यो महामारीको समयमा मान्छेको मृत्युको खबर नौलो त होइन तर, सामाजिक संजालमा मृत्युलाई यसरी फ़िजाइएको छ कि सामाजिक संजालमा कतै आफ्नै फोटोमा पनि श्रद्धान्जली र समवेदना आउँला कि भनेर डर मान्नु पर्ने अवस्था आइसकेको छ ।
अहिले कोरोना भाइरस संक्रमणबाट विश्वमा हजारौं मान्छे दैनिक रुपमा मरिरहेका छन् । नेपालमै पनि दैनिक सयौं मान्छेको मुत्युको खवरले स्तब्ध बनाइरहेको छ । यतिबेला नेता,अभिनेता,पत्रकार, कलाकार,साहित्यकार, व्यवसायी वा प्राख्यात पेशाकर्मी मात्र होइन, आफूले बाचुन्जेल नबोलेका वा केहि आत्मियता नसाटेका केवल चिनेजानेकाका मृत्युमा पनि श्रद्धान्जली र समवेदना दिनेको लर्को छ । श्रद्धान्जली र समवेदना सामाजिक संजालमा राख्ने बित्तिकै मृतक स्वर्ग नै पुगिहाल्ने झैँ गरी स्टाटस राख्ने क्रम बढेसंगै यसले आम सामाजिक संजाल प्रयोगकर्तामा डरको आतंक नै पैदा गरेको छ ।
देशमा निषेधाज्ञा जारी छ । समाजमा यति बेला कोहि न कोहिलाई कोरोना लागेकै छ । यस्तो अवस्थामा उनीहरु एकान्तबासमा बसिरहेका छन् । न कोहि संग कुरा गर्न मिल्छ न कतै जाने नै कुरा भयो । यस्तो अवस्थामा साथी भन्नु नै सामाजिक संजाल भएको छ । उनीहरु दिन भर सामाजिक संजाल हेरिहेको हुन्छन तर, सामाजिक संजालभरि श्रद्धान्जली र समवेदनाका पोष्ट्हरु आइरहँदा उनीहरुलाई कस्तो पिडा हुन्छ, उनीहरुको मनोविज्ञानबारे भोग्नेलाई मात्र थाहा हुन्छ । आफ्नै उमेरका वा आफूभन्दा पनि कम उमेरका, स्वस्थ मानिस मरेको थाहाँ पाउदा संक्रमितहरुमा निराशा उत्पन्न हुनसक्छ जसले आउने बिचलन, छट्पटी र चिन्ता भाइरस भन्दा खतरनाक भैरहेको छ । हामीले श्रद्धान्जली र समवेदनाको नाममा कोरोना भाइरस भन्दा खतरनाक भाइरस त फैलाइरहेका छैनौं भन्ने सोच्नुपर्ने स्थितिको सृजना भैसकेको छ ।
कोरोना हाम्रै साथीभाई, नातागोता, आमाबुवा र आफन्तलाई पनि लागेको छ । आफूलाई नलागेपनि आफ्नो साथीभाई आमाबुवा र आफन्त छिटै निको भएर घर फर्किने आशामा बासिरहेको परिवार पनि छन । यस्तो घडीमा श्रद्धान्जलि राखेर सामाजिक संजालमा पोष्ट् गरेपछि कोरोना लागेका व्यक्ति र परिवारमा पर्ने मानिसिक तनावले मनोबल कम्जोर भएर आउँने मनोचिकित्सकहरुको पनि मत रहेको छ ।
यतिमात्र होईन, सामाजिक संजालमा व्यक्तिको फोटो समेत पोष्ट गरेर अझ त फलानोलाई कोरोना लागेर मुत्यु भएको अवस्था भनेर लेखेर समवेदना दिने पनि नभएको होइन । यसबाट पिडित परिवारमा थप पिडा त भएको छैन भन्ने हामीले सोच्दै सोचेका छैनौ । दुःखको समयमा साथ दिने भनेर झन दुःखी तुल्याउने काम अहिले भइरहेको छ । मानिसहरु अहिले पत्रकार झैँ मृत्युको खबर बाध्न व्यस्त भएका छन् । लाससंगै बसेर मानौं कुनै सेलिब्रेटी संग फोटो खिचेझै फनानो मरेको अवस्था भन्दै फोटो पोष्ट् गरेको पनि पाइएको छ । डाक्टरले समेत मृतकका आफन्तलाई मृत्युको खबर सुनाउन समय बिचार गरेर बिस्तारैबिस्तारै सुनाउछन । तर, सामाजिक संजालबाट दिइने खबरले कस्तो झड्का लाग्छ भनेर हामीले कहिल्यै सोच्दैनौं । कता जादैछ हाम्रो समबेदना र विवेक आफैसंग प्रश्न गर्नुपर्ने बेला भएको छ ।
यो अवस्थामा मानिसको मुत्युको खबर सुन्न गाह्रो भइरहेको छ । आफ्नो मान्छे बिरामी भइरहेको अवस्थामा र आफ्नो उमेर पुगेका हजुरबाआमाको मायालाग्दो अनुहार सम्झिदा मनमा चिसो पस्छ । त्यसैले हामीले अरुलाई हौसाल दिलाउने कार्य गरौ, हुँन त मान्छे मर्दाको मलामी हो । मुत्यु लुकाउने कुरा त होइन तर यो कोरोनाको महामारीमा कयौं मानिसहरु अस्पतालमा जीवन मुत्यु संग लडिरहेको अवस्था छ , कति घरमै बसेर कोरोना संगको लडाइमा जुटिरहेका छन् । कति मानिस एउटा अक्सिजन नपाएर भौतारिरहेका छन् । यस्तो समयमा हामीले मुत्युलाई प्रचार गरेर बाच्ने आशामा बसेकाहरुको मनोबल कमजोर बनाउनु हुँदैन । सामाजिक संजालमा हामी जीवन बाडौं, मृत्यु होइन । श्रद्धान्जली र समवेदना म्यासेन्जर वा टेलिफोन बाट व्यक्त गरौँ । मृत्युलाई असहज र आतंकको रुपमा प्रदर्शन नगरौं । जीवन जिउनुको जिजिविषा सबैसंग हुन्छ यसलाई मृत्युको प्रचारले प्रताडित नपारौं । हामी सबैको जय होस् ।
(लेखक भक्तपुर पोस्टसंग आवद्ध पत्रकार हुन् ।)