आदरणीय प्रदेशवासीहरू,
मिति २०७७।११।७ गते शुक्रबार सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदेश नं २ को प्रमुखमा नियुक्त भई मैले प्रदेश प्रमुखको रूपमा जिम्मेबारी सम्हालेको तथ्य यहाँहरूलाई विदितै छ । प्रदेश प्रमुखको कार्यभार सम्हालेपश्चात नै मैले संविधान र कानूनले दिएको जिम्मेवारीलाई गम्भरिताको साथ पालना गर्दै आएको छु । नियुक्ति भई यस प्रदेशको पावन भूमिमा पाइला राख्ने बेलामा मैले ‘शिरमा देश र मनमा मधेश’लाई राखी कार्य गर्नेछु भनि सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गरेको थिएँ । उक्त प्रतिबद्धतालाई मैले सदैव आत्मसात गरिरहने छु ।
नेपालीहरू बीचको राष्ट्रिय एकता र सद्भावबाट मात्र हामी नेपाली जातिको उन्नति, प्रगति र समृद्धि सम्भव छ भन्ने तथ्यमा म सदैव स्पष्ट रहीआएको छु । गौरवपूर्ण इतिहासलाई बिर्सेर वा यसप्रति घृणाभाव फैलाएर भविष्य उज्वल हुन सक्दैन र स्वाभिमान उठ्न सक्दैन भन्ने मेरो दृढ विश्वास रहिआएको छ । यसै विश्वासको जगमा उभिएर मैले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर प्रदेश प्रमुखको कार्यकक्षमा राखी कार्य प्रारम्भ गरेको थिएँ । मलाई थाहा थियो मेरो यो कार्य केही मानिसलाई मन पर्ने छैन भनेर, मलाई शंका थियो यही कारणले मलाई प्रतिगामीको बिल्ला भिराइन सक्छ भनेर तर पनि मैले त्यो आँट गरें, किनकी मलाई थाहा छ