कपिलवस्तुमा आज बिहान बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ । श्रीमानको अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुको कोइली खोलाले आज बिहान एक दम्पतीलाई बगाउँदा बेपत्ता भएका थिए । वाणगंगा नगरपालिका ७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनालाई खोला तर्ने क्रममा बगाएको थियो ।
उनीहरूसँगै बगेका १३ वर्षीय छोरा निरज सुनारलाई स्थानीयबासीले उद्धार गरेका थिए । बेपत्ता राममायाको शव एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।