News Portal

  • निर्मातासमेतलाई नाम थाहा नभएको साधन

    उत्तरकुमार पराजुलीभक्तपुर, २१ पुस
    १६६७ पटक
    भक्तपुर, २१ पुस

    त्यो भेला हो कि ? मेला हो ? धेरै मनमा यो सन्देह रहेछ । मेलामा केही कुरा बेचबिखन किनबेच नहुने ! के हो यस्तो पनि मेला ? कसैले भन्ने गर्थे । स्वास्थ्य शिक्षा दिने खालको एउटा कक्ष, पोषण शिक्षा दिने खालको अर्को कक्ष अरू सबै बालबालिका लागि पढाउँदा काम लाग्ने सामग्री कक्ष ।

    ठूलाबडा मान्छे आए । सामग्री प्रदर्शन कक्षभन्दा करिब ५० मिटर टाढा दक्षिणतिर टाँगिएको पालमुनि सजाइएका कुर्चीमा बसे । अझ ठूलाबडा मान्छे आए । पालभन्दा करिब १० मिटरको दूरीमा पश्चिमतिर सजाइएको मञ्चतिर लागे । मञ्चको ध्वनि विस्तार यन्त्र ( माइक ) ठास्ठास् ठुस्ठुस् पार्न लागे ।

    आशन ग्रहणको लम्बेतान कार्यक्रम सुरु भयो । अभ्यागत (बोलाएर, निम्तो दिएर डाकेर आउने) भन्ने हाम्रो चलनै छैन । डाकेर आउनेलाई पनि अतिथि नै भन्ने चलन छ । पुरानै चलनअनुसार यहाँ पनि प्रमुख अतिथि, अतिथिको आशन ग्रहण गर्ने काम सुरु भयो । कतिले त आयोजकलाई पनि अतिथिको कोटीमा आशन ग्रहण गराए भनी खिस्स हाँस्दे कुर्चीमा बस्थे ।

    मैले ठानेका अतिथि ( साना बालबालिका जसलाई कसैले बोलाएको थिएन ) भने मञ्चतिरभन्दा प्रदर्शनी कक्षतिर रमाइरहेका थिए । वक्ताले संविधानका शिक्षाका कुरा गरे पनि, बाल अधिकारका कुरा गरे पनि मेरा अतिथिका कानमा बतास लाग्दैनथ्यो ।

    त्यो मिथिला क्षेत्र, राजा जनकले ज्ञानको ज्योति बालेको क्षेत्र, हलोको आविष्कार भएको क्षेत्र, याज्ञवल्क्य र गार्गीको शास्त्रार्थ भएको क्षेत्र, अष्टावक्रको शास्त्रार्थको विशेष चर्चा भएको क्षेत्र भनेर मञ्चमा घाँटी सुकेञ्जेल कराउँदा पनि मेरा अतिथि प्रदर्शन कक्षका सामग्री हेर्दै भुलिरहे ।

    ‘मञ्चमा पूर्वको मेची नि हाम्रै हो, पश्चिमको काली नि हामै्र हो’ बोलको गीतको प्रारम्भिक धुन मात्रै के बजेथ्यो हुरुरुर्र मञ्चनिर आएर घेरिए, मेरा अतिथि । नडाकिकन हार्रहुर्र जतापनि जाने वास्तविक अतिथिहरू । पूर्वको माया पश्चिमलाई, पश्चिमको माया पूर्वलाई जस्ता बोलका गीतले उनीहरूलाई निकै उत्साहित बनाएको देखिन्थ्यो ।

    अहङ्कारको जन्म कसरी हुन्छ ? भन्ने सन्देह निवारणका लागि शुकदेवले आफ्ना बुबा व्याससित सोध्दा बुबाले दिएको जवाफमा चित्त नबुझेर थप जानकारीका लागि राजा जनकसित आएका थिए, शुकदेव । राजा जनकको कार्य व्यस्तताले सो सन्देहको जवाफ पाउन शुकदेवले २ हप्ता पर्खेका थिए ।

