News Portal

  • रानीपोखरीको उद्घाटन कात्तिक ५ गते गरिने

    ८६० पटक

    काठमाडौं, ३ कार्तिक । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।

    राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुनेछ । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्‍न भएको छ । उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।

    भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो । सुरुमा काठमाडौं महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।

    भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनःनिर्माणको सुरुआत रानीपोखरीबाटै गरेकी थिइन् । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।

    पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । राजाले आफ्ना छोरा चक्रवर्तेन्द्रकै सम्झनामा यो पोखरी बनाएका हुन् । सुरुमा पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ ९विसं १७२५० मा सम्पन्‍न भएको थियो । नेसं ७९० (विसं १७२७÷इसं १६७०) मा शिलापत्र राखिएको थियो ।

    पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

    रानीपोखरीसँगै ऐतिहासिक दरबार हाइस्कूल अर्थात् भानु माध्यमिक विद्यालयको पनि उद्घाटन गर्न राष्ट्र प्रमुखलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ । भानु मावि चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सनले लिएको थियो । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ ।

    विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ देखि संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई खुला गरिएको हो ।

    गत भदौ २३ गते भानु मावि ९संस्कृत मावि०को साँचो भने हस्तान्तरण भइसकेको छ । भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको उक्त हाइस्कूलको पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो । रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...