News Portal

  • इन्टरनेट र टेलिभिजन नहुने विद्यार्थीका लागि ‘म सिक्दै छु’ रेडियो कक्षा सञ्चालन हुने

    भक्तपुरपोस्ट संवाददाता२ श्रावण २०७७
    ९७७ पटक
    २ श्रावण २०७७

     

    काठमाडौं । इन्टरनेट र टेलिभिजनको पहुँच नभएका विद्यार्थीहरुका लागि ‘म सिक्दै छु’ रेडियो कक्षा सञ्चालन हुने भएको छ । विद्यालयको शिक्षण सिकाइमा काम गर्दै आएको टिच फर नेपालले साउन ५ गतेदेखि ७ जिल्लामा यस्तो रेडियो कक्षा सञ्चालन गर्न लागेको हो ।

    कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीका कारण अधिकांश विद्यालयमा पठन पाठन ठप्प भएको स्थितिमा विद्यार्थीको सिकाइलाई निरन्तरता दिने हेतुले रेडियो कार्यक्रम सञ्चालन गर्न लागेको टिच फर नेपालले जनाएको छ ।

    नेपालका ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयमा आफ्ना प्रज्ञार्थी प्रदान गरि सार्वजनिक विद्यालयको गुणस्तर उकास्न र शैक्षिक समता प्रदान गर्दै आएको टिच फर नेपालले बिहीबार एक कार्यक्रमका बीच ‘म सिक्दै छु’ नामक उक्त रेडियो कार्यक्रम उद्घाटन गरेको हो ।

    साउन ५ गतेदेखि औपचारिक रुपमा प्रशारणको तयारीमा रहेको उक्त रेडियो कार्यक्रममा अङ्ग्रेजी, विज्ञान, गणितका साथै बाल मनोविज्ञान र अतिरिक्त क्रियाकलापसँग सम्बन्धित कुराहरू प्रसारण हुने उक्त रेडियो कार्यक्रमकी संयोजक रुमा महर्जनले जानकारी दिइन् ।

    माध्यमिक तहका विद्यार्थीलाई लक्षित उक्त रेडियो कार्यक्रमले कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई समेट्ने महर्जनले बताइन् ।

    कार्यक्रम हप्ताको ५ दिन सोमबार देखि शुक्रवार बेलुका ४ देखि ६ बजे बीचमा प्रशारण हुने र हरेक दिनको कार्यक्रम ३० मिनेटको रहने कार्यक्रम संयोजक महर्जनले जानकारी दिइन् । उनका अनुसार कार्यक्रमले १० हजार बढी विद्यार्थीलाई प्रत्यक्षरुपमा समेट्ने छ । रेडियो कार्यक्रममा विद्यार्थीहरूलाई मनपर्ने किसिमबाट सिकाउने हुनाले विद्यार्थीहरूले रेडियो कार्यक्रम रुचाउने महर्जन बताउँछिन् ।

    रेडियो कार्यक्रम रेडियो नाटकका रुपमा, छलफल, अन्तक्रियात्मक र मनोरञ्जनात्मक रुपमा प्रसारण हुने र कार्यक्रममा बालबालिकाको लेखन प्रतिभा सुधार र उजागर गराइने जनाइएको छ ।

    बन्दाबन्दी अवस्थामा बालबालिकाको मनोविज्ञानमा पनि असर पुग्ने हुँदा मनोविज्ञान परामर्श बारे जानकारी दिन हप्ताको १ दिन विद्यार्थीका भावना र कथा साट्ने प्रकारका कार्यक्रम पनि समावेश गरिएको कार्यक्रम संयोजक महर्जनले जानकारी दिइन् ।

    ‘हामी सबै कुरा राम्रो हुने प्रतीक्षा गर्न सक्दैनौं । शिक्षकको हैसियतमा हामीले यो समय आफ्ना विद्यार्थीहरूसँग सम्पर्कमा रहन र उनीहरूको शिक्षा र मनोसामाजिक आवश्यकताहरूलाई सम्बोधन गर्नुपर्ने दायित्व महसुस गर्यौं ।’ रेडियो कार्यक्रममा संलग्न टिच फर नेपालका प्रज्ञार्थी प्रशान्त ज्ञवालीले भने ।

