सर्लाही, २५ फागुन । सशस्त्र प्रहरीका एक जवानले आफैंमाथि गोली हानेका छन् । ड्युटीमा बसिरहेका उनले आफैलाई गोली हानेका हुन् ।
३० वर्षिय जवान आनन्द मिश्रले आफैंमाथि गोली प्रहार गरेपछि उनको अवस्था चिन्ताजनक छ । उनी गम्भीर घाइते भएका छन् । उनको घाँटीमा गम्भीर चोट लागेको छ । उनी सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीमा कार्यरत सिपाही हुन् ।
३० वर्षिय जवान मिश्रले आफैंले बोकेको एसएलआरबाट आफैंलाई गोली हानेको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्रले आफैंलाई घाँटीमा गोली प्रहार गरेको जानकारी दिएका हुन् ।
जिल्ला अस्पताल मलङ्गवामा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पुर्याइएको छ । सर्लाही नै घर भएका मिश्रले किन आफैलाई गोली हाने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाको थप अनुसन्धान भैरहेको भनेको छ ।