News Portal

  • भरतपुरको केन्द्रीय बस टर्मिनलका दुई चार्जिङ स्टेशन सञ्चालनमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,३ पुस २०७९
    ५२२ पटक
     भक्तपुर,३ पुस २०७९

    भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले करिब रु ९० लाखको लागतमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिएका हुन् ।

    जिल्लाका तीन ठाउँमा निर्माण गरिएको चार्जिङ स्टेशन मध्ये मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम भने अन्तिम चरणमा पुगेको छ । इञ्जीनियर ज्ञवालीले दुईवटा स्टेशनमा एकै पटक छ वटासम्म गाडी चार्ज गर्न मिल्ने बताएका छन् । आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माण गरिएको इञ्जीनियर ज्ञवालीको भनाइ छ ।

    बसपार्कमा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेशन निर्माण गरिएको चार्जिङ स्टेशन निर्माणको जिम्मा पाएको दिगोका प्रोजेक्ट म्यानेजर शिव अधिकारीले जानकारी दिए । उनका अनुसार यहाँ साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्छ । नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ ।

    चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सक्नेछन् ।

    सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन । चार्जिङ स्टेशनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ । कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । बिहान ५ देखि साँझ ५ बजेसम्म आठ रुपैयाँ २८ पैसा प्रतियुनिट, बेलुका ५ देखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा प्रतियुनिट र राति ११ देखि बिहान ५ बजेसम्म नौ रुपैयाँ छ पैसा चार्ज शुल्क तोकिएको अधिकारीले जानकारी दिए ।

    बसपार्कमा सञ्चालनमा आएका चार्जिङ स्टेशनमा दैनिक चारदेखि पाँचवटा सवारीसाधनले चार्जिङ गर्ने गरेको बसपार्क सञ्चालनको जिम्मा लिएको आरजन कन्स्ट्रक्शन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक असिम भट्टराईले जानकारी दिए । उनले धेरैलाई चार्जिङ स्टेशनका विषयमा जानकारी नभएको भन्दै क्रमशः सवारीसाधनको चाप बढ्दै जाने बताए ।

    प्राधिकरणले देशभर ५१ चार्जिङ स्टेशन निर्माणको लक्ष्य राखेर काम गरिरहेको छ । जसमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३२ वटा जडान सम्पन्न भइसकेका छन् । बाँकी चार्जिङ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको प्रधिकरणले जानकारी दिएको छ । रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...