News Portal

  • सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती मनाइँदै

    रासस
    ६७६ पटक

    काठमाडौं, २४ कार्तिक । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

    विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो। काठमाडौँको खानदानी परिवारमा जन्भिएका सिंहले १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

    राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो। विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे। केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

    प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे। नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए ।

    विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय भए ।

    नेता सिंहलाई विसं २०१७ पुस १ गतेको शाही कूपछि २०२५ सालसम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो। विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा गएका नेताहरुलाई २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो । विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको थियो ।

    तत्कालीन पञ्चायती सरकारबाट बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए। गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे। बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे। विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेका हुन् ।

    यस वर्ष कोरोना भाइरसको सङक्रमण फैलिएकाले गणेशमान जयन्तीका अवसरमा आज गणेशमान सिंह अध्ययन प्रतिष्ठानले उनको जन्मस्थान भएको क्षेत्र काठमाडौँ–८ मा अक्सिमिटरलगायत स्वास्थ्य सामग्री वितरणसँगै जनचेतनामूलक अभियान सुरु गर्ने अध्यक्ष नवीन्द्रराज जोशीले जानकारी दिए । कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले जुम प्रविधिबाट विभिन्न कार्यक्रम आयोजना गरी गणेशमान जयन्ती मनाउने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...