    हाम्रा बाल अतिथि पनि शुकदेव जस्तै धैर्य भएर ज्ञान आर्जन गर्ने ध्यानमा छन् । कहिले सामग्री कक्षतिर दर्गुछन् र हाम्रो विद्यालयमा पनि यस्तै खेलौना, यस्तै रमाइला सामग्री भए हुन्थ्यो भनी मनमनै मीठो कल्पनामा डुब्छन् । कहिले मञ्चतिर गीत बज्छ र दौड्दै आउँछन् र हाम्रा विद्यालयमा पनि यस्तै भैदिए कति रमाइलो हुँदो हो भन्दै नाच नसकियुञ्जेल ठिङ्ग उभिएरै सुन्छन् ।

    मञ्चमा आशन ग्रहण गर्ने अतिथि ( अभ्यागत ) आशन ग्रहणको मर्यादा क्रम नमिलेको भनी ठुस्स परेर कुरा काट्दै गर्दा हाम्रा वास्तविक अतिथिलाई कसैले आशन ग्रहण गराएन र पनि खुसी नै थिए । शायद मेरा अतिथिले सोच्दा हुन् हाम्रा ठूलाबडा कति यान्त्रिक छन् । कसैले बस् भने मात्र बस्छन्, उठ् भने मात्र उठ्छन् । तर हामी कति प्राकृत छौँ । आफ्नो इच्छाले कहिले हुर्र यता आउँछौँ कहिले हुर्र उता जान्छौँ । मेरा अतिथिलाई भेला होस् कि मेला यसको भेद खुट्याउन चासो पनि थिएन । अर्थ गर्ने खाँचो पनि थिएन ।

    ती मेरा बाल अतिथि स्थानीय नै थिए । शनिबार भएकाले साँझ गएर विद्यालयको गृहकार्य गर्नु थिएन उनीहरूलाई । उनीहरूलाई न कसैले मिठाई बाँड्यो, न कसैले चियापान गरायो । र पनि उनीहरूमा कुनै आशाभाव थिएन, निराशाभाव थिएन । मानौँ आफ्ना घरका बुबा व्यासको जवाफमा उति सन्तोष नलागेर ज्ञानको खोजीमा आएका शुकदेवहरू थिए । कहिले यो प्रदर्शनी कक्षमा जान्थे । कहिले उः प्रदर्शनी कक्षमा जान्थे ।

    मञ्चको कार्यक्रम सकिएसँगै म पनि प्रदर्शनी कक्षतिर लागेँ । कहीँ कागजका हल्का भकुण्डा थिए । कहीँ हल्का किसिमका घरेलु रिङ बनाएका थिए । मैदामा भिन्न भिन्न रङ मिलाएर मुछेर तेल लगाउँदा त्यसमा आउने चमक र छुँदा छाम्दखाको नरमपनले बालबालिकालाई निकै लोभ्याएको थियो । नरमपनले आफूले चाहेको आकारमा ढाल्न सकिने, चिल्लोले गर्दा हातमा पीठो नटाँसिने हुँदा बालबालिकाका लागि हस्तकला अभ्यास गर्न निकै उत्तम देखिएको थियो ।

    एकातिर बन्द एकातिर खुला बाँसका ढुङ्ग्रामा काँटी किला ठोकेर सानासाना ढुङ्गाका टुक्रा राखेर तलमाथि गर्दा छिन्द्रिङ छिन्द्रिङ गर्दै निस्कने मीठो आवाजमा बालबालिका खूब रमाएका थिए । तर त्यो साधनको नाम भने निर्मातासमेतलाई थाहा थिएन । त्यसको नाम उसकै कामअनुसार राखियो छिनछिने ।

