाउने क्रम सुरु हुन्छ । राजनीतिक आन्दोलनमा योगदानको कुनै मुल्यांकन हुँदैन । नेता, कार्यकर्ता र जनताको त्याग बलियादन र असीम योगदानबाट लामो अप्ठेरो बाटो तय गरेका नेताहरु अन्ततः त्यो इतिहासलाई चटक्क भुल्दछन् । अरु नेता कार्यकर्ताहरुको योगदानलाई भुल्दछन् । जनताको योगदानलाई भुल्दछन् । सबै कुरा आफ्नो तजबिजमा गर्दछन् । यही नै सबैभन्दा ठूलो भ्रष्टाचार हो । चाकडी, चाप्लुसी र पैसाका बलमा जो कोही पनि सांसद बन्छ, मन्त्री बन्छ र सरकारको हर्ताकर्ता बन्छ । यहीस्थिति अहिले छ । यसले योगदान र मुल्यमा आधारित राजनीतिक संस्कारको हत्या गरेको छ । अब राजनीतिमा त्यही स्तरको योगदान गर्ने संस्कार विकास गर्न कठिन हुन्छ । यस्तो क्रमलाई नतोडेसम्म यहाँ विकास र समृद्धिका कुरा जति चर्केर गरे पनि सम्भव छैन ।
अहिले सरकार सबैतिर आफ्ना नजिकका मान्छेहरु राख्ने र तिनीहरुको सिन्डिकेट लागु गराउने ध्याउन्नेमा लागेको छ । यसको सबैभन्दा ठूलो अभ्यास यातायात क्षेत्रमा भएको छ । निजामति कर्मचारी युनियन, सरकारको स्वामित्वमा खेलिएका संस्थानहरुको टे«डयुनियन नै सिन्डिकेटमा छन् । एउटा जड्याहा आफै रक्सी खाएर मात्छ, घर सडकमा बबाल मच्चाउँछ अनि उसले अरुलाई रक्सी खान हुँदैन भनेर सल्लाह दियो भने कसले पत्याउँछ । यातायात क्षेत्र वाहेक नेपालको शिक्षा, स्वास्थ्य, कृषि, खाद्यान्न, प्राईभेट क्षेत्र, सुन व्यापार, पेट्रोलियम पदार्थ लगायत विभिन्न क्षेत्रमा चर्को सिण्डिकेट छ । यसको मतियार सरकार आफै छ । यातायात क्षेत्रमा सिमित व्यक्तिले आफ्नो मनोमानी अनुकुलतामा लादेका छन् । काठमाडौं उपत्यकाको छोटो दुरीको गाडीमा मयुर र साझा यातायातले सिण्डिकेट तोडेका छन् । लामो दुरीमा धनगढी, नेपालगञ्ज र दाङ घोराहीले तोडेको अवस्था छ । चाहने हो भने विस्तारै सिण्डिकेट अन्त्य हुन सक्छ ।
यसअघि वर्षौको शक्तिधारीहरुको सिन्डिकेटले हैरान भएका यातायात व्यवसायीहरु अहिले कोभिड १९ ले गर्दा ६ महिनासम्मको लकडाउनले मर्कामा परेका छन् । किस्ता तिर्न पाएका छैनन् । बैकले च्यापिरहेको छ । नविकरण गर्न सकेका छैनन् । देश नै अन्यौलमा छ । मजदुरको अवस्था झन दयनीय बन्दै गएको छ । यस्तो अवस्थामा यातायात व्यवसायीहरुको दुई वटा महासंघमै सिन्डिकेट जब्बररुपमा देखा परेको छ । राज्यसँग मिलेर केही व्यक्तिले व्यवसायीहरुको हित विपरित आफ्नो अनुकूलतामा डामाडोल पार्नुको साथै कब्जा गरेका छन् । अब इमानदार व्यवसायी तथा मजदुरहरुल्े त्यसको सशक्तरुपमा विरोध गर्न जरुरी छ । सधै शक्तिधारीहरुसँग दबिएर सबै मान्छे बस्न सक्दैनन । राज्यशक्ति हातमा लिएकाहरुको हालीमुहाली र मनपरि यसरी नै कायम हुन दिइराख्ने हो भने र यो हैकमवादलाई परास्त नगर्ने हो देश र हाम्रो अस्तित्व खतरामा पर्छ । यो कुरा सबै स्वाभिमानी नेपालीहरुले गहिरिएर सोच्न जरुरी छ । अगुवा अर्थात नेताहरुले बिगारेको यो देशलाई सपार्न एउटा भयानक आँधीबेहरी आउन जरुरी छ । त्यो आँधी योजनाबद्ध रुपमा व्यवस्थित तरिकाले उठान गर्नैपर्दछ ।
(लेखक खड्का लामो समयदेखि वामपन्थी आन्दोलनमा लागेका छन् । २०५५ सालमा तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा चलेको जनयुद्धमा होमिएका उनी युद्धका क्रममा घाईते भएका थिए । युद्धकै क्रममा २०५८ सालमा पक्राउ परेका खडका जिल्ला कारागार शाखा रामेछापमा ३१ महिना जेल जीवन बिताएका थिए । हाल उनी देशभक्त समाजका केन्द्रीय सदस्य एवं यातायात विभागीय प्रमुख छन)