News Portal

  • राधाकृष्णले जुराएको भेटमा प्रचण्ड र बाबुरामको यस्तो उद्घोष

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ भदौ २०८१
    ८२ पटक
    भक्तपुर, २७ भदौ २०८१

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दश वर्षे जनयुद्धको महत्वमाथि युगयुगसम्म चर्चा भइरहने बताएका छन् । लाखौं जनता सहभागी भएर लडिएको जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएको उनीहरुको भनाइ छ ।

    भोलिबाट प्रसारण हुन थालेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि पूर्वप्रधानमन्त्रीद्वयले यस्तो बताएका हुन् ।

    पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नगरेका बताए ।

    ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौं लाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छ भने त्यो माओवादी जनयुद्ध नै हो’– उनले भने– ‘लाखौं जनताले यसमा भाग मात्र लिएनन्, वर्षौदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको छ, यति ठूलो आन्दोलन ल्याटिन अमेरिकी मुलुक वा यूरोपतिर भएको हुन्थ्यो भने विश्वब्यापी परिवर्तनको घटनाको रुपमा दर्ज भइसक्ने थियो।’

    कतिपय शक्तिहरुले लाखौं जनताको सहभागितामा भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताए । ‘कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौं भनेको पनि सुन्छु’– उनले प्रश्न गरे, ‘हामी मूलधारमा आयौं कि हामीले मूलधार सिर्जना गर्यौं र हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौं। अन्य दलहरु हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएकाले माओवादीलाई मूलधारमा ल्याएको भन्ने तर्क सही होइन ।’

    इतिहासको यथार्थ चित्रणमा सबैले जोड दिनुपर्ने उल्लेख गर्दै उनले टेलिफिल्म ‘राधाकृष्ण’ले तत्कालीन सत्ता र बिद्रोहीमध्ये कुनै एक पक्षमा नढल्केर इतिहासप्रति न्याय गर्ने र लाखौं जनताले परिवर्तनका लागि गरेको बलिदानीको गाथालाई नयाँ पुस्तासम्म जस्ताका तस्तै पुर्याउने विश्वास व्यक्त गरे ।

    पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताको सबैभन्दा ठूलो परिघटना भएको औल्याउँदै भने– ‘सुगौली सन्धिअघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म महिला बालबालिकालगायत सबै नेपालीले आन्दोलनमा भाग लिएका थिए, त्यसयता लाखौं जनता कुनै अभियानमा सहभागी भएका थिए भने त्यो जनयुद्ध नै हो । यो यस्तो परिघटना हो, जहाँ देशैभरि सबै तह तप्काका जनताले भाग लिए ।’

    जनयुद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै डा। भट्टराईले जनयुद्धका क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताए ।

    ‘बच्चा जन्मदा सालनालसहित जन्मन्छ, पानीले पखालेर मात्रै सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुशीयाली हो’– उनले भने– ‘माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुशी नै जनयुद्धको मूल पक्ष हो ।’

    कार्यक्रममा हास्यकलाकार जितु नेपाललगायतले राधाकृष्णलाई शुभकामना दिएका थिए ।टेलिफिल्म राधाकृष्णका निर्माता र निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छीध्रुवे हुन् ।

    प्रतिकृया दिनुहोस्

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...

    समाजवादमा जानु अबको सुस्पष्ट बाटो : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै...