यस वर्षको जलपक्षी गणनाका क्रममा (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पंक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए ।
“गत वर्षको पंक्षी गणनामा ३८ प्रजातिका पंक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पंक्षी भेटिए”, उनले भने । चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको ‘राज सुड सुडिया’ नामको पंक्षी पनि अहिले भेटिएको चौधरीले बताए ।
गतवर्ष नदेखिएका विभिन्न चार प्रजातिका चरा यसवर्ष देखापरेको संयोजक चौधरीले बताएका छन् । “यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्”, उनले भने, “चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष यी प्रजातिका चरा गणना भएका थिएनन् ।”
नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातीका चरा पाइने गरेका छन् । ती मध्ये नारायणी नदी क्षेत्रमा यसवर्ष उक्त प्रजाती फेलापरेको जनाइएको छ । नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो । गत वर्षको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक अनुमान गरिएको छ ।
“यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ”, चौधरीले भने, “प्रत्येक वर्ष नेपालमा क्रमिक रुपमा चराको सङ्ख्या घटिरहेको छ ।” साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएको भनाइ छ ।
“कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्”, “चौधरीले थपे, “यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन् ।” निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको चौधरीले बताए ।
मनोहरा नदीको तटीय भाग र आसपास ८४ प्रजातिका चरा भेटिए
मनोहरा नदीको तटीय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन् । वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय श्रेष्ठ नेतृत्वको टोलीले मङ्गलबार गरेको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र स्थानीय गरी ८४ प्रजातिका चरा भेटिएका हुन् ।
मिड विन्टर वाटरवर्ड काउन्ट २०२३ अन्तर्गत गरिएको चरा गणनामा विगत वर्षको तुलनामा कम सङ्ख्यामा चरा भेटिएको फोटोग्राफर श्रेष्ठले जनाए । बढ्दो सहरीकरण र नदी तटीय क्षेत्रमा मानवीय अतिक्रमण, सहरीकरणलगायत कारणले पछिल्लो समय चराहरुको सङ्ख्यामा उल्लेख्य कमी आइरहेको उनको भनाइ छ ।
फोटोग्राफर श्रेष्ठकाअनुसार खोला आसपास क्षेत्रमा बढ्दो निर्माण, डोजर र ड्रिल आदिको प्रयोगले चराचुरुङ्गीको बासस्थान विनाश हुँदै गइरहेको छ ।
जल पक्षीहरुको सङ्ख्यामा कमी आउनाको अर्को कारक खोलाको पानी प्रदूषित बन्नु पनि रहेको छ । खोलामा जथाभावी फोहर फ्याँक्ने, ढल मिसाउने, विभिन्न उद्योग कलकारखाना आदिबाट फिल्टर नगरी वा प्रशोधन नगरी नदीमा सिधै पानी विसर्जन गर्ने गरिएकाले पनि पानीमा निर्भर रहने माछा, भ्यागुतो र किराहरूको अभाव हुन गई त्यस्मा निर्भर रहने चराहरुको संख्यामा समेत कमी हुन गएको चरा गणनामा संलग्न अर्का फोटोग्राफर चन्द्र चक्रधरले बताए । “नदी प्रदूषणले गर्दा प्राकृतिक प्रणालीमा असर परेको देखिन्छ जस्का कारण खाद्य चक्रमा समेत असर परी चराहरुको सङ्ख्यामा कमी आएको छ,” उनले थपे ।
मनोहरा क्षेत्रमा अर्को ठूलो समस्याका रुपमा रहेको बालुवा चोरी निकासीले गर्दा चराहरूको सङ्ख्यामा कमी आएको टोलीको निष्कर्ष छ । बालुवा तस्करीका कारण खोला आसपासमा मानवीय गतिविधि बढ्दै गएको, चराहरुको प्रजनन गर्ने सुरक्षित स्थान अभाव हुँदै गएको अर्का टोली सदस्य तथा चराप्रेमी सुरेश खम्बु श्रेष्ठले बताए ।
मनोहरा नदी र मध्यपुर थिमि–८ र ९ मा रहेको मनोहरा मिनी कोसीटप्पुमा साइप्रस र युरोपका विभिन्न देशहरुबाट जाडो छल्नका लागि विभिन्न प्रजातिका आगन्तुक चराहरु आउने गर्दछन् । मनोहरा नदी आसपास चरा गणनामा श्रेष्ठको नेतृत्वमा फोटोग्राफरहरु चन्द्र चक्रधर, विनय श्रेष्ठ, बर्ड वाचर राम श्रेष्ठ, विद्यार्थी आयुशा पौडेल, चराप्रेमीहरु सुरेश खम्बु, विक्की अदुवा र शैलेन्द्र भासिक सहभागी थिए ।