News Portal

  • नाै वर्षमा पुल बनेपछि निकुञ्जले भन्याे ‘प्रवेश निषेध’

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ मङ्सिर २०७९
    ४४० पटक
    भक्तपुर, १९ मङ्सिर २०७९

    चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ । नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन् । यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ । पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन ।

    नेपालकै भू–भाग हुँदै चितवनको वाल्मीकि आश्रम पुग्न यो पुल निर्माण गरिएको हो तर पुल हुँदै चितवन प्रवेश गर्न निषेध गरिएको छ । पुलको चितवनतर्फ जाली लगाएर प्रवेश निषेध गरिएको छ । सूचनामा लेखिएको छ, “चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्न सख्त मनाही छ । जङ्गली जनावरबाट बचौँ र बचाउने हामी सबैको साझा दायित्व हो ।”

    वाल्मीकि आश्रम प्रवेशका लागि बनाइएको पुलमा यसरी प्रवेश गर्न रोक लगाएपछि अहिले यो पुल घुम्ने र फोटो खिच्ने ठाउँ बनेको छ । अहिले दैनिक एक सयको हाराहारीमा मानिस घुम्नका लागि पुलसम्म पुग्ने गरेका छन् । पुल तर्न नपाउँदा निराश भएर फर्कनुपरेको स्थानीय नारायणप्रसाद उपाध्यायले बताए । “पुल जे प्रयोजनका लागि बनाइएको हो त्यसको काम नै भएन उनले भने “अहिले यो ठाउँ घुम्ने ठाउँ मात्रै बनेको छ ।” चाँडै पुल तर्ने वातावरण बनाइदिए यहाँ पर्यटनको विकास हुने भन्दै उनले नेपाल हुँदै प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम पुग्ने सबै नेपालीको धोको पूरा हुने बताए ।

    नेपालीलाई चितवनको माडी नगरपालिका–१ मा पर्ने आश्रम पुग्न अहिले भारतीय भूमिको प्रयोग गर्नुपर्छ । गण्डकबाध तरेर झण्डै आठ किलोमिटर भारतीय भूमि हुँदै आश्रम पुग्न सकिन्छ । नेपालीलाई सहजरुपमा प्रवेश गर्न पनि दिइँदैन । त्यसैले यो पुल चाँडै सञ्चालनमा आइदिए आश्रम पुग्न सहज हुने स्थानीय रामचन्द्र चालिसेकाे भनाइ छ । अहिले झोलुङ्गे पुलको मुखैमा पसल सञ्चालनमा छन् । यहाँ घुम्न आउनेले यहाँको व्यापार बढाएको चालिसेले जानकारी दिए । पुलमा आएर फोटो खिच्ने क्रम बढ्दो छ । भारतको विहार, उत्तर प्रदेशबाट मान्छे यहाँ आएर फोटो खिचाउने गरेका उनले बताए ।

    चितवन राष्ट्रिय निकुञ्जले व्यवस्थित बाटो र सुरक्षा पोष्ट नबनेकाले पुल सञ्चालनमा रोक लगाइएको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पुल बने पनि सुरक्षा पोष्ट नबनेकाले अहिले सञ्चालनमा कठिनाइ भएको जानकारी दिए । उनले सुरक्षाको दृष्टिकोणले निकुञ्जको कोर एरिया भएकाले सुरक्षा पोष्ट र पैदल रुट बनेपछि पुल सञ्चालन हुने जानकारी दिए । आचार्यले पैदलमार्ग निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निकुञ्जसँग समन्वय गरे चाँडै त्यो कामलाई अगाडि बढाउन सकिने बताए ।

    यो पुल निर्माण हुन झण्डै नौ वर्ष लाग्यो । निर्माण कम्पनीसँग ०७० असारमा सम्झौता भएको थियो । दुई वर्षमा काम सक्ने गरी सम्झौता भए पनि यो पुल गत साउनमा मात्रै निर्माण पूरा भएको हो । पुलको लागत रु छ करोड ६० लाख हो । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पुल निर्माणको सम्झौता गरेका कारण सुरुमा काम गर्न समस्या निम्त्यिो । चितवन निकुञ्ज विश्व सम्पदामा सूचीकृत रहेकाले युनेस्कोसँग सहमति लिनुपर्छ । पछि युनेस्कोलाई पत्रचार गरेर सबै प्रक्रिया पूरा भएपछि बल्ल निर्माणको काम अगाडि बढेको हो । यसका लागि पूर्वरक्षासचिव आत्माराम पाण्डेले निकै नै दौडधुप गरेका थिए । पहिले सम्झौता भएको निर्माण कम्पनीले काम नगरेपछि चितवनका तारा पौडेलले पुल निर्माणको जिम्मा लिएका थिए । रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...