सर्लाहीको नारायण खोलाका किसानमा पशुपालनप्रति उत्साह घट्दै गएको छ । पशुपालनका लागि उपयुक्त स्थान नारायण खोलाका किसानहरुले उत्पादन गरेको दुधले उचित मूल्य र बजार नपाएपछि किसानहरुमा पशुपालन प्रतिको उत्साह घटदै गएको हो ।
लालबन्दी नगरपालिका वार्ड नम्वर १४ मा पर्ने जिल्लाकै अति बिकट क्षेत्र मानिने नारायण खोलामा अहिले पनि ७० प्रतिशत मानिसहरुले गाईभैंसी पालेका छ्न् तर केही बर्ष अघि सम्म ५/७ वटा गाईभैंसी पाल्ने किसानहरु अहिले पशुपालन नै नगर्ने मनसायमा पुगेका स्थानीय उतरमान थिङ्ग को भनाई छ । ”गाई भैंसी पाल्यो दु:ख गरेर दुध उत्पादन गर्यो तर उत्पादित दुधको उचित मुल्य र बजारको अभाव छ ।” उनले भने ।
लालबन्दी बजारमा ७० रुपैया प्रति लिटर पर्ने दुधलाई नारायण खोलाका दुध डेरिहरुले मुस्किलले २२ रुपैया देखि २७ रुपैयासम्म मात्र दिने गरेको अर्का किसान शुक्र थिङ्गले नेपालवालसँग दुखुसो गरे । दु:ख गरेर गाईभैंसीलाई दाना घासपात र हेरचाहको हिसाब किताब गर्दा दुधको आम्दानी भन्दा खर्च बढी पर्ने र त्यसले गर्दा घर परिबार चलाउन समेत समस्या हुने भएको किसानहरुको भनाई छ ।
नारायण खोलामा अहिले पनि ६ वटा दुध संकलन गर्ने दुध संकलन केन्द्र छ्न् तर पनि बिकट क्षेत्र र बिद्युत तथा सहज बाटो यातायातको ब्यबस्था नहुदा आफूहरुले चाहना हुदाहुँदै पनि उत्पादित दुध संकलन र भण्डारण गर्न नसकेको मटरदोभानका दुध डेरि संचालक भिम पाख्रीनको भनाई छ ।
यदि किसानहरुलाई पशुपालनतर्फ नगरपालिकाले हौसला प्रदान गर्न र बजारिकरणको ग्यारेन्टी गरिदिन सके पुरै लालबन्दी नगरपालिकाको दुधको माग नारायण खोलाले नै धान्न सक्ने र स्थानीय किसानहरुको आय आर्जन र जिबिकोपार्जनमा समेत यसले टेवा पुग्ने स्थानीय शिक्षक रुद्र बस्नेतको बुझाई रहेको छ ।