News Portal

  • भक्तपुर नगरपालिकाले क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुका ११ आधारहरु

    भक्तपुर, ६ भदौ
    १९७८ पटक
    भक्तपुर, ६ भदौ

    क्तपुर नगरपालिकाद्वारा प्रदान गरिएको जग्गा र आर्थिक सहयोग तथा अन्य संस्थाहरु समेतको सहयोगमा सञ्चालन भइरहेको भक्तपुर क्यान्सर केयर सेन्टर (हाल भक्तपुर क्यान्सर अस्पताल)मा देशभरिका क्यान्सर रोगका बिरामीहरुको गुणस्तरीय उपचार भइरहेकोमा यो अस्पताल व्यवस्थापन समितिका तत्कालीन पदाधिकारीहरु आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न भएको सञ्चार माध्यमहरुमा समाचार प्रकाशित भएको सबैमा अवगत नै छ । भ्रष्टाचारविरुद्ध संघर्षरत अस्पतालका चिकित्सक एवं कर्मचारीहरु, स्थानीय जनता र भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको सञ्चालन एवं व्यवस्थापनको जिम्मेवारी भक्तपुर नगरपालिकाले लिनको लागि लिखित अनुरोध पत्र पेश भएको अवस्थामा यसबारे नगरपालिकाले पदाधिकारीहरुलाई पटक—पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

    क्यान्सरजस्तो प्राणघातक रोगको विशिष्ट उपचार हुने संवेदनशील अस्पतालमा व्यवस्थापन समितिका तत्कालीन पदाधिकारीहरुको गैरजिम्मेवारीपन र भ्रष्टाचार कसैको लागि स्वीकार्य हुन सक्दैन । अतः स्थानीय जनप्रतिनिधिको नाताले आफ्नै क्षेत्रभित्रको अस्पतालमा देखिएको समस्यालाई तत्काल समाधान गरी थप व्यवस्थित रुपमा सञ्चालन गर्न तथा बिरामीहरुको स्तरीय उपचार प्रदान गर्ने कार्यमा कुनै वाधा व्यवधान आउन नदिन अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी एवं स्थानीय जनताको न्यायोचित आग्रह र आवाजलाई कदर गर्दै यस नगरपालिकाको मिति २०७६ साउन ३० गते बसेको कार्यपालिका बैठकले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरेको हो । नगर कार्यपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्नुका आधारहरु निम्नानुसार छन्  :

    १) भक्तपुर नगरपालिकाले मिति २०५८।१०।२४ गते बसेको नगरपालिकाको बोर्ड बैठकको निर्णयअनुसार क्यान्सर पीडित जनताको लागि सस्तो र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित क्यान्सर केयर सेन्टर (हाल भक्तपुर क्यान्सर अस्पताल) को नाममा साविक भ.न.पा.वडा नं. १७ (ङ) हाल भ.न.पा.वडा नं. १ कि.नं. २२६ क्षेत्रफल ५–४–०–० जग्गा र रु. २० लाख रुपैयाँ प्रदान गरेको थियो । नपाले प्रदान गरेको जग्गा कुनै व्यक्ति वा संघ संस्थालाई भाडामा दिन हक छाड्न वा हस्तान्तरण गर्न वा बिक्री समेत गर्न नपाउने शर्त उल्लेख भएकोमा सो शर्त विपरीत उक्त जग्गा गैरसरकारी संस्था नेपाल अर्बुद रोग निवारण संस्थाले अनधिकृत रुपले उपभोग गरी आएको देखिएको छ । २०५६ सालदेखि भक्तपुर नगरपालिकाका प्रमुख अस्पताल व्यवस्थापन समितिको उपाध्यक्ष रही आएकोमा विना सूचना हटाइएको छ ।

    २) भक्तपुर नगरपालिकाभित्र घर, टहरा वा कुनै नयाँ संरचना निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने कानुनी व्यवस्था हुँदा हुँदै नेपाल अर्बुद रोग निवारण संस्थाले कानुनविपरीत संरचना निर्माण गरेको सम्बन्धमा नगरपालिकाले कारबाही गरिरहेको छ ।

    ३) भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र कुनै काम गर्न वा सहयोग गर्न चाहने गैरसरकारी वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु अनिवार्य रुपमा नगरपालिकामा दर्ता गरी स्वीकृति लिनुपर्ने व्यवस्था छ । यसबारे पटक–पटक सूचना जारी गर्दा समेत नेपाल अर्बुद रोग निवारण संस्था भनपामा दर्ता गर्न आएको देखिँदैन ।

    ४) संस्थाको भवन निर्माण ठेक्का र सामान खरिदमा भ्रष्टाचार भएको भनी पटक–पटक सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएका छन् ।

