News Portal

  • नेमकिपा तत्कालीन रुसको बोल्शेविक पार्टीजस्तै : सचिव सुवाल

    भक्तपुर, २८ फागुन
    १५४२ पटक
    भक्तपुर, २८ फागुन

    नेपाल मजदुर किसान पार्टी तत्कालीन रुसको बोल्शेविक पार्टीजस्तै क्रान्तिकारी पार्टी हो भने एमाले र माओवादी अर्थात् नेकपा मेन्शेविक पार्टीजस्तै पुँजीवादी पार्टी हो । पुँजीवादी सरकारको लुछाचुँडीमा लागेका यी दुवै पार्टी भाइकाङ्ग्रेस हुन् । एमाले र माओवादीको चुनावी मोर्चा र पार्टी एकता नेपाल र नेपाली जनताको हितका लागि भएको होइन बरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको इच्छानुसार भएको हो । संसद्मा झण्डै दुईतिहाइ स्थान भएका यी दुवै पार्टीले चुनावलगत्तै भारतका विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल बोलाएर सोल्टी होटेलमा गोप्य वार्ता गरेरमात्र ओली नेतृत्वको सरकार गठन गरेका हुन् । नेकपाको यो सरकार अमेरिकी नेतृत्वमा हिन्द–प्रशान्त क्षेत्रका देशहरूको सैनिक गठबन्धन बनाउने एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन दिल्योज्यान दिएर लागेको छ ।

    माओवादी सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया र सरकार गठनसम्म भारतीय शासकवर्गको सहयोग भएको पुष्पकमल दाहाल र बाबुराम भट्टराईले स्वीकार गर्दैआएको कुरा हो । यसकारण माओवादी भारतीय शासकवर्गको ‘ट्रोजन हर्स’ हो । सत्यनिरुपण र मेलमिलापको निहुँमा निहत्था व्यक्तिका हत्याराहरूलाई माफी दिन मिल्दैन । तर, यो सरकार मानवताविरोधी गम्भीर अपराध गरेकाहरूलाई दण्डित नगरी मेलमिलापमा टुङ्ग्याउन खोज्दै छ ।

    प्रम केपी ओलीले केही हप्ताअघि चुनाव महँगो भएको बताए । सरकारमा गएका पार्टी र उम्मेदवारहरूले चुनावमा पैसा र सामान बाँडेको तथा भोज खुवाएको हुँदा चुनाव महँगो भएको हो । त्यही खर्च असुल गर्न र पैसाको खोलो बगाएर अर्को चुनाव जित्न सरकारमा गएका पार्टीहरूले नेपाल ट्रस्टको जग्गा बहाल, सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद, वाइडबडी जहाज खरिद, फोरजी सेवा विस्तारमा अर्बाँै रुपैयाँ भ्रष्टाचार गरेको क्रमशः सार्वजनिक भइरहेको छ ।

    एमाले र माओवादीका नेताहरूले आफ्ना कार्यकर्तालाई पुँजीवादी क्रान्ति गर्न सिकाएको हुँदा तिनका सङ्घदेखि स्थानीय तहसम्मका २०८ जना जनप्रतिनिधिहरूको नामनामेसी उल्लेख गरेर ती सबै ठेकेदार भएको समाचार प्रकाशित भयो । म्यानपावर कम्पनीका मालिक, भूमाफिया र कमिसनखोरहरू अझ कति छन्, सार्वजनिक भएको छैन ।

    त्यति धेरै भ्रष्टाचारको रकम सरकारमा गएका नेताहरूले शेर्पा र ढकाल भन्ने उद्योगी–व्यापारीमार्फत लगानी गरेको सुनिन्छ । एमाले र माओवादीका नेताहरूले आफ्ना कार्यकर्तालाई औद्योगिक क्रान्ति गर्न सिकाउनुपर्ने थियो । नेपालमा औद्योगिक क्रान्ति नभएको हुँदा अहिले १५ खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको छ । पुँजीवादी क्रान्तिले शोषणलाई कानुनी बनाउँछ र दिउँसै लुटपाट र डकैती गर्न छुट दिन्छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् विश्व सर्वहारावर्गका महान् गुरु माओ त्सेतुङले ७० वर्षअगाडि नै पार्टी समितिमा काम गर्ने तरिकाबारे भन्नुभएको थियो–“नेताहरूको जन्मोत्सव कार्यक्रम नगर्ने, नेताको नाममा सडक, ठाउँ र प्रतिष्ठान नबनाउने, नेताहरू सादा जीवनमा कडा परिश्रम गरी बस्ने, चाप्लुसी र प्रशंसाबाट टाढा रहने, घमण्डी नहुने” आदि । तर, प्रम ओलीको ६९ औँ जन्मदिनमा नेपालको नक्सा आकार बनाई केक काट्नु माओ त्से तुङ विचारधाराविपरीत हुन्छ । यसकारण, नेकपामा कम्युनिस्टको आचरण अवलम्बन भएको छैन ।

