News Portal

  • भत्ता बुझ्न हिडेकी वृद्धाको बाटैमा मृत्यु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ माघ २०७९
    २६७ पटक
    भक्तपुर, २६ माघ २०७९

    बझांगमा ‘सामाजिक सुरक्षा भत्ता’ बुझन गएका एक वृद्धाको मृत्यु भएको छ । गाउँपालिकामा अवस्थित कुमारी बैंक पुगेकी छबिसपाथिभेरा गाउँपालिका–१ की ७२ वर्षीया एकल ज्येष्ठ नागरिक सीता गिरीको ‘सामाजिक सुरक्षा भत्ता’ बुझेर घर फर्किनेक्रममा बीचबाटैमा मृत्यु भएको हो ।

    श्रीमानको निधन भएको लामो समय भइसक्यो । आफन्तसमेत घरमा नभएका र केही समयदेखि उनी बिरामी रहेको सेती क्याम्पस बगडगाउँका लेक्चर लक्ष्मण गिरीले बताए । ‘दमको बिरामी हुनुहुन्थ्यो, नजिकका आफन्तले सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यवस्था भएको भए सायद उहाँको मृत्यु हुँदैनथ्यो,’ उनी भन्छन्, ‘बुहारी सन्तोला गिरी उनको उपचारका लागि केही दिनअघि मात्रै घर पुगेकी थिइन् ।’

    यहाँका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न झन्डै ५ किलोमिटर दूरीमा रहेको कुमारी बैंक धाउनुपर्ने बाध्यता छ । अपांगता भएका, बेसहारा, हिँडडुल गर्नसमेत नसक्नेका लागि घरघरमै भत्ता व्यवस्था गर्नुपर्ने गाउँलेको आग्रह छ ।

    भत्ताका लागि लामो समय बैंकमा लाइन बसेर ‘कहिलेकाहीँ इन्टरनेटले काम गरेन’ भनेर रित्तै फर्किनुपर्ने बाध्यता छ । अपांगता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिकले यी समस्याबाट अनावश्यक सास्ती खेपिरहेका छन् ।

    सहजता छलफल गरिने
    छबिसपाथिभेरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गगनबहादुर ऐडी ‘महिलाको मृत्यु के कति कारण भएको हो ?’ भन्ने जानकारी नभएको बताउँछन् । उनले भने, ‘सामाजिक सुरक्षा भत्ता ‘अझै सहज तरिकाले कसरी उपलब्ध गर्न सकिन्छ ? भन्ने छलफल गरिनेछ ।’

    वडा १ का अध्यक्ष तथा छबिसपाथिभेरा गाउँपालिका प्रवक्ता करनजंगबहादुर सिंहले गिरीको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किने समय गाउँपालिकानजिकै मृत्यु भएको सुनाए ।

    ‘सामाजिक सुरक्षा भत्ता लिन हिँडडुल गर्न नसक्ने अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि इच्छाइएको व्यक्तिले बुझ्न सक्ने व्यवस्था गाउँपालिकाले गरेको छ ।

    तर, सीताको सन्दर्भमा आफन्त कोही घरमा पनि नभएकाले भत्ता बुझ्न इच्छाइएको व्यक्तिको परिचयपत्र नबनेकाले उनी स्वयं जानुपरेको र दुखद घटना घटेको वडा १ अध्यक्ष सिंह बताउँछन् । ‘घरमा कोही पनि नभएका व्यक्तिका हकमा पालिकाले फेरि अर्को निर्णय गरेर सहज तरिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ,’ उनले भने ।

    यस्ता समस्या छबिसपाथिभेरा गाउँपालिकामा मात्रै नभएर १२ वटै पालिकामा छन् । यहाँका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिलाका यस्तै गुनासा सुनाउँछन् ।

    ‘सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा निकै समस्या खेप्नुपर्छ, स्थानीय सरकार बनेपछि त झन् सहज होला भन्ने सोचेकी थिएँ तर झनै समस्या पो भयो,’ स्थानीय ज्येष्ठ नागरिक शिवजला भण्डारी भन्छिन्, ‘पहिला घरघरमा आएर भत्ता बुझ्ने गरेका थियौं, अहिले बैंकमा खाता खोलेर बैंकमै पुगेर ल्याउनुपर्छ । बाटो पनि निकै अप्ठ्यारो छ । उमेर ढल्केका हामी हिँडडुल गर्न पनि सक्दैनौं ।’

    सकी नसकी सामाजिक सुरक्षा भत्ता बुझ्न गएर पनि ‘कतिबेला के हुने हो ? जानकारीसम्म नहुने’ भण्डारीको गुनासो छ । ज्येष्ठ नागरिकलाई सास्ती दिनुभन्दा घरघरमै वा आफन्तका हातमा सहज तरिकाले भत्ता उपलब्ध गराउनुपर्ने उनको माग छ । राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...