News Portal

  • निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ पुस २०८१
    ४२७ पटक
    भक्तपुर, २३ पुस २०८१

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । आफूले व्यक्तिगत रुपमै ५० हजार रुपैयाँ सहयोग गर्ने र अरुलाई पनि सहयोगका लागि अपिल गर्ने उनले प्रतिवद्धता प्रकट गरेका हुन् ।

    शाखा स्थापना दिवसको अवसरमा मंगलवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले उद्घाटन भएर पनि वर्षौदेखि पत्रकार महासंघको भवन बन्न नसक्दा आफूलाई समेत दुख लागेको बताए । महासंघ जिल्ला शाखा स्थापनामा जोडिएको नाताले महासंघको माया लाग्ने गरेको उनको भनाइ छ ।

    महासंघ सबै पत्रकारको साझा केन्द्र हुनुपर्नेमा जोड दिंदै उनले नेतृत्व चयन संगै प्रतिस्पर्धा बिर्सिएर एकतावद्ध भै अघि बढ्न सुझाव दिए । ”अधिवेशनबाट कार्यसमिति चयन लोकतान्त्रिक अभ्यास हो, निर्वाचनको विषय विर्सिएर अघि बढ्नुपर्छ ।” उनले भने ।

    कार्यक्रममा सांसद थापाले नकारात्मक कोणबाट मात्र कन्टेन्ट नदिन आग्रह गर्दै सकारात्मक समाचार बनाउन पत्रकारले कन्जुस्याई गर्दा देशमा असन्तुष्टि बढेको गुनासो गरे । उनले विदेश फोटोमा देखेको र क्षणिक भ्रमणमा हेरेको जस्तो राम्रो नभएको भन्दै त्यो भन्दा नेपाल धेरै राम्रो भएपनि समाचारहरुले त्यसलाई उजागर गर्न नसकेका जिकिर गरे । पत्रकारले निराशाको बदला आशाको संचार गर्नसक्नुपर्ने उनको सुझाव छ ।

    कार्यक्रममा राजनीतिक टिप्पणी गर्दै सांसद थापाले आफ्नो पालामा बिकास भएन भन्नेहरुलाई टेप लिएर सडक नाप्न चुनौती दिए । जनप्रतिनिधिको व्यक्तिगत जीवन नै नहुने जस्तो भएको प्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्य प्रतिकुलताका बाबजुद पनि आफू हरक्षण जनताको काममै व्यस्त रहेको बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोका, शाखाका अग्रज पत्रकार एवं देशान्तर साप्ताहिकका सम्पादक कविर राणा, काठमाडौं अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की र जिल्लाका पेशागत संघसंगठनका प्रतिनिधिले शुभकामना मन्तब्य राखेका थिए । मन्तब्य राख्नेहरुमा प्रेस युनियनबाट अध्यक्ष रोशन सिल्पकार, प्रेस सेन्टरबाट अध्यक्ष मदन ढुंगाना, प्रेस चौतारीका उपाध्यक्ष ऋषिकेश श्रेष्ठ, समाजवादी प्रेस संगठनबाट अध्यक्ष दिनेश कार्की, जनपत्रकार संगठनबाट पुष्पाकुमारी साउद रहेका थिए । उनीहरुले श्रमजीवी पत्रकारको हित, प्रेस स्वतन्त्रता र शाखाको भवन निर्माणबारे चासो राखे ।

    सो अवसरमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक, शाखाका सल्लाहकारद्वय जगतकृष्ण प्रजापति र पुस्करराज बुढाथोकी त्यसैगरी पूर्व अध्यक्षहरु नारायण सुन्दर किलम्बू र अमर भुजू लगायतको समेत आतिथ्यता रहेको थियो । शाखाका अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दिपक ढुंगानाले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष हेमराज ढकालले स्वागत मन्तब्य राखेका थिए ।

    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा २८ वर्ष अघि स्थापना भएको थियो ।

    पत्रकार रमेश खड्का संस्थापक अध्यक्ष भएर स्थापना भएको भक्तपुर शाखा त्यसयता बिकल श्रेष्ठ, नारायणसुन्दर किलम्बु, अमर भुजू, पुष्कर बुढाथोकी र जगत प्रजापति हुँदै हाल सुन्दर सिल्पकारको नेतृत्वमा रहेको छ ।

    विगतमा स्थापना दिवसका दिन शाखाले पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गर्ने गरेको भएपनि यसपटक नयाँ नेतृत्व पदस्थापन भएको एक साता मात्रै भएको कारण सो कार्य गर्न भने नसकिएको सचिव दिपक ढुङ्गानाले जानकारी दिएका छन् । कार्यक्रममा आउने समय दिएर पनि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा र नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा भने अनुपस्थित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...