News Portal

  • नेवा: समुदायमा भ्यागुतालाई भात

    अनिल तुलाधर२० साउन २०७७
    ५०६ पटक
    २० साउन २०७७

    नेवा: जाति काठमाडौँ उपत्यकाको रैथाने मुलबासी हुन् जसले सर्वप्रथम यहाँको भूमिमाथि दावी गरेर यहाँ कृषि सभ्यता सुरु गरे । यस कृषि सभ्यता मनसुन वर्षा प्रणालीसँग सम्बन्धित रहेको हुन्छ जहाँ जेठ असारमा बाली राखेर कार्तिक मङ्सिर तिर अन्न भित्राइन्छ । घटिमा ३५०० वर्ष अगाडि नै नेवाः जाति नेपाः उपत्यकामा आफ्नो वर्चस्व कायम गरेर वैदिककाल पुर्वका संस्कृति विकास गर्न सफल भएको देखिन्छ । त्यस मध्ये मनसुन वर्षा प्रणालीसँग सम्बन्धित महत्त्वपूर्ण साँस्कृतिक चलन भनेको भ्यागुतालाई भात खुवाउने परम्परा हो ।

    असारमा बाली लगाएपछि बालीमा किरा फट्याङ्ग्रा लागेर बाली बिग्रिने सम्भावना रहेको हुन्छ । भ्यागुता यस्तो जीव हो जसले ती किरा फट्याङ्ग्रा खाएर किसानहरुलाई बाली बिग्रनबाट बचाउँछ । त्यसैले भ्यागुताको यस्तो गुण सम्झेर भ्यागुतालाई भात खुवाउने चलन सुरु भएको भन्नेमा सत्यता बढी हुन सक्छ तर बुङ्गमतीभेगमा भने भ्यागुतालाई भात खुवाउने चलन पछाडि एउटा दन्त्य कथा प्रख्यात रहेको छ जुन यहाँ प्रस्तुत गरिन्छ ।

    कुनै बेला कुनै एक नेवाः वस्ती आसपासमा एक दानव/ राक्षस बस्दथ्यो । उसको काम भनेकै त्यो वस्तीमा साँझ बिहान गएर त्यस वस्ती भित्रका बालबच्चाहरुलाई अपहरण गरेर तिनीहरुलाई मारी तिनीहरुको आहार गर्ने थियो । त्यस वस्तीका मान्छेहरु यसबाट निकै त्रसित थिए र त्यस दानवसँग छुट्कारा पाउन चाहन्थे । त्यस दानवलाई मार्न अनेकौं प्रयास गरे तर सकेनन् ।

    असार श्रावणको धान रोप्ने बेला धान रोप्न सबै परिवार खेतमा गइरहेको समयमा त झन् त्यो दानवलाई वस्ती भित्र गएर त्यहाँ खेल्दै गरेका बच्चाबच्चीहरु टिप्न सजिलो थियो ।यसरी मान्छेहरु निकै भयवीत भएर बाँचिरहेका थिए ।धन्न मान्छेहरुको यो विरह ती खेतबारीमा चहार्दै उफ्रने भ्यागुताहरुले महसुस गरिरहेका थिए र तिनीहरुमध्ये बुद्धिमान एक भ्यागुताले त्यो दानवलाई मार्नका लागि एउटा उपाय निकाले ।

