आज बुधवार माघ शुक्ल पूर्णिमा परेको छ र बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
५ बजेर ५५ मिनेट बाट शुरु हुने ग्रहण ८ बजेर ५७ मिनेटमा सकिने बताइएको छ ।
धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला, कन्या र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेकाे यस वर्षकाे पञ्चाङ्गमा राशि अनुसार शुभ अशुभ फल देहायबमोजिम देखाइएको छ ।
मेष – व्यथा
वृष -श्रीप्राप्ति
मिथुन- क्षति
कर्कट – घात
सिंह- खर्च
कन्या – लाभ
तुला – सुख
वृश्चिक – माननाश
धनु – कष्ट
मकर – स्त्रीपीडा,
कुम्भ – सुखप्राप्त
मीन – चिन्ता
ग्रहणको बेलामा बालक, वृद्ध र रोगी बाहेकले खान, सुत्न, मनोरंजन गर्न , मैथुन गर्न , आनन्द लिन लगायतका कार्य गर्न नहुने शास्त्रीय मान्यता रहिआएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने जुनसुकै राशिकाले ग्रहण हेरेपनि फरक नपर्ने दावी गरेको छ । बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने र त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिने बताउदै सोसाइटीले यो दृष्य १ सय ५२ बर्षपछि देखिने दुर्लभ दृश्य भएकोले सबैले खुला आखाँले नै हेर्न सकिने सिफारिस गरेको छ ।
यो ग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने बताइएको छ ।