कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित वैजनाथ सिद्धनाथ माविको कार्यालय कक्षमा आगजनी गरिएको छ ।
अज्ञात व्यक्तिले विद्यालयको कार्यकक्षको ताला तोडेर कार्यालयमा आगजनी गरेको बताइएको छ । आज विद्यालयका चौकीदारले कार्यालयको ढोकाको ताला टुटेको अवस्थामा फेला पारेपछि कार्यालय कक्षमा आगजनी भएको थाँहा भएको हो ।
आगलागीबाट विद्यालयभित्र राखेको स्टील दराजभित्र राखेका कागजपत्र, फोटोकपि मेसिन, शिक्षक हाजिरी पुस्तिका, प्रयोगशालाका सामग्री जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
दराजमा राखेको एक थान ल्यापटपसमेत चोरी भएको पाइएको छ उनले भने । कार्यालय कक्षमा शुक्रबार राति बेला आगो लगाएको हुन सक्ने उनले बताए ।
”विद्यालयमा लामो समयदेखि प्राचार्य र व्यवस्थापन समितिबीच विवाद रहेको बुझिएको छ, त्यसै कारणले आगजनी गरिएको हो वा अन्य कसैले आगजनी गरेको भन्नेबारे अनुसन्धान भैरहेको छ ।’’ उनले भने ।