माघ मासको शुक्ल पक्षको पञ्चमी तिथिलाई वसन्त पञ्चमीको रुपमा मनाइने गरिन्छ । यस दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ । यसैदिन शब्दको शक्ति मानवहरुको झोलीमा आएको समेत मानिन्छ । त्यसैले यसदिन साना बालबालिकाहरुलाई पहिलो पटक अक्षर लेख्न सिकाउने समेत गरिएको पाइन्छ ।
आजको दिनदेखि वसन्त ऋतुको आरम्भ हुनेगर्छ । यसदिन देवी सरस्वती तथा उनको ग्रन्थको पुजा गर्ने गरिन्छ । साना बालबालिका यस दिनदेखि विद्याको आरम्भ गर्नेगर्छन । संगीतकार आफ्ना वाद्ययन्त्रको पुजा गर्छन् । विद्यालय तथा शिक्षणसंस्थाहरुमा सरस्वती तथा वेदको पुजा गरिन्छ । हिन्दु मान्यता अनुसार, वसन्त पञ्चमीलाई अबूझ मुहूर्त मानिन्छ । त्यसैले यसदिन बिना मुहूर्त सबै शुभ तथा मांगलिक कार्य गर्ने गरिन्छ ।
यस दिन पितृ तर्पण समेत गरिन्छ । यसैदिन कामदेवको पनि पुजा गर्ने गरिन्छ । यसदिन पहिरन पनि परम्परागत हुने गर्छ । प्रायः पुरुषहरु सेतो रंगको कपडा र महिलाहरु पहेंलो रंगको कपडा लगाउने गर्दछन् । यस दिन गायन, वादनको साथमा अन्य सांस्कृतिक कार्यक्रमहरुसमेत हुने गर्दछन् ।
सरस्वतीलाई समस्त ज्ञान, साहित्य, संगीत, कलाकी देवी मानिन्छ । विद्यालयहरुमा वसन्त पञ्चमी बडो धुमधामका साथ मनाउने गरिन्छ । यही शिक्षाले नै मनुष्यलाई पशुहरुबाट अलग बनाएको मानिन्छ । ब्रह्मादेवले सृष्टिको रचना गरेपछि मनुष्यको रचना गरेको मान्यता रहँदै आएको छ । मनुष्यको रचना गरेपछि यिनीहरुले मात्रै सृष्टिको गति दिनसक्दैनन् भन्ने ब्रह्मादेवलाई अनुभव भयो ।
त्यसपछि उनले विष्णु भगवानको अनुमति लिएर एउटी चतर्भुजी स्त्रीको रचना गरे । जसको एउटा हातमा वीणा तथा अर्कोहात वर मुद्रामा थियो । अन्य दुईहातमा पुस्तक तथा माला थियो ।
शब्दका माधुर्य तथा रसले युक्त भएकी कारण उनको नाम सरस्वती राखियो । सरस्वतीले जब पहिलो पटक आफ्नो वीणा झंकृत गरिन्, तव समस्त सृष्टिमा नादको पहिलो अनुगूञ्ज हुन पुग्यो । सरस्वतीको अवतरण माघ मासको शुक्ल पक्षको पञ्चमी तिथिमा भएको थियो । त्यसैले यस दिनलाई वसन्त पञ्चमीको रुपमा मनाउन थालियो ।
यो पनि मानिँदै आएको पाइन्छ कि, विष्णुको कथन अनुसार ब्रह्मादेवले सरस्वती माताको आह्वान गरे । सरस्वती माता प्रकट भएपछि ब्रह्मादेवले उनलाई आफ्नो वीणाले सृष्टिमा श्वर भर्न अनुरोध गरे । सरस्वतीमाताले जव वीणाका तारहरु छुन शुरु गरिन्, त्यसबाट शुरुमा सा शब्द निस्कियो । यही शब्द पछि संगीतको सात सुरमध्ये प्रथम हुनगयो । यसै ध्वनिबाट ब्रह्मादेवको मूक सृष्टिमा ध्वनिको सञ्चार हुन शुरु भयो । हावा, सागर, पशुपंक्षी तथा अन्य जीवजन्तुहरुलाई वाणी मिल्यो । नदीहरुबाट कलकलको ध्वनि छुट्न लाग्यो । यसबाट ब्रह्मादेव धेरै प्रसन्न भए । उनले सरस्वतीलाई वाणीको देवीको नामले सम्बोधन गर्दै वागेश्वरी को नाम दिए ।
सरस्वतीमाताको पुजा विधि
ज्ञान तथा वाणी बिना संसारको कल्पना गर्न असम्भव थियो । सरस्वती माता यिनैको देवी हुन् । त्यसैले मनुष्यले मात्रै होइन, देवता तथा असुरले समेत पुरा भक्तिभावले उनको आरधाना र पुजा गर्ने गर्छन् । सरस्वती पुजाको दिन मान्छेहरुले आआफ्नो घरमा माताको प्रतिमा बनाइ पुजा र आरधाना गर्ने गर्छन् ।
सरस्वती पुजा गर्ने समय शुरुमा सरस्वती माताको प्रतिमा अथवा तस्वीर सामुन्ने राख्नुपर्छ । त्यसपछि कलश स्थापित गरेर गणेश जी तथा नवग्रहको विधिवत् पुजा गर्नुपर्छ ।
त्यसपछि मात्र माता सरस्वतीको पुजा गर्नुपर्छ । सरस्वती माताको पुजा गर्ने समय उनलाई सबैभन्दा पहिले आचमन तथा स्नान गराउनुपर्छ । त्यसपछि मातालाई फूल, माला चढाउनुपर्छ । सरस्वती मातालाई सिन्दूर, अन्य श्रृंगारका वस्तुहरु पनि अर्पित गर्नुपर्छ । देवी सरस्वती श्वेत(सेतो) वस्त्र धारण गर्छिन । त्यसैले उनलाई श्वेत वस्त्र लगाइदिनुपर्छ । उनलाई सकभर पहेलो रंगका फलफूल चढाउनु पर्छ । प्रसादको रुपमा मौसमी फलफूलको अलवा बुदिया अर्पित गर्नु वेश मानिन्छ । यसदिन सरस्वती मातालाई मालपुवा तथा खीरको भोग पनि लगाउने गरिन्छ । माघ शुक्ल पञ्चमीको दिन सरस्वती माताको पुजा पश्चात् षष्ठी तिथिको बिहान त्यसको विसर्जन गरिदिनुपर्छ । साझँपख उनको मूर्तिलाई प्रणाम गरि जलमा प्रवाहित गर्नुपर्छ ।
अक्षराभ्यासको दिन
वसन्त पञ्चमीको दिन बालबालिकाहरुलाई अक्षराभ्यास गराउने गरिन्छ । अक्षराभ्यासको तात्पर्य, विद्या अध्ययन प्रारम्भ गर्न अगाडि पहिला उनीहरुको हातले अक्षर लेख्न प्रारम्भ गराउनु । यसका लागि आमाबुवाले शुरुमा आफ्ना बच्चालाई काखमा राखेर बस्नुपर्छ । त्यसपछि बच्चाको हातले गणेश भगवानलाई पुष्प समर्पित गराउनुपर्छ । साथमा, स्वस्तिवाचन इत्यादि को पाठ गराएर बच्चालाई अक्षराभ्यास गराउनुपर्छ । यसरी बच्चालाई अक्षराभ्यास गराउँदा उसको बुद्धि तीव्र हुने मान्यता रहेको छ ।