News Portal

  • बिस्का जात्रामा अनधिकृत व्यक्तिहरु रथमा नराखिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ चैत २०७८
    १७६६ पटक
    भक्तपुर, २३ चैत २०७८

    प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा(बिस्का: जात्रा) यहाँको ऐतिहासिक धार्मिक एवं सास्कृतिक जात्रा हो । भक्तपुरमा मनाइने विस्का जात्रा आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन तले भैरवनाथको रथ एक आपसमा तान्नु हो । उक्त रथ काष्ठकलाको एउटा उत्कृष्ट नमुना पनि मानिन्छ । काठबाट बनेका पांग्रामाथि उक्त रथलाई अगाडि पछाडि गरि आठ बटा मोटा-मोटा डोरीले तानेर गन्तव्य सम्म पुर्‍याउनु विस्का जात्राको आकर्षण रहँदै आएको छ ।

    यो आकर्षणबीच रथ तान्ने दुई समुहको बिबादले पूरै जात्रा खल्लो बनाउने गरेका प्रसस्त उदाहरण छन् । भक्तपुरको बिस्का जात्रा बिबादरहित बनाउन नगरपालिका र प्रशासनको प्रमुख लक्ष रहँदै आएको छ । रथमा अनधिकृत व्यक्तिहरु सवार हुन नदिन हरेक वर्ष प्रयास गरिन्छ तर त्यो पालना हुन सकेको देखिदैन । जात्रा व्यवस्थापन प्रचलन अनुसार भैरव नाइके, गुठीयार र खान्कीहरु रथका चारै दिशामा चार / चार जना गरी १६ जनामात्रै बस्ने व्यवस्था छ । तर जात्रामा रथभरि अनधिकृत व्यक्तिहरु सवार भएपछि त्यो बिबादको कारण बनिदिन्छ र अप्रिय घटनाको सम्भावाना बढेर जान्छ । नगरपालिका र प्रशासनले अहिलेसम्म रथमा तोकिएका मात्र १६ जनामात्रै राख्न सकेको देखिंदैन ।

    यो वर्ष नजिकिएको बिस्का जात्रालाई सभ्य र भब्य बनाउन भक्तपुर नगरपालिकाले आयोजना गरेको बैठकमा सोही विषयमा चिन्ता व्यक्त गरिएको छ । बैठकमा भक्तपुर वडा नम्बर ४ का वडाध्यक्षले रथबाट प्रहरीले अनाधिकृत व्यक्ति हटाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुलाई हटाउन प्रहरी अग्रसर नहुने गरेको उनको आरोप थियो । सो आरोपको खण्डन गर्दै भक्तपुर प्रहरी प्रमुख रहेका एसपी शिव कुमार सापकोटाले भने रथबाट अनावश्यक मानिस हटाउने काम जनाप्तनिधिले गर्नुपर्ने प्रष्ट पारे । प्रहरीले को अनावश्यक हुन् भन्ने नचिन्ने हुँदा रथबाट ओराल्न प्रहरीलाई झन् समस्या हुने उनको भनाइ छ । एसपी श्रेष्ठले जात्रालुले स्थानीय जनप्रतिनिधि,नाइके र गुठीका अगुवाका कुरा मान्ने हुँदा जात्रामा प्रहरीले सहजीकरण गर्ने तर शान्ति सुरक्षामा स्थानीय अगुवाहरुकै जिम्मेवारी महत्वपूर्ण हुने बताए ।

    सो अवसरमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी  शर्माले यो वर्ष शुरुमै अनाधिकृत मानिसलाई रथमा चढ्न नदिने वातावरण बनाउन ब्यवास्थापन समिति र प्रहरी मिलेर काम गर्नुपर्ने आवश्यकता औल्याइन । शर्माले भैरवनाथको रथ तान्ने र लिंगो उठाउने स्थानहरुमा अनावश्यक हुल हुज्जत हुन नदिन जिल्ला प्रशासन कार्यालयले आवश्यक शान्ति सुरक्षा व्यवस्था छुटै ढंगले गर्ने योजना रहेको समेत जानकारी गराएकी छन् । जात्रामा झगडा गर्नेलाई उन्मुक्ति दिंदा प्रत्येक वर्ष झगडाको सम्भावना देखिएको दावी गर्दै उनले सीसीक्यामेरा बाट दोषी पता लगाई जात्रापछि पनि कडा कानुनी दायरामा ल्याई कारवाही गरिने प्रतिवद्धता प्रकट गरिन ।

    नगरपालिकाकी उपप्रमुख रजनी जोशीको अध्यक्षतामा सम्पन्न बैठकमा बिस्केट जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूको सहभागिता थियो ।

    बैठकमा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओली र जात्रासँग सम्बन्धित सरोकारवालाहरू सशस्त्र प्रहरी बलका प्रमुख नरबहादुर रावत त्यसैगरी राष्ट्रिय अनुसन्धान विभाग, नेपाल टेलिकम, ख्वप अस्पताल भक्तपुर, नेपाल विद्युत प्राधिकरण, भक्तपुर उद्योग वाणिज्य संघ, तलेजुका पुजारी, इन्द्रायणी गुठीका गुठियार, भैरवनाथ जात्रा सहयोग समिति, प्रजापति समाज, एकीकृत हाकुज्या प्रजापति समाज, ब्रम्हायणी जात्रा सहयोग समिति, गछेँ गणेश जात्रा सहयोग समिति, लालाछेँ गणेश जात्रा सहयोग समिति, भद्रकाली गुठीलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनीहरुले अनधिकृत मानिस रथमा नराख्न पहल गर्ने प्रतिवद्धता प्रकट गरे ।

    सो अवसरमा उपप्रमुख जोशीले नगरपालिकाले बिस्का जात्रालाई सभ्य र भब्य बनाउन पहल गरिरहेको भन्दै यसका लागि सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...