News Portal

  • शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै, दसैं चहलपहल सुरु

    १४६० पटक

    काठमाडौं, ७ कार्तिक । आश्विन शुक्ल सप्तमीका दिन बिहीबार अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

    घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उनले भने ।

    देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद् प्रा डा गौतमले जानकारी दिए ।

    हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

    यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याउन लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने जनाइएको छ । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ ।

    आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

    फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण सहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन । रासस

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...