    ५) नगरवासी जनताले समेत उक्त अस्पतालमा भइरहेको बेथितिबारे नगरपालिकाले ध्यान दिनुपर्ने आग्रहसहितको निवेदन मिति २०७६ साउन २९ गते नगरपालिकामा दर्ता गरेका थिए ।

    ६) अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले समेत उक्त अस्पतालको ब्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने आग्रहसहितको निवेदन मिति २०७६ साउन ३० गते औपचारिक पत्र दर्ता गरेका थिए ।

    ७) अस्पतालमा कार्यरत सफाइ मजदुरहरुको विषयमा अस्पतालको तत्कालीन व्यवस्थापन समितिले भरोसा सर्भिसेस् प्रा.लि. महाराजगञ्ज काठमाडौंसँग सम्झौता गरिएकोमा आर्थिक अनियमितता भएको भनी समाचारहरु प्रकाशित भएका छन् ।

    ८) अस्पतालको हाताभित्र सञ्चालित ल्याब सेवा, फार्मेसी सेवा र सिटी स्क्यान सेवामा खरिद ऐनअनुसार आवश्यक प्रक्रिया पूरा नगरी निजी क्षेत्रलाई मनोमानी ढंगबाट जिम्मेवारी दिएको सम्बन्धमा पटक—पटक समाचारहरु प्रकाशित भए ।

    ९) अस्पतालमा हाल कार्यरत डाक्टर, नर्स र अन्य सेवाका कर्मचारीहरु हाललाई नियमपूर्वक अस्पतालको तर्फबाट नभई नेपाल अर्बुद रोग निवारण संस्थाको तर्फबाट नियुक्ति गरिएको भन्ने सम्बन्धमा छानबिन पछि स्पष्ट हुने नै छ ।

    १०) अस्पताल व्यवस्थापन समितिका तत्कालीन पदाधिकारीहरु विभिन्न बहानामा अस्पतालको नाउँमा विदेश भ्रमण गरी अस्पतालको रकम भ्रष्टाचार गरी अस्पतालको प्रतिष्ठामा आँच पु¥याइरहेको गुनासो सम्बन्धित पक्षबाट आएको छ । व्यवस्थापन समितिले छानबिन समिति गठन गरिसकेको हुँदा छानबिन समितिले सत्यतथ्य कुरा सार्वजनिक गर्ने नै छ ।

    ११) तत्काल नगरपालिकाले कुनै कदम नचालेको अवस्थामा अप्रिय घटना हुनसक्ने सम्भावना भएकोले नगर कार्यपालिकाको बैठकले नयाँ व्यवस्थापन समिति गठन गरेको हो । नयाँ व्यवस्थापन समिति र तत्कालीन अर्बुद रोग निवारण संस्थाका पदाधिकारीहरुबीच सकारात्मक छलफल भइरहेको छ ।

    आर्थिक अवस्था कमजोर भएका विरामीहरुले समेत कम शुल्कमा सहज ढंगबाट क्यान्सर रोगको उपचार पाऊन् भन्ने नगरपालिकाको चाहना हो । विरामीको उपचार सेवामा सहजता ल्याउने कार्यमा नयाँ व्यवस्थापन समितिले नीतिगत सहयोग गर्छ । नगरपालिकाले गठन गरेको समितिमा समाजका विभिन्न पक्षका विज्ञहरुलाई समावेश गरेसँगै अस्पताल प्रशासन, चिकित्सक एवं कर्मचारीहरुमा उत्साह थपिएको छ । बिरामीहरुको उपचार सेवामा प्रभावकारिता आएको छ ।

    अस्पताल व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरुबाट अस्पताल सञ्चालन, डाक्टर तथा कर्मचारी नियुक्ति, ल्याब, फार्मेसी, सीटी स्क्यान सेवालगायतमा अपारदर्शी ढंगबाट निजी क्षेत्रस“ग सम्झौता, भवन निर्माण कार्यको ठेक्कामा अनियमितता भएकोलगायतका विषयमा सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न एक छानविन समिति गठन गरी कार्य थालनी समेत भएको जानकारी गराउँदछु ।

    भक्तपुर क्यान्सर अस्पताल निर्माण एवं सञ्चालनका लागि भक्तपुर नगरपालिका, विभिन्न सरकारी निकाय र नेपाल क्यान्सर रोग निवारण संस्था, रोटरी क्लब, स्थानीय समाजसेवीलगायत सम्पूर्णको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दछु । साथै आगामी दिनमा अस्पताललाई जनताप्रति उत्तरदायी, पारदर्शी तथा देशकै उत्कृष्ट नमूना अस्पतालको रुपमा स्थापित गर्न सबैको रचनात्मक साथ र समर्थन रहने कुरामा विश्वास व्यक्त गर्दछु ।

    (शुक्रवार भक्तपुर क्यान्सर अस्पतालबारे प्रष्ट पार्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको प्रेस वक्तव्यको पूर्ण पाठ)

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...