बलात्कार प्रयासको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । काठमाडौ जिल्ला अदालतले अन्तत: उनलाई निर्दोष ठहर गरेको हो ।
सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेल को एकल इजलासले महरालाई निर्दोष ठहर गर्दै रिहा गर्ने निर्णय गरेको छ । उनलाई आजै रिहाई गरिने बताइएको छ । त्यसको लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्नेछ । उनलाई रिहाई गर्नको लागि अदालत परिसरबाट डिल्लीबजार कारागारतर्फ लगिएको छ ।
महरा रिहाई हुने भएपछी उनलाई नेकपाका कार्यकर्ताहरुले भव्य स्वागतको तयारी गरेका छन् । अन्तत: सत्यको जित भएको भन्दै उनका समर्थक र शुभचिन्तकहरु स्वागतका लागि पुगेका हुन् । ‘कम्युनिष्ट आन्दोलनलाई बदनाम गराउन महरा सर माथि आरोप लगाइएको थियो , अन्तत त्यो असफल भयो ।’ उनको स्वागतका लागि पुगेका नेकपाका भक्तपुर जिल्ला सदस्य सदस्य दिनेश थपलियाले भक्तपुरपोस्ट संग भने ।
महराविरुद्ध सरकारी वकिलले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा.दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्। असोज १४ मा महराले सभामुख पदबाट नैतिकताको आधारमा राजीनामा दिएका थिए।