News Portal

  • कमरेड विप्लवलाई केहि प्रश्नहरु

    रोहित दहालभक्तपुर, १० फागुन
    १२९८ पटक
    भक्तपुर, १० फागुन

    लेखक : रोहित दाहाल

    सत्ताको रुप र सार पक्ष हुन्छ । शासनसत्ता रुप पक्ष हो भने राज्यसत्ता सार पक्ष हो । नेपालमा कम्युनिष्ट शक्तिको जोडदार प्रभाव रहेको तर देशमा कम्युनिष्ट शक्ति शासन सत्तालाई पूर्णरुपले हातमा लिएर आर्थिक सामाजिक रुपान्तरण गर्नसक्ने अवस्थामा नरहेको दशकौं भएको अवस्थालाई चिर्दै ने.क.पा.(एमाले) र ने.क.पा.(माओवादी केन्द्र)ले एउटै पार्टी निर्माण गरि देशमा झण्डै दुई तिहाईको शासन सत्ता सम्हाल्न गरिरहेको प्रयत्नले चौतर्फी हंगामा मच्चिएको देखिन्छ । प्रतिक्रियावादीहरु र पुनरुत्थानवादीहरुको कित्तामा हंगामा मच्चिनुलाई अनौठो मान्न सकिन्न तर कम्युनिष्ट शक्तिहरु ने.क.पा.(क्रान्तिकारी माओवादी ) र विप्लव नेतृत्वको ने.क.पा.मा यो विषयले चिन्ताको तरंग फैलिएको देखिन्छ ।
    कमरेड विप्लवको ने.क.पा.को कुरा गर्ने हो भने स्पष्ट छ त्यो पार्टी सामन्तवाद साम्राज्यवाद विरोधी एउटा क्रान्तिकारी धारा बोकेको पार्टी हो । त्यस पार्टीको नेतृत्व गर्ने कमरेड विप्लवको विगत र वर्तमानले वहाँको जुझारु कम्युनिष्टको पहिचान दिन्छ । अहिलेको व्यवस्था कमरेड विप्लवले भन्नुभए झैं सर्वाहारा वर्गको राज्य व्यवस्था हैन । तर यो व्यवस्थामा परिवर्तनकारी कम्युनिष्ट शक्तिहरुले प्रचारप्रसार गर्ने, जनतासंग घुलमिल हुने र शक्ति संचय गर्ने सन्दर्भमा कमरेड विप्लवले नेतृत्व गर्नुभएको ने.क.पा.लाई कुनै अवरोध नहुने पनि स्पष्ट नै छ । तर दुःखको कुरा के छ भने कमरेड किरण र कमरेड विप्लवले यो व्यवस्थालाई प्रयोग गर्ने प्रयत्नलाई प्रतिक्रियावाद ठान्ने र बिशेषतः कमरेड विप्लवले यस्को तत्काल ध्वंशको तयारी गर्नुपर्ने भन्ने मान्यता द्वन्दवादी नरहेको जस्तो लाग्छ । कमरेड विप्लव नेतृत्वको ने.क.पा.भित्र एकखालको कार्यनैतिक प्रबृत्ति छ, जसले वहाँहरुलाई जनताको तत्कालको भावनाभन्दा अलि पर गएर कार्य गर्ने अवस्था सृजना गर्दैछ ।
    चुनावी नतिजा र जनतासँगको सम्बन्ध
    भर्खरै सम्पन्न स्थानीय, प्रादेशिक र केन्द्रीय चुनावलाई कमरेड विप्लवले खारेज गरेको र कमरेड किरणले प्रतिक्रियावादी सत्ता ध्वंशका लागि उपयोग गरेको दावी गरिएको छ । अहिले जनताले दिएको चुनावी मतलाई दुबै दलले प्रतिक्रियावादीहरुको अर्को विजयका नाममा बुझेको देखिन्छ । गलत यहिँ भएको छ । जनताले कम्युनिष्ट शक्तिलाई बिश्वास गरेर बिजयी बनाएको कुरालाई प्रतिक्रियावादीहरुले आफ्नो योजना बमोजिम बिजय गराईदिएका भनेर बुझ्नु नै मनोगत बिश्लेषण र कुण्ठा अभिव्यक्ति हो । तथ्यलाई यसरी बंग्याउँने हो भने सी.पी. गजुरेलको नेतृत्वको देशभक्त जनतान्त्रिक मोर्चाले प्राप्त गरेको मतलाई प्रतिक्रियावादी जमातले वहाँहरुलाई दिएको मत भनी बिश्लेषण गर्नुपर्ने हुन्छ । यस्तो ढंगको बुझाई जनताप्रति कट्ने सोचाई हो ।
    बाम सरकार र जनताको बिश्वास
