काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ ।
एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग वरपरका विद्यार्थीलाई सवारी दुर्घटना जोखिमबाट बच्ने विषयमा सचेतना पनि गरिने बताए ।
शुरुमा राजमार्ग नजिक रहेका २१ सदस्य विद्यालयबाट शुरु गरिएको यो अभियान क्रमशः विस्तार हुने अध्यक्ष सापकोटाले जानकारी दिए ।
विसं २०७२ को गोरखा भूकम्पपछि सरकारले सुरक्षित विद्यालयसम्बन्धी नीतिमा प्राथमिकता दिएको सन्दर्भमा एन प्याब्सनले पनि आफ्नो तर्फबाट अभियान सञ्चालन गरेको सापकोटाले स्पष्ट पारे ।
संस्थाको २२औँ स्थापनाका अवसरमा आज आयोजित कार्यक्रममा सापकोटाले शिक्षक कर्मचारीको औषधोपचार बीमा, विद्यार्थी बीमा र विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रमको निरन्तरता दिइएको जानकारी दिए ।
संस्थाले सदस्य विद्यालयको विवरण अद्यावधिक गर्न ‘इमार्क’ को सहयोगमा आजदेखि नेसनल प्याब्सन एपको शुभारम्भ गरिएको छ । यस्तै, सदस्य विद्यालयहरुमा अध्ययन गरी एसइइ परीक्षामा जिपिए ४ हासिल गर्ने देशभरका विद्यार्थीहरुलाई स्वर्ण पदक र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रमको थालनी यसैवर्ष देखि गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।
स्थापना दिवसको कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु गीता राणा, कर्णबहादुर शाही, संस्थापक महासचिव अर्जुनबहादुर अधिकारीलगायत सहभागी भई केक काटेर शुभकामना आदानप्रदान गरेका थिए । निजी लगानीमा सञ्चालित विद्यालयको संरक्षण र संवद्र्धन तथा संस्थापकको स्वामित्व स्थानान्तरण हुँदै जाने अधिकार सुनिश्चित गर्न विसं २०५४ मा एन प्याब्सनको स्थापना भएको हो ।