    समतल मिलेको, पातलो एक एक हात लम्वाइ र चौडाइ भएको काठमा एक अङ्गुलको वरिपरि बिट ठोकेर बनाएको साधनमा सफा बालुवा राखेर अक्षर वा विभिन्न आकृति बनाउने मेट्ने गर्न सजिलो हुने तरिका सिकाउने गरिएको थियो । यो पनि बालबालिकाले निकै रमाइलो गरी हेरेका र प्रयोग गरेका थिए । सिकाइमा लागि यो साधन निकै उपकारी लागेको थियो । यसको पनि नामकरण भएको थिएन । त्यो आधुनिक धुलौटो थियो । एक जना पाका व्यक्तिले भने धुलौटो अर्कै हुने भन्दै सफा माटाको धूलोलाई यस्तै आकारको तर बिट नभएको पाटीमा राखेर धूलोलाई समतल मिलाएर झिँजाले, चोर औँलाले लेखिन्थ्यो भन्नुभयो ।

    त्यो बेला त्यो धूलो हातमा, कपडामा कत्तिको लाग्थ्यो नि ? भन्ने मेरो प्रश्नको जवाफमा उहाँले भन्नुभयो — त्यो त के कुरा गरौँ ? धुलिरम्मै ( धुलाम्मे ) भइन्थ्यो ।

    तर यसमा जति काम गर्नुस् न बालुवा पोखिन्छ, न हातमा केही फोहर लाग्छ ? अनि हँसिलो अनुहारले स्विकृतिको मन्टो हल्लाउँदै भन्नुभयो— हो हो, त्यो धूलौटोभन्दा त यै बलौटो जाती रहेछ । यसरी त्यो आधुनिक धूलोटौको नाम बलौटो रह्यो ।

    मैदामा विभिन्न रङ छुट्टा छुट्टै मिसाएर सुख्खा रोटी हाल्ने जत्तिकै गिलो हुने गरी मुछ्ने र केहीबेर राम्ररी भिजेपछि त्यो पीठोमा तेल लगाउँदा खूब राम्रो चमक आउनेरहेछ । अनि विभिन्न रङ्गका पीठोका डल्ला आपसमा मिसाउँदा पनि तेलले गर्दा आपसमा मिसिने नटासिने हुनाले रङ्गीबिरङ्गी सामग्री बनाउन निकै्र राम्रो हुनेरहेछ । बालबालिकालाई नरम वस्तु चलाउन र चाहेको आकार बनाउन सजिलो भएकाले पनि हुन सक्छ यो मैदाका रङ्गी बिरङ्गी डल्ला चलाउन बालबालिका निकै रमाएका थिए । त्यो रङ्गीबिरङ्गी गिलो पीठोबाट विभिन्न ठोस सामग्री बनाई सुकाएर प्रयोग गर्दा झट्ट नफुट्ने बलियो र राम्रो हुन्छ होला भन्ने अनुमान मात्र गरियो ।

    लप्सीको भित्री दाना र मकै छोडाएका डाँठ ( कोया ) को टुक्रा पनि इनामेलले रङ्गाइएका थिए । लप्सीका दाना गिन्तीका लागि, जोर कि विजोर खेल्न, खेलाउन सकिन्छ । जोर कि बिजोर खेलले बाल बालिकाले अनुमान गर्ने शक्तिको विकास गराउँछ । कोयाका टुक्राको माला बनाउन, डोरी वा सिन्कामा उनेर गणितीय क्रियाकलाप जोड घटाउ गर्न राम्रो हुन्छ ।

    त्यहाँ ती लप्सीका दाना र कोयाका टुक्रा रङ्गाउन प्रयोग गरिएको रङ्ग इनामेल थियो । त्यो बालबालिकाले छोइरहँदा विष लाग्ने हुनसक्छ । त्यसैले यस्ता वस्तु रगाउँदा घरेलु रङ्गको गर्नुपर्ने सुझाव दिइएको थियो ।

    त्यहाँ राखिएका अन्य सामग्रीहरूमा माटोबाट बनेका, ढङ्गाबाट बनेका, काठबाट बनेका, बाँसका चोयाबाट बनेका थुप्रै सामग्री थिए । माटोबाट बनेको झाँतो(जाँतो), ढुङ्गाबाट बनेका खल( लोहोरो सिलौटो), काठबाट बनेको हलो, जुवा, बाँसको चोयाबाट बनेका डोका, सुपा( नाङ्ला) आदि थिए ।

