काठमाडौं । भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहरा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बोहराले साविक जिल्ला शिक्षा कार्यालय डोटीले निकासा गरेको रकम र विद्यालय आन्तरिक स्रोतको गरी ४१ लाख ५४ हजार पाँचसय रकम पेश्की लिएर ३१ लाख ९ हजार ९४५ बराबरको मात्रै काम गरेको पाइएको हो ।
यस्तै उनले ३ लाख आठहजार पाँचसय विद्यालयको खातामा जम्मा गरेको भएपनि बाँकी ७ लाख २९ हजार ९४६ हिनामिना गरेको देखिन्छ ।
अख्तियारले विव्यस अध्यक्ष बोहराले सात लाख उनान्तीस हजार नौ सय छयालीस हिनामिना गरेको तथ्य सप्रमाण पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा हिनामिना गरेको सबै रकम बिगो कायम गरी निजलाई सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।