News Portal

  • कोराना सङ्क्रमित बिरामी बाेक्न गएको एम्बुलेन्सका चालक फरार

    राससबाग्लुङ, २१ चैत
    ११४४ पटक
    बाग्लुङ, २१ चैत

    गलकोट,बाग्लुङ । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए ।

    साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टी गरेपछि जिल्ला स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालको स्वास्थ्यकर्मी घरमै क्वारेन्टाइनमा बस्दै आउनुभएकी ती वृद्धालाई अस्पताल ल्याउने तयारीमा जुट्यो । जिल्ला विपद् व्यवस्थापन समितिको चैत १६ गते भएको निर्णयानुसार नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको एम्बुलेन्स कोरोनाका भाइरसका विरामी बोक्नका लागि तयारी अवस्थामा राखिएको थियो ।

    कोरोना सङ्क्रमित ती वृद्धाको घर बागलुङ बजार नजिकै भएका कारण अस्पताल ल्याउनमा कुनै समस्या थिएन । तयारी अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सलाई धौलागिरी अञ्चल अस्पतालमा बोलाइयो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौं र धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र बि पोख्रेलको नेतृत्वले कोरोना भाइरसबाट सङ्क्रमित विरामी ल्याउन जानुपर्ने बताएपछि एम्बुलेन्स चालकले रेडक्रसले नियुक्ति पत्र नदिएको भन्दै आनाकानी गर्न थाले ।

    अस्पताल तथा स्वास्थ्य कार्यालयले यस्तो सङ्कटको घडीमा सुरक्षा सामग्री लगाएर सङ्क्रमित विरामी अस्पताल ल्याउनुपर्ने भनेपनि चालकले आलटाल गर्दै एम्बुलेन्स छोडेर भागेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए । ‘हामीले तयारी अवस्थामा राखेको एम्बुलेन्स चालकलाई सुरक्षित तरिकाले सङ्क्रमित ल्याउन आग्रह गर्‍यौं’, उनले भने, ‘हामीले अन्य तयारी गरिरहेको समयमा चालकले एम्बुलेन्स छोडेर फरार भए ।’

    एम्बुलेन्स छोडेर चालक भागेपछि स्वास्थ्य कार्यालयको चालक र प्रमुख गुरौंले सोही एम्बुलेन्समा राखेर सङ्क्रमित ती वृद्धालाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. पोखरेलले जानकारी दिए । चालकको गैरजिम्मेवारीपनका कारण विरामीलाई अस्पताल ल्याउन दुई घण्टा ढिलो समेत भएको थियो । प्रमुख गुरौंका अनुसार एम्बुलेन्स चालकलाई सुरक्षित राख्नका लागि एम्बुलेन्सलाई दुई भागमा विभाजन गरेको र पिपीइ लगाएर मात्र विरामी ल्याउन आग्रह गर्दा पनि एम्बुलेन्स अस्पतालमै छोडेर चालक भागेका थिए ।

    एम्बुलेन्स चालकले असुरक्षा तथा नियुक्तिपत्र नभएको भन्दै भागेपछि पिपीइ लगाएर सङ्क्रमित विरामी बोक्न कुनै समस्या नहुने भन्ने सन्देश दिनका लागि आफू र आफ्नो चालक विरामी लिन सङ्क्रमितको घरमै पुगेको गुरौंको भनाइ छ । चालकले पिपीइ लगाएर सङ्क्रमित विरामी बोक्न कुनै समस्या नहुने डा. पोखरेलको भनाइ छ । ‘अस्पतालमा निकै कम जनशक्तिमा पनि रातदिन उपचारमा खटिएका छौं’, उनले भने, ‘सुरक्षा सामग्री लगाएर विरामी बोक्दा चालकलाई केही हुँदैन ।’

    धौलागिरी अञ्चल अस्पतालमा ती वृद्धासहित कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । एम्बुलेन्स चालक बिरामी भएका कारण अर्को चालकलाई अस्थायी रुपमा काममा लगाइएकाले विरामी बोक्न अस्वीकार गरेको हुन सक्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले जानकारी दिए । लामिछानेले आफूले चालकलाई सुरक्षा सामग्री तथा तालीमको व्यवस्था गर्न आग्रह गरेपनि सम्बन्धित निकायले वेवास्ता गरेको आरोप लगाए।

    सङ्कटको घडीमा चालकले सुरक्षा सामग्रीसहित एम्बुलेन्स सञ्चालन नगरी भाग्दा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स थन्किने अवस्थामा पुगेको छ । तयारी अवस्थाको एम्बुलेन्स थन्किदा अन्य कोरोना भाइरसका सङ्क्रमित फेला परेमा अस्पताल ल्याउन झनै समस्या हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...