सर्लाही, ७ साउन । लालबन्दी नगरपालिका वडा नम्बर- २ अन्तर्गत पर्ने पुर्नवासमा एक बालकको डुबेर मृत्यु भएको छ । पुनर्वासको सी टोलमा एक १० वर्षिय बालकको खाल्डोमा डुबेर ज्यान गएको हो ।
ज्यान जानेमा स्थानीय सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवान रहेका छन् । घर नजिकैको सूर्य इँटाभट्टाको खाल्डोमा डुबेर उनको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
हराइरहेको बालकलाई खोज्ने क्रममा गए राति ९ बजे खाल्डोमा डुबेको अवस्थामा फेला पारिएको थियो । खाल्डोबाट तत्काल उद्धार गरी लालबन्दीस्थित अस्पताल पु¥याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।
इँटाभट्टाले जथाभावी खाल्डो खनेको र तारबारले व्यवस्थित नगर्दा दुर्घटना भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
यसैबीच सर्लाहीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ । सोमवार ईश्वरपुरमा भएको दुर्घटनामा परी घाइते महिलाको मृत्यु भएको हो ।
नरेशखोरबाट बयलवास बजारतर्फ जादै गरेको ना २३ प नंको मोटरसाइकलले सोमबार २ महिलालाई ठक्कर दिएको थियो । बाटो छेउमा बसिरहेका ठक्करबाट ईश्वरपुर नगरपालिका–५ नरेशखोरका स्थानीय ३८ वर्षीया शान्तिदेवी महतो र ४५ वर्षीया कवुतरदेवी महतो घाइते भएका थिए । उनीहरुलाई धनुषास्थित लालगढ अस्पताल पुर्याइएको थियो ।
घाइतेमध्ये कवुतरदेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्की शान्तिदेवीको भने उपचार भैरहेको बताइएको छ ।