News Portal

  • पाठेघरको निःशुल्क शल्य क्रिया शिविरले डोल्पाली महिलामा ल्यायो खुशी

    रामचन्द्र न्यौपाने१७ वैशाख
    ९४५ पटक
    १७ वैशाख

     डोल्पा। आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण नेपालगन्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा अकालमै मृत्यु हुनु परेको घटना पनि यहाँ नयाँ मानिंदैन ।

    पूर्व शान्ति मन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्यसमेत रहनुभएकी सत्य पहाडीको विशेष पहलमा डोल्पा पुगेको विशेषज्ञ डाक्टरको टोलीले गत शुक्रबारदेखि तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया शुरु गरेको थियो ।

    जिल्ला अस्पताल डोल्पाले हालै सञ्चालन गरेको पाठेघरको शल्यक्रिया शिविरमा ११ जना पाठेघरपीडित महिलाले निःशुल्क शल्यक्रिया गराएका छन् । दुर्गम हिमाली जिल्ला डोल्पामा पहिलोपटक सञ्चालन गरिएको शिविरबाट जटल समस्याबाट पीडित ती महिलाले गाउँघरमै स्वास्थ्य सेवा पाउँदा हर्षित बनेका छन् ।

    त्यस्तै विशेषज्ञ डाक्टर आएको मौका छोपेर मासु पलाएका, पिप जमेका, काटिएकालगायतका आठवटा अन्य जनरल शल्यक्रियासमेत गरिएको जिल्ला अस्पताल डोल्पाका डा अनुपमंगल समालले जानकारी दिए ।

    शिविरमा दुई सयभन्दा बढी पाठेघर खस्ने रोगका पहिलो र दोस्रो चरणका समस्या भोगिरहेका महिलाले शिविरमा जाँच गराएका थिए । डोल्पामा यसरी शल्यक्रिया गरिनु डोल्पाली महिलाका लागि ठूलो अवसर भएको स्थानीयवासी बताए ।

    “एक महिलाको पाठेघरको शल्यक्रिया गर्नमात्रै रु ३५ देखि ४० हजारसम्म लाग्छ, डोल्पाबाटै जिल्ला बाहिर जान जहाज भाडादेखि होटल खर्चसहित रु एक लाखभन्दा बढी खर्च जुटाउनु पथ्र्यो, जिल्लामै पहिलो पटक शल्यक्रिया भएपछि डोल्पाली महिलाको लाखौँ रुपैयाँ जोगिएको छ, यस्तो अवसर कमैमात्रामा पाइन्छ”, डा समालले भने।

    शिविर सञ्चालन भएको तीन दिनको अवधिमा मात्रै ३०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

    जिल्लामै पहिलोपटक सदरमुकाममै पाठेघरको निःशुल्क शल्यक्रिया शिविर शुरु भएपछि जिल्लाका त्रिपुराकोट, सुँ, जिँउ, जुफाल, माझफाल, दुनैलगायतका विकट बस्तीबाट २०० भन्दा बढीपीडित महिला उपचार गर्न सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा पुगेका थिए ।

    शल्यक्रिया गर्नुपर्ने र हुनसक्ने एउटा महिला पनि नछुटेको अस्पतालले जनाएको छ ।

    एक ७० वर्षया पाठेघरपीडित महिलाको भने शल्यक्रिया हुन नसकेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

    पाको उमेरका कारण शल्यक्रियाको भार थाम्न नसक्ने भएकाले शल्यक्रिया नगरिएको अस्पतालको भनाइ छ ।

    “पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित थिए, लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेको थिए न पटक–पटक गाउँघरमै पुग्ने स्वास्थ्यकर्मीलाई, यस्तो समस्याले ग्रसित पार्दै गएपछि थला परिसकेको थिए, यस पटक डोल्पामै स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि शल्यक्रिया भएको छ”, त्रिपुरा सुन्दरी नगरपालिका–१ रल्ली बस्ने रुप्सी कुलालले भने ।

    “शल्यक्रियापछि स्वास्थ्य हलुङ्गो महसुस भएको छ, पाठघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो अहिले सहज छ”, उनले भने ।

    उनले पूर्व शान्ति मन्त्री पहाडी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाक्टरको टोलीलाई समेत धन्यवाद दिए ।

    त्यस्तै जिल्लामै पाठेघरको शल्यक्रिया भएपछि लामो समयदेखि ग्रसित त्रिपुरा सुन्दरी नगरपालिका–४ की मनभुजा धरला पनि खुशीले भावुक भए ।

    उनेको पनि आइतबार पाठेघरको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार आएको उहाँले बताउनुभयो ।

    अर्की रुपधनी सार्की पनि पाठेघरको उपचारका लागि त्रिपुरा सुन्दरी नगरपालिका–१ बाट चार घण्टाको पैदल हिँडेर दुनै पुगेकी थिइन् । लामो समयदेखि पाठेघर खस्ने समस्याले ग्रसित उनको स्त्री रोग विशेषज्ञ राजबहादुर शाहीसहितको विशेषज्ञ टोलीले आइतबार उपचार गरेको थियो ।

    जिल्ला अस्पतालमै आयोजना भएको निःशुल्क शल्यक्रिया शिविरमा पाठेघरपीडित सयौँ महिला गाउँगाउँबाट आए पनि उनीहरुको समस्या हेरेर शल्यक्रिया गर्नैपर्ने महिलाको नछुटाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको डा अनुपमंगल समालले जानकारी दिए ।

    उनका अनुसार हामीले शिविरको अवधि दुई दिन भए पनि उनीहरुको संख्यालाई हेरेर एक दिन थपेर शिविरको अवधि चार दिन पु¥याइएको हो ।

    “घरआँगनमै निःशुल्क शल्यक्रिया हुने भएपछि महिलाको ओइरो लागेको थियो, उनीहरुको समस्या हेरेर उपचार गरिएको छ ।”

    “डोल्पाली महिला धेरै पाठेघर खस्ने समस्याले ग्रसित छन्, उनीहरुको सानै उमेरमा बिहे गर्ने र धेरै बच्चा जन्माउनुलाई प्रमुख कारण मानिन्छ ।”

    दुर्गमको संस्कार घरदेखि वनको सबै काममा महिला नै जोतिनुपर्छ भन्ने पुरुषवादी सोचका कारण पनि डोल्पामा पाठेघर खस्ने रोगका कारण महिला धेरै पीडित भएका छन्, जिल्ला अस्पताल डोल्पाका डा श्रीकान्त अग्रवालले जानकारी दिए।

    विशेषज्ञ डाक्टरसहित औषधि उपकरण बोकेर डोल्पा पुग्नुभएकी पूर्व शान्ति मन्त्री पहाडीले डोल्पा अस्पताललाई १५ शय्याबाट बढाएर ५० शय्या बनाउनका लागि पहल भइरहेका बताए ।

    आफू कर्णालीका धेरै जिल्लाका अस्पतालमा घुमिसकेकाले डोल्पा अस्पतालको सेवा राम्रो भएको उनको भनाइ छ ।

    अस्पतालका वर्तमान समस्याहरु समाधान गर्दै जनतालाई गुणस्तरिय सेवा दिनकोलागि आफू लागिपरेको नेतृ पहाडीले बताए।

    जिल्लाका महिलाहरुलाई कामको अत्याधिक भार, असन्तुलित खानपान र धेरै बच्चा जन्माउने भएकाले डोल्पाका ३० प्रतिशतभन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...