पोखरा, २ भदौ । आज राति १२ बजेदेखि कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निणर्यपछि सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको हो ।
विज्ञहरुसँगको छलफलपछि पोखरा महानगरपालिकाले प्रदेशको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । सोमबार बसेको सीसीएमसीको बैठकले स्थानीय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई आवश्यकताअनुसार निषेधाज्ञा जारी गर्न अनुमति दिएको थियो ।
मंगलबारको बैठकले ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने र कार्यान्वयन गराउन सुरक्षा संयन्त्रसमेत परिचालन गर्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
चाडवाड नजिकिएसँगै कोरोना संक्रमणको जोखिम पनि बढेको छ भने पछिल्लो समय समुदायस्तरमा संक्रमितको संख्या पनि ह्वात्तै बढेकाले ५ दिन निषेधाज्ञा जारी भएको कास्की प्रहरी प्रमुख जीवनराम श्रेष्ठले जानकारी दिए ।
पोखरा महानगरपालिकाभित्र सोमबार राति र बिहानमात्रै १५ जनामा संक्रमण पुष्टि भइसकेको छ । निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेक सबै गतिविधि ठप्प हुने छ । अहिले ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको र आवश्यक परे फेरि थप गर्न सकिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।