    एक दिन सदा झैं त्यो वस्तीका बालबच्चाहरु खोज्न त्यो दानव खेतबारीको बाटोबाट हिडिरहेको थियो । त्यस बुद्धिमान भ्यागुतोले उफ्रदै त्यस दानवको अगाडि पुगेर ठूलो स्वरले कता जान लागेको भनेर सोधे । दानवले मान्छेहरुको बच्चा टिप्न जान लागेको भनेर जवाफ दिए । ” हरे, मान्छेहरुको बच्चा पो खान हिडेको रहेछ यो कायर दानव त, बहादुर नै भए म जस्तो सानो भ्यागुतालाई टपक्क टिपेर खान सक्छौ र ? ” भनेर त्यस भ्यागुताले त्यो दानवलाई गिज्याउन थाले । रिसमा चुलुम्म डुबेर त्यस दानवले आफ्नो बाटोबाट हट्न धम्की दिए । तर भ्यागुताले उक्साइरहे । निहुँ नै खोजेको हो भनेर हतन्नपत त्यस दानवले त्यो भ्यागुतालाई टिप्न आफ्नो हात बढाए, त्यत्तिकैमा पछाडिका दुइटा खुट्टा तन्काएर भ्यागुता उफ्रेर त्यहाँबाट अर्को ठाउँमा पुगे । दानवले फेरि टिप्न खोजे तर फेरि त्यो भ्यागुता उफ्रेर अगाडि बढे । दानवको रिस झन् चढ्दै गयो, आफुलाई सम्हाल्न सकेनन् । भ्यागुता भने झन् झन् गिज्याउदै रमाउदै थियो । दानवले आफ्नो रिस काबुमा राख्न सकेनन् र लछारपछार गर्दै त्यो भ्यागुतालाई टिप्न संघर्षरत थिए ।

    चतुर भ्यागुताले त्यसरी उक्साउदै खेतको दलदल हिलो भएको ठाउँमा त्यस दानवलाई लग्न सफल भयो । भ्यागुताले त्यस दलदल हिलो पार गर्न सक्यो तर त्यो दानव भने त्यसैमा दबिएर फसे । हिलो बाट उम्किन यताउता चलेर प्रयास गर्न खोजे तर झन् झन् दबिएर जिउ जम्मै हिलो मुनि पसेर टाउको मात्रै देखिने अवस्थामा पुगे । आफ्नो चलाखीपन सफल हुन खोजेको देखेर छिटो छिटो उफ्रदै त्यो भ्यागुता त्यस वस्तीका मान्छेहरुलाई त्यो दानव हिलोमा दबिएको कुरा सुनाउन गए । मान्छेहरु खुशी हुँदै सबैले छ्वाली बालेर त्यो दानव भएको ठाउँमा गएर दानवलाई आगो बालेर अन्ततः दानवलाई मार्न सफल भए ।

    यो दिन थियो श्रावण कृष्ण चतुर्दशीको दिन यानी गथामुंगको दिन । यसै घटनालाई याद गरि नेवाः समुदायहरु गथामुंग पर्व मनाउन थालेको भनिन्छ जहाँ प्रत्येक नेवाः घरबाट छ्वाली बालेर नजिकैको दोबाटो यानी ‘छ्वास्स’ सम्म बलेको छ्वाली विसर्जन गरी भुत भगाउन जानुपर्छ । त्यस घटना पछि सबै मान्झेहरुलेे त्यस भ्यागुता प्रति कृतज्ञ भई १५ दिन पछि पूर्णिमाको बेला भ्यागुतालाई ८४ व्यञ्जन राखेर भात खुवाउने परम्पराको विकास गरे जुन अहिले सम्म कायम हुँदै आएको छ ।

    गथामुंग देखि गुंला महिनाको प्रत्येक दिन फेरि लाखे नचाउने परम्पराको पनि विकास भयो जुन लाखे त्यही पराजित दानवको प्रतिकात्मक स्वरुप हो । लाखे नचाउनुको विभिन्न कारण मध्ये एउटा मान्छेहरुमा डर पैदा गर्नु हो पनि भनिन्छ किनकी मान्छेहरुले डराएपछि मात्रै जीवनमा सजक सतर्क भएर बाँच्न सक्छन् र कुशल पुण्य समयमै सञ्चय गर्न सक्दछन् ।

    यसरी गुंला महिनाको पूर्णिमाको बेला भ्यागुताले दानवले दिएकाे दुखबाट मानिसलाई पार लगाएको घटना सम्झी भ्यागुतालाई भात खुवाउने चलन विकास भएको हो भन्ने विश्वास गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    देशभरका सबै वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आज दुई निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

    त्रिविमा आंशिक शिक्षकको तालाबन्दी

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् ।...

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर...

    नर्वे सेनामा नेपाली युवाको प्रवेश

    नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो...

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ ।...