    कार्यक्रमका बारे प्रकाश पार्दै टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले ग्रामीण भेगमा रेडियोको पहुँच बढी देखिएकोले ग्रामीण विद्यार्थीहरूलाई मध्यनजर गर्दै कार्यक्रम तयार पारिएको बताइन् ।

    लकडाउनपछि विद्यार्थी र शिक्षक विद्यालयमा पुग्न नसक्ने अवस्था सिर्जना भएपछि सिकाइलाई कसरी निरन्तरता दिने विषयमा टिच फर नेपालले तीन महिना अध्ययन गरेको थियो । यस बिच कुन माध्यमबाट सिकाइ गर्दा विद्यार्थीसम्म पुग्छ भनेर सर्वेक्षण गरिएको थियो ।

    ७ जिल्लाका ६४ विद्यालयका १५ सय विद्यार्थीमा गरिएको सर्वेक्षणमा ३३ प्रतिशत विद्यार्थीको इन्टरनेटमा, ३५ प्रतिशतको टेलिभिजनमा र झण्डै ६० प्रतिशत विद्यार्थीको रेडियोमा पहुँच भएको पाइएको थियो ।

    विद्यार्थीमा गरिएको सर्वेक्षणमा झण्डै ६० प्रतिशत विद्यार्थीको घरमा रेडियो भएको थाहा भए पछि यो रेडियो कार्यक्रम गर्नु पर्छ भन्ने प्रज्ञार्थीको सुझावलाईे मनन गरी रेडियो कार्यक्रम निर्माण गर्ने निष्कर्षमा पुगिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताइन् ।

    उक्त कार्यक्रम हालका लागि टिच फर नेपाल कार्यरत ७ जिल्लाका १५ गाउँपालिका र नगरपालिकाका ८ वटा रेडियोमा प्रसारण हुनेछ । उक्त कार्यक्रम दक्षिण ललितपुर र पर्सामा रेडियो वीरगन्ज, रेडियो विजयवस्ती, सिन्धुपाल्चोकमा रेडियो मेलम्ची, धनुषामा रेडियो जनकपुर, लमजुङमा रेडियो मस्र्याङ्दी, तनहुँमा रेडियो दमौली र दाङमा रेडियो प्रकृतिबाट प्रसारण हुने जनाइएको छ ।

    सोमबार अङ्ग्रेजी, मंगलवार गणित, बुधवार विज्ञान, विहिवार अङ्ग्रेजी र शुक्रवार बाल मनोविज्ञान र अतिरिक्त क्रियाकलापसँग सम्बन्धित विषयमा कार्यक्रम प्रशारण हुने टिच फर नेपालकी सिर्जना घिमिरेले ले जानकारी दिइन् ।

    रेडियोमा प्रशारित कार्यक्रम टिच फर नेपालको फेसबुक पेज, युट्युवमा राखिने र त्यसलाई देशभरका विद्यार्थीले सुन्न सक्ने जनाइएको छ । अन्य जिल्ला, स्थानीय तह र एफएम रेडियोहरुले पनि सो कार्यक्रम प्रशारण गर्न चाहेमा सम्पर्क गरी लिन सक्ने जनाइएको छ ।

    कार्यक्रमको पहिलो चरणमा विज्ञान, गणित र अङ्ग्रेजीका आधारभूत कार्यक्रम हुने जनाइएको छ भने उक्त कार्यक्रमले सार्वजनिक विद्यालयमा विद्यमान आधारभूत तहमा देखिएको कमजोरीहरुलाई एक हद सम्म सम्बोधन गर्ने सञ्चार संयोजक विपिन महर्जनले जानकारी दिए ।

    रेडियो कार्यक्रम टिच फर नेपालको संयुक्त सहकार्य ब्रिटिश काउन्सिल, मिटिङ पोइन्ट, माई इमोसन्स म्याटर्स, कथा एक्स्प्रेस, रेडियो अडियो र द रेकोर्ड हाउसको प्राविधिक सहयोगमा निर्माण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...