भक्तपुरको धार्मिक आस्थाको धरोहर समेत रहेको हनुमती खोला ढलमती बनेपछि अभियन्ताहरु सरसफाइमा जुटेका छन । अघिल्लो हप्ताबाट अभियानकै रुपमा शुरु गरिएको सरसफाई अभियान प्रत्यक शनिवार संचालन गर्ने उद्घोष बमोजिम आज पनि उत्साहपूर्वक सम्पन्न भएको छ ।
बिगत १५ बर्ष यता देखि क्रमस: प्रदुषित बन्दै आएको नदि यतिबेला डम्पिङ्ग साइट जस्तै बनेको छ । कुनै बेला किसानले पानी खाने र केटाकेटीहरु पौडी खेल्ने यो खोलाको इतिहास कथा जस्तै बन्न पुगेको छ । तर यसलाई पूरानै अवस्थामा फर्काउने सपना देखेका छन यहाका जनप्रतिनिधिले र यसमा साथ् दिएका छन सचेत स्थानीयले । त्यसैले आज फोहोर सोर्न मानिसहरु सक्रिय भएको दृश्य हेर्न लायक देखिएको छ ।
मानिसहरु फोटो खिच्न मात्र सफाई अभियानमा जुटेका थिएनन । करिब १२ ट्रक फोहोर संकलन गर्न समेत सफल भएका छन । आजको यस कार्यक्रममा प्रमुख आकर्षण बनेकी थिईन कलाकार तथा पत्रकार समेत रहेकी सांसद कोमल वली । वलीले गीत गाउदै सरसफाई अभियानलाई रोमाञ्चक समेत बनाएकी थिइन् ।
यस क्षेत्रका प्रतिनिधि सभा सदस्य एवं एमाले नेता महेश बस्नेतको सक्रियताले कतिपयले यसलाई एमालेकृत अभियानको संज्ञा दिएता पनि आजको कार्यक्रममा अन्य राजनीतिक दलसंग आस्था राख्नेहरु पनि उत्साहजनक रुपमा संलग्न भएका देखिन्थे ।
कोमल वलीको प्रमुख आतिथ्यमा भएको आज दोस्रो हप्ताको सरसफाई कार्यक्रममा प्रदेशसभाका सदस्य, नगरपालिकाका मेयर उपमेयरलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरु , विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु , संघ संस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी,खेलाडी , ब्यापारी , विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, स्थानीय टोलवासीहरु लगायतको उत्साहजनक सहभागिता रहेको थियो ।