    यस्तो मेलामा विभिन्न स्थानीय बालखेलहरू पनि राख्नु राम्रो हुने हुन्छ । यसका लागि विभिन्न विद्यालयको सहभागिता पनि उत्तिकै राम्रो हुन्छ भने आयोजक विद्यालयले मात्रै पनि यसो गर्न सक्छ । ती बाल खेलहरू कुनै सामग्री नै नचाहिने हुन्छन् भने कुनैलाई सामान्य सामग्री चाहिन्छन् । जस्तै चिँ मुसी चिँची, ओकल दोकल, एक दुई तीन, काइँखुट्टी, कपर्दी, हात्तुरी, ओरोडोरो जस्ता खेलका लागि कुनै केही खेल सामग्री चाहिन्नन् । चिँमुसुी, दोकल, एक दुई तीन त थपक्क बसेर खेल्ने खेल हुन् । गट्टा, धुलेबाजी, खग्रेटो जस्ता खेलहरू ज्यादै सामान्य र स्थानीय मूल्यहीन सामग्री चाहिने खेल हुन् । यस्ता खेलले बालबालिकाको, मानसिक, शारीरिक सक्रियता र सामाजिक अन्तर घुलनका लागि निकै सहयोग हुन्छ ।

    कतिपय खेलमा नेतृत्वको पालो हुन्छ । यसले नेतृत्व विकास र आफ्नो अधिकारको खोजी गर्ने बानीको विकास हुन्छ । आफ्नो पालोमा आफूले गरेको काम र अरूले त्यै काम कसरी गरे भन्ने तुलना गरी आत्ममूल्याङ्कन गरी अगाडि बढ्ने आत्मबलको विकास गर्न यस्ता बाल खेलले सघाउँछ ।

    बाल खेलमा प्रयोग हुने शब्द वा शब्दावली सबै सार्थक नहुन सक्छन् । र त ती बालबालिकाका लागि बढी सार्थक हुन्छन्, प्रिय हुन्छन् र विशुद्ध उनीहरूका निजी हुन्छन् । यी खेलमा प्रयोग हुने शब्दलवाली ठाउँअनुसार फरक फरक हुन्छन् । तर जहाँका पनि उत्तिकै मीठा, उत्तिकै स्वादिला हुन्छन् । चिँमुसी, ओरोडोरो, ओकलदोकल जस्ता खेलमा प्रयोग हुने शब्दावली ठाउँअनुसार फरकफरक पाइन्छन् ।

    कुनै खेलमा कसैले जित्ने हार्ने भन्ने हुँदैन भने कुनै खेलमा हार जितको कुरा हुन्छ । जस्तो चिँमुसी, ओकलदोकलमा हारजितको कुरा हुँदैन । खेल सकिँदा हाहु गरेर रमाइलो गर्ने गरिन्छ । यस्तै रमाइलो गरेर साह्रै साना नानीबाबुहरूदेखि ठूलासम्म खेल्न सकिने रमाइलो खेल हो ओकलदोकल । यसले सानानानीहरूलाई समूहमा मिलेर बस्न, समूहमा सिक्न, रमाइलो गर्न र निश्चित समयसम्म धैर्य गरेर बस्ने बानी वा सीपको विकास गराउँछ ।

    ठाउँअनुसार उही नामको खेल खेल्ने ढाँचा, नियम फरकफरक हुनसक्छ । तर यसबाट बालबालिकाले सिक्ने सीप भने उस्तै हुन्छन् ।

    ज्यादा तामझाममा खर्च नगरी एउटा स्रोत केन्द्रका विद्यालयले पालोपालो गरी अभिभावक मेला गर्ने हो भने यसले अभिभावकलाई विद्यालय आउन त सहयोग गर्छ नै आफ्ना बालबालिकामा रहेको सिर्जना अभिव्यक्त गर्न र अरूको सिर्जनाबाट सिक्न सहयोग पुग्ने छ ।

    सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले ल्याएको अभिभावक मेला नवीन सोचका लागि धन्यवाद ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...