News Portal

  • नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने

    विश्वास रेग्मीकाठमाडौँ, २२ भदौ
    ८१५ पटक
    काठमाडौँ, २२ भदौ

    नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने गरी दुई देशले पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल)लाई अन्तिम रूप दिएका छन् । यससँगै नेपाल र चीनबीच दुई वर्षअघि भएको पारवहन तथा यातायात सम्झौैता कार्यान्वयन आउने बाटो खुला भएको छ ।
    दुई देशका प्रतिनिधिबीच बिहीबार राति एक बजेसम्म जारी बैठकले सम्झौताको कार्यविधिलाई अन्तिम रूप दिएको हो । कार्यविधिमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि शङ्कर सैँजु र चीनका तर्फबाट त्यहाँको यातायात विभागका महानिर्देशक वाङ सुइपिङले हस्ताक्षर गरेका छन् ।

    कार्यविधिमा हस्ताक्षर भएसँगै नेपालबाट तेस्रो देशसँग हुने व्यापारका लागि भारतीय निर्भरताको अन्त्य भएको छ । नेपालले अहिले मुख्यतः भारतको कोलकाता बन्दरगाह हुँदै तेस्रो देशबाट वस्तु आयात गर्दै आएको छ ।

    कार्यविधिअनुसार नेपालले आफूलाई सहज हुने चीनको कुनै पनि बन्दरगाह प्रयोग गर्न पाउनेछ । त्यस्तै बन्दरगाहसम्म पुग्न छिटो र उपयुक्त हुने रुट प्रयोग गर्न दिन चिनियाँ पक्ष सहमत भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली २०७२ चैतमा चीन भ्रमणमा रहँदा दुई देशबीच पारवहन तथा यातायात सम्झौता भएको थियो । गत असारमा प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा उक्त सम्झौता कार्यान्वयन गर्ने कार्यविधिमा हस्ताक्षर हुने भनिए पनि पर्याप्त तयारी नपुगेको भन्दै १५ असोज २०७५ भित्र टुङ्ग्याउने सहमति भएको थियो । त्यही सहमतिअनुसार दुई देशवीच ल्हासा, बेइजिङ र तेस्रो पटक काठमाडौँमा छलफल भएको हो ।

    बुधबार सुरु बैठकमा नेपालले बन्दरगाहबाहेक त्यहाँसम्मको रुटको विषयलाई प्राथमिकताका अघि सारेको सहसचिव नवराज ढकालले जानकारी दिनुभयो । बन्दरगाहसम्मको छिटो, सहज र प्रभावकारी रुट पत्ता लगाएर चिनियाँ पक्षसँग नाम प्रस्ताव गरिएको पनि उहाँले बताउनुभयो । कार्यविधिले चीनमा कस्तो गाडी जाने, कहाँबाट जाने, नेपालमा कहाँसम्म आउने, कार्गो कसरी लानेजस्ता विषय टुङ्गो लगाएको उहाँले जानकारी दिए ।

    त्यस्तै ती रुट भएर ओसारपसार गर्ने सामानको विषयमा पनि छलफल भएको उनले बताए । चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने प्रस्तावमा सहमति भए पनि नेपालका लागि तियान्झिन, सेन्जझेन, लियायुङयाङ, झानझिङ सामुद्रिक बन्दरगाह र ल्हासा, ल्हान्झोउ र सिगात्सेलगायत सुख्खा बन्दरगाह बढी उपयुक्त हुने सहसचिव ढकालले बताए ।

    बैठकले ती बन्दरगाबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रियालगायत विषय समेत टुङ्गो लगाएको उहाँले जानकारी दिनुभयो । नेपालले चीनको बन्दरगाह उपयोग गर्न पाएको अवस्थामा खासगरी दक्षिण कोरिया, जापान र ती नजिकका देशबाट सामान ल्याउँदा नेपाललाई सहज हुनेछ ।

     

    बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित परराष्ट्र मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भन्सार विभाग, नेपाली राजदूतावास बेइजिङका प्रतिनिधिको सहभागिता थियो । त्यस्तै चीनबाट यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, इन्जिनियरिङ सुपरभिजन विभाग, नेसनल रेलवे एडमिनिस्टे«सनका प्रतिनिधिको सहभागिता रहेको गोरखापत्रमा खबर छ ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...