नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा प्रदान गर्दै आएको शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । बुधवार एक सूचना जारी गर्दै महासंघले यस बर्ष प्रदान गरिने शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको हो ।
प्रत्येक बर्ष शिक्षा क्षेत्रमा कलम चलाउनेहरुको प्रोत्साहनको लागि महासंघले शिक्षा विभागको सहकार्यमा शिक्षासम्बन्धी विभिन्न पुरस्कारको व्यवस्था गर्दै आएको छ । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार ,प्रादेशिक शिक्षा पत्रकारिता लेखनवृत्ति ,संस्थागत शिक्षा पत्रकारिता पुरस्कार गरि ४ प्रकारका पुरस्कारहरुको लागि आवेदन माग गरिएको महासंघले जानकारी गराएको छ ।
राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार देशभरबाट छनौट गरी प्रदान गरिनेछ । कुनै पनि सञ्चारमाध्यममा कम्तिमा ५ वर्षदेखि निरन्तररूपमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम गरिरहेका व्यक्तिले यसका लागि आवेदन दिनसक्ने बताइएको छ ।
प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार र प्रादेशिक शिक्षा लेखनवृत्तिका लागि सातवटै प्रदेश तथा काठमाडौं उपत्यकाबाट छनौट हुनेछ । कम्तिमा ३ वर्षदेखि निरन्तररूपमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर कुनै पनि सञ्चारमाध्यममा पत्रकारिता गरिरहेका व्यक्तिले प्रादेशिक पुरस्कार र लेखनवृत्तिमा आवेदन दिनसक्नेछन् ।
संस्थागत शिक्षा पुरस्कारतर्फ दैनिक पत्रिका, टेलिभिजन र अनलाइनलाई राष्ट्रिय स्तरमा तथा प्रादेशिक स्तरमा रेडियोको छनौट गरी पुरस्कार प्रदान गरिनेछ । रेडियोको हकमा काठमाडौं उपत्यकाबाट समेत छनौट गरिनेछ ।
पुरस्कारमा सहभागी हुन चाहने पत्रकारले शिक्षा क्षेत्रमा पत्रकारितामार्फत पु¥याएको योगदानसहितको व्यक्तिगत विवरण, २०७४ वैशाख १ गतेदेखि २०७४ चैत्र मसान्तसम्म आफूले तयार पारेर प्रकाशित/प्रसारित भएका ५ वटा शिक्षासम्बन्धी समाचार सामग्री, खोजमूलक लेख–रचनासहित आवेदन महासंघको कार्यालय सञ्चारग्राम, काठमाडौंमा पठाउनुपर्नेछ । आवेदन महासंघको कार्यालय सञ्चारग्राम, काठमाडौंमा सोझै, हुलाकमार्फत वा महासंघको इमेल [email protected] मार्फत पनि आइपुग्नेगरी पठाउन सकिने बताइएको छ ।
आवेदन आइपुग्नुपर्ने अन्तिम मिति २०७५ जेठ मसान्तसम्म तोकिएको सूचनामा उल्लेख गरिएको छ ।
शिक्षा पत्रकारिता पुरस्कार महासंघ र शिक्षा विभागको संयुक्त निर्णयअनुसार तयार गरिएको मापदण्डका आधारमा तोकेको छनौट समितिबाट हुने जानकारी गराइएको छ ।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सबै शिक्षा पत्रकार यस प्रकृयामा सहभागी हुने विभागले अपेक्षा गरेको बताएका छन् । नेपालवाल संग कुरा गर्दै उनले भने, ” शिक्षाको विकाशमा पत्रकारको पनि उत्तिकै योगदान छ , यो उहाँहरुको योगदानको कदर गर्ने सानो प्रयास मात्र हो ।”