राजनीति पनि बडो गज्जबको बक्ररेखामा गुज्रिनेरहेछ । बिगतमा क्रान्तिको पक्षपोषण गर्दै प्रचण्ड नेतृत्वको मुल माओबादी पार्टी छोडेर हिडेका रामबहादुर थापा बादल यतिबेला पुरानै पार्टीमा फर्किएर देशको गृहमन्त्री बनेका छन् र उनलाई क्रान्तिकै कुरा गर्ने विप्लब नेतृत्वको नेकपालाई नत्थी लगाउने जिम्मेवारी आइपरेको छ ।
राष्ट्रियसभा सदस्यमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित नेता रामबहादुर थापा बादलले आफ्नै इच्छा अनुसार गृह मन्त्रालय रोजेका छन् तर यसको जिम्मेवारी बहनमा उनलाई ”नखाउ भने दिनभरिको शिकार, नखाउ भने कान्छा बाउको अनुहार’ भने झैँ हुने देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेकपा प्रति आक्रामक छन् । उनी सत्तामा आए लगत्तै नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन सहित सयौ कार्यकर्ता पक्राउ परेका छन । नेकपाले उनीहरुको रिहाइको माग गर्दै एकदिने नेपाल बन्द देखि अनेकौ दबाबमूलक आन्दोलन गरेपनि हात लागि शुन्य भएको छ ।
प्राय अन्य दलप्रति असहिष्णु स्वभाव भएका प्रम ओलीको निसानामा नेकपा पर्नु चानचुने कुरा होइन । यसले सरकार र नेकपा बीच टकरावको स्थिति पैदा गर्ने कुरा निश्चित रहेको विश्लेषक हरु बताउछन । यस्तो अवस्थामा सरकारको गृह मंत्री हुनुको नाताले एउटै मन भएका बादल – बिप्लव आमने -सामने आउने कुरा नेपालको माओबादी इतिहासमै एउटा हेर्नलायक परिघटना हुन पुगेको छ ।
आफ्नो बिद्रोही स्वभावका कारण रक्षामन्त्री रहदा कटुवाल काण्ड निम्त्याउदै प्रचण्ड नेतृत्वको सरकार गिराएको अपजस लाग्ने गरेका नेता बादलको लागि विप्लवसंगको संघर्षले कस्तो रुपमा चिनाउला त्यो भने हेर्न बाँकी नै छ ।