    नेपाल सरकारले अमेरिकी सहयोगी निगम एमसीसीसँग गरेको सम्झौता हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको सैनिक कार्यक्रम हो । यो सम्झौता अमेरिकी नेतृत्वको सैन्य गठबन्धन निर्माण र अमेरिकी हतियार बिक्रीसँग सम्बन्धित छ । अमेरिकी राष्ट्रपति ट्रम्पको भर्खरैको भारत भ्रमणमा ३ अर्ब डलरको हतियार भारतलाई बेच्ने सम्झौता गरियो । यतिबेला भारत पुगेका ट्रम्प नेपाल नआएको गुनासो सर्वत्र सुनिन्छ । अमेरिकी राष्ट्रपति अमेरिकी सेना तैनाथ भएको र अमेरिकी हतियार खरिद गर्ने देशमा पुग्छन् । एमसीसी सम्झौता अनुुमोदन भएपछि नेपालमा अमेरिकी सेना तैनाथ गरिनेछ र अमेरिकी राष्ट्रपतिको भ्रमण हुनेछ । यसकारण, नेमकिपाले २०७६ फागुन १३ गते एमसीसी सम्झौता खारेज गर्न अमेरिकी राजदूतावासमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई विरोधपत्र पठाएको हो । नेपाल सरकारले यो सम्झौता संसद्बाट अनुमोदन गराउनुहुँदैन, खारेज गर्नुपर्दछ ।

    प्रम ओलीले आफ्नो सरकारको दुई वर्षको उपलब्धिमा नेपालीको खुसी तीन गुणा बढेको पनि बताए । तर, नेपालीले शिक्षा, स्वास्थ्य निःशुल्क पाएका छैनन्, देशभित्र रोजगारी पाएका छैनन् । बसोबासको व्यवस्था नभएका नेपाली अझ धेरै छन् । मेडिकल शिक्षामा माफियाको प्रभाव छ । स्वास्थ्य उपचारमा माफियाको प्रभाव छ । यतिबेला नेपाली झन् दुःखी छन् ।

    देशको छिटो विकास र नेपालीको एकताको निम्ति प्रत्येक प्रदेशमा हिमाल–पहाड–तराईको भू–भाग हुनेगरी प्रदेश संरचना निर्माण गर्नु अद्यापि आवश्यक छ । बाँके र बर्दियाको नेतृत्वले कर्णाली प्रदेशलाई तराईसँग अलग्याएको एकदम बेठीक हो । जनताको मागअनुसार ती दुवै जिल्ला कर्णाली प्रदेशमा गाभ्नु अत्यावश्यक छ ।

    अहिले ओली सरकार परिवर्तन हुने र वामदेव गौतमको राष्ट्रियसभा सदस्यमा मनोनीत हुने चर्चा चलाइएको छ । यही परिस्थितिमा एमाले, माओवादी, नेकाका कुनै व्यक्ति प्रधानमन्त्री हुँदैमा देशमा मौलिक परिवर्तन आउने छैन । चर्चामा आएका यी व्यक्तिहरू पटक – पटक प्रधानमन्त्री र मन्त्री भएका हुन् । अहिलेको सरकारले आफ्नो असफलता र देशको लथालिङ्ग अवस्था ढाकछोप गर्न सरकार परिवर्तनको नाटक मञ्चन गर्दै छ । स्थायी परिवर्तनको निम्ति अनि देश र जनताको हितको लागि सम्पूर्ण नेपाली जनता नेमकिपाको झन्डामा सङ्गठित हुनु आवश्यक छ ।

    (नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्लाको आठौँ जिल्ला सम्मेलन उद्घाटन सभामा पार्टी सचिव प्रेम सुवालले राखेको मन्तव्यको मजदुरद्वारा सम्पादित अंश )

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...