    यति धेरै स्रोत साधन भएको देश विश्वकै गरीब बनेकोले नै जनताहरु उकुसमुकुसको अवस्थामा छन् । उनीहरु परिवर्तन चाहन्छन् । त्यसैको परिणाम हो प्रत्येक दश दश बर्षमा ठूला ठूला उथलपुथल हुने घट्नाहरु । अब बल्ल आएर जनताले कम्युनिष्ट शक्तिहरुमाथि विश्वस्त भई दुईतिहाईको हाराहारीमा मत दिएका छन् । यो मत भनेको आफू जिउँदै रहँदा नै देशको समृद्धि तथा जीवनशैलीमा रुपान्तरण भएको हेर्न चाहने जनताको उत्कट अभिव्यक्ति हो । कम्युनिष्ट शक्तिप्रतिको उनीहरुको विश्वासलाई उपेक्षा गर्दै उनीहरुको मतलाई प्रतिक्रियावादीको खेल भनेर प्राप्त भएको अवसरबाट कोशौं टाढा भाग्ने र विभिन्न नाराहरुका नाममा विकास र समृद्धि दिर्घकालीन संघर्ष पछिको सुदुर भविष्यको लक्ष्य हो भनेर बताउँनु बास्तवमा जनताप्रतिको विश्वासघात हो । यो व्यवस्था गलत हो र पार्टीहरु गलत हुन भन्ने अधिकार कमरेड किरण र कमरेड विप्लवको नैसर्गिक अधिकार हो । जनताले अहिले बामपन्थी शक्तिका नाममा दिएको बहुमतले पनि समृद्धि आएन भने त्यसैको आडमा सशस्त्र क्रान्तिको नयाँ जग हाल्नु अनौठो बिषय पनि हैन । तर अहिले प्राप्त गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक र समावेशी प्रतिनिधित्वका कुराहरु प्रतिक्रियावाद कदापी हुन सक्दैन । यसमा टेकेर परिवर्तनका थप मार्गमा जान प्रसस्त बाटो पनि छ ।
    गणतन्त्र उल्टिने खतरा
    प्राप्त गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक र समावेशी प्रतिनिधित्वका कुराहरुलाई उल्ट्याउँने प्रयत्न प्रतिगामी शक्तिबाट हुनु स्वभाविक हो । उनीहरु यो प्राप्त कुराहरुले देशमा अराजकता मच्चाएको, विदेशीको योजना लागु गरेको भन्दै राष्ट्रियताको प्रतिक हिन्दू धर्म र राजा भएको प्रचार गर्न छिमेकी देशका गुरुपण्डितहरुसम्म पुगेका छन् । ज्ञानेन्द्रलाई राजाकै सम्मान दिएर सिंहासनमा बसाउँने भारतीय हिन्दूवादीको चालामालाले केहि संकेत गरिरहेको छ । उनीहरु बामपन्थीहरुको एकलौटी सरकारले पनि केहि गर्न नसकोस र अस्थिरता भईरहोस भन्ने चाहन्छन् । यहि अस्थिरतामा टेकेर हिन्दूवादको जगमा स्थापित हुन पुनरुत्थानवादीहरु दिनरात लागेका छन् । ठिक यहि अवस्थामा गणतन्त्र र परिवर्तनलाई जनताको बीचमा बलियोसंग स्थापित गराउँन नपाउँदै बर्तमान परिवर्तनलाई प्रतिक्रियावादी ठहर गरेर शसस्त्र संघर्ष गरिहाल्न खोज्ने कमरेड विप्लवको गतिविधिले थप प्रगतिशील हैन चरम प्रतिगामी व्यवस्था स्थापित हुने खतरा देखिन्छ ।
    भद्रगोलका बीचमा गोल हान्ने असफल कदमको अर्को कोशिस
    कमरेड प्रचण्डले भद्रगोलका बीच गोल हान्ने कुरा धेरै गर्नुभयो तर आखिर सबै विरोधी शक्तिहरुसंग एकता संघर्ष एकताको माध्यमबाट एक कदम प्रगतिशील सम्बिधान बनेको हो । यो यथार्थ स्वीकार्न आनाकानी गर्नुहुँदैन । निश्चय पनि विप्लव नेतृत्वको ने.क.पा. एक माक्र्सवादी, प्रगतिशील र राष्ट्रवादी शक्ति हो । तर यो शक्ति बर्तमानको बामपन्थी एकमना सरकार बन्ने कुराले रन्थनिएको हो कि भन्ने देखिन्छ । बर्तमान सरकारले चाल्ने प्रगतिशील कदमका कारण आफ्नो संगठन र संघर्ष कमजोर बन्न सक्ने आँकलन गरेर सरकार बनेको दिनदेखि नै ध्वंशात्मक गतिविधी अगाडि बढाएर सरकारको ध्यान अन्यत्र मोड्न खोजिरहेको महशुस गर्न सकिन्छ । सरकारले लोकप्रिय कार्य ग¥यो भने आफ्नो सशस्त्र संघर्षको योजना असफल बन्छ कि भन्ने छट्पटी त्यहाँ देखिन्छ । वास्तवमा कमरेड विप्लवले धैर्यता राख्नुपर्छ । यो बामपन्थी सरकारले समाजवाद उन्मुख कार्यक्रम ल्याउँन सक्यो भने कमरेड विप्लवले पनि जुन हदसम्म सरकार सामाजवाद उन्मुख कार्यमा जानसक्छ त्यहाँसम्म सहयोगि नै बन्नु पर्छ र जहाँबाट त्यो मार्ग विचलित हुन्छ अनि चेतावनी र संघर्षको उठान गर्नुपर्छ । कमरेड विप्लव नेतृत्वको नेकपाले त्यसो गर्नुभन्दा शुरुवातदेखि नै बम र बारुदको अघोषित युद्ध गर्ने र बमबारुदका सम्बन्धमा जिम्मेवारी नै नलिने कार्य गरि सरकारलाई विकास, निर्माणमा केन्द्रित हुनै नदिने र चौतर्फी भद्रगोलको अवस्था सृजना गर्न खोजिरहेको आभास हुन्छ । माक्र्सवादी द्वन्दवादीहरुले सजिल्यै बुझ्ने सत्य कुरा के हो भने जसरी विप्लव कमरेडको एकिकृत क्रान्तिका लागि अवरोधमा आउँनेहरुमाथि वहाँहरु आक्रमक बन्नुहुन्छ, ठिक त्यसै गरि बामपन्थी सरकारलाई काम गर्न नसकोस भनेर शहर चोकमा बम बारुद राख्ने वहाँहरुको कार्यका विरुद्ध सरकार पनि गिरफ्तारीमा उत्रन्छ नै । यसले एकप्रकारको भद्रगोलको अवस्था सृजना गर्छ । त्यसो भयो भने प्राप्त उपलब्धि त गुम्छ नै कमरेड विप्लवको नेकपाले सोचेको सपना पनि तुसारापात हुन्छ किनकि वहाँहरुले गर्न खोजेको क्रान्तिले भयानक प्रतिक्रान्तिलाई जन्म त दिन्छ तर त्यो भयानक प्रतिक्रान्ति तोडेर सर्वाहारा वर्गको राज्यसत्ता स्थापना तत्काल गर्न वहाँहरु कदापी सक्नुहुनेछैन । एकातिर गणतन्त्रका कारण देश असफल राष्ट्र बनेको प्रचार हुनपुग्छ भने अर्कोतिर देशभित्रका र बाहिरका प्रतिक्रियावादीहरुले बामपन्थीहरुका कारण देश भद्रगोलमा फँसेको व्यापक प्रचार भई संसदमार्फत अघि बढ्ने र संसदवादलाई अस्वीकार गर्ने दुबैलाई एउटै योजनाबाट कत्लेआम गर्ने खतरा रहन्छ । यसतर्फ सचेत हुन जरुरी छ ।
    विगतको सिंहावलोकन
    विगतको माओवादी आन्दोलनतर्फ नजर लाउँने हो भने २०४६ सालको आसपासतिरै दिर्घकालीन जनयुद्ध गर्ने ने.क.पा.(मशाल)को योजना भएको पाईन्छ तर २०४६ सालमा संसदवादीहरुले जनआन्दोलन थालेको हुँदा जनयुद्धका कारण त्यो आन्दोलन पनि तुहिन जाने यथार्थ बुझेर जनयुद्ध स्थगन गरी जनआन्दोलनमा पार्टी सहभागि भएको देखिन्छ । संसदीय व्यवस्था आएपछि जनताले त्यसैलाई सबैथोक प्राप्त भएको भ्रम पाल्न पुगेका कारण तत्काल त्यसका विरुद्ध हतियार उठाउँन उपयुक्त नभएकोले संसदवाद जनविरोधी नै हो भन्ने प्रचारका लागि र तत्काल प्रतिगमन भईहाल्ने खतरालाई रोक्न पनि छरिएर रहेका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गराई संयुक्त जनमोर्चा मार्फत संसदको भण्डाफोर गर्ने नाराका साथ त्यसको उपयोग गरिएको थियो । अहिलेको अवस्था भनेको त्यसबेलाको संसदीय व्यवस्था भन्दा धेरै अधिकार प्राप्त भएको र यसलाई उपयोग गरेर कम्युनिष्टहरुले शक्ति संचय गर्न र जनमुखी कार्य मार्फत जनतामा अझ बढी भिज्नसक्ने अवस्था हो । तसर्थ विप्लव कमरेडले यो कुरा बुझेर विगतको आफ्नै पार्टीको ईतिहासको सिंहावलोकन गर्दै दुई कदम अघि बढ्नका लागि एक कदम पछि हिड्नु उपयुक्त देखिन्छ ।
    केहि सैद्धान्तिक प्रश्नहरु
    नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता हुने भएपछि माओवादको अवस्था के हुन्छ भन्ने बहस अहिले चौतर्फी चलेको छ । जसले जे भने पनि माओवाद भनेको माक्र्सवादको विकसित रुप हो भन्ने यथार्थ अब सार्वभौम झैं भईसकेको छ । जुनसुकै राज्यसत्ता पनि बन्दुक र सेनाको आडमा टिकेको हुन्छ र त्यसलाई परास्त गर्न बल प्रयोग अनिवार्य छ । संसदीय अभ्यासबाट अघि बढ्छु भनिरहेका कम्युनिष्टहरुले पनि यो सत्यलाई स्वीकरेनन् भने उनीहरुको अवस्था पनि चिलिको एलेण्डे सरकार र इण्डोनेशियाको सुकार्णोको सरकारकै अवस्थामा पुग्नेछ । माओले बुझाउँनु भएको यो यथार्थबाट कसैले आँखा नचिम्ले हुन्छ । माओले दार्शनिकरुपमा एकको दुईमा विभाजनको अद्वितीय सिद्धान्तको व्याख्या गरी द्वन्दात्मक भौतिकवादलाई थप विकास गर्नुभएको हो । दर्शन, राजनीति, साहित्य र विज्ञानका क्षेत्रमा माओले जत्तिको नविन व्याख्या गर्न कसैले सकेको छैन र वहाँको विचारलाई बैचारिक ढंगले कसैले काट्न सक्तैन । समग्र प्रतिक्रियावादीहरुले माक्र्सवादलाई पुरानो भयो भनेर कुप्रचार गर्दैमा माक्र्सवादको सत्य जसरी समाप्त भएको छैन त्यसै गरी कुनै कम्युनिष्ट शक्तिले माओवादलाई नस्वीकार्ने भयो भन्दैमा माओवादको सार्वभौम सत्यता समाप्त हुँदैन । कमरेड प्रचण्डले माओवादका नाममा संसदवाद रोजेर भ्रम छरे भनेर जसरी बहस हुँदै थियो अब वहाँले माओवाद छोड्नु भयो भनेर चिन्ता प्रकट गर्नु आवश्यक छैन र त्यसलाई आधार मानेर आक्रोशित हुनु पनि उपयुक्त छैन । कुनै पनि चीजको सार जस्तो छ त्यसको रुप ढिलो वा चाँडो त्यहि रुपमा प्रकट हुन्छ भनेर माक्र्सवादले भनेको सत्य पुनः प्रमाणित भयो र अब माओवादको एकमात्र प्राधिकार कमरेड विप्लव वा कमरेड किरण नै हुनुहुनेभयो भनेर खुसी नै हुनुपर्छ वहाँहरुले । तर कमरेड प्रचण्ड र कमरेड केपी ओलीले जतिसुकै शान्तिपूर्ण प्रतिस्पर्धाबाट अगाडि जाने भनेपनि वहाँहरुले परिवर्तनको अगुवाई गर्न र समाजवादको अन्तिम धक्कासम्म पुग्न लाग्नुभयो भने त्यहाँ हिंसात्मक अवरोध हुन्छ नै र त्यसको प्रतिवाद गर्न बल प्रयोगको सिद्धान्तलाई स्वीकर्नुभएन भने वहाँहरु विश्व ईतिहासमा पुनःअसफल पात्र हुनुहुनेछ । तत्काल कमरेड प्रचण्डलाई प्रतिक्रियावादीको बिल्ला भिराएर अगाडि बढ्न भन्दा वहाँहरुको व्यवहार हेरेर अघि बढनु उपयुक्त हुनेछ । कमरेड सुदर्शन लगायतका कमरेडहरुको गिरफ्तारी सरकारले गरेको गल्ति हो तर यसो भन्दैमा बामपन्थी सरकारले शासन सत्ता हातमा लिने वित्तिकै जिम्मेवारी नलिई विभिन्न ठाउँहरुमा बम र बारुद राख्न थालिहाल्ने र थोरै धैर्यता अपनाउँन नखोज्ने काम पनि कमरेड विप्लवको गल्ति नै हो ।

    (लेखक  रोहित दहाल प्रगतिशील साहित्यकार हुन्)

    प्रतिकृया दिनुहोस्

    कर्मचारीहरु १०-५ मा सीमित नहुने भक्तपुरकी नयाँ सिडिओ शर्माको प्रतिवद्धता

    CDO rudra sharma

    भक्तपुरमा नयाँ कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले कर्मचारीहरु १०-५ को ड्युटीमा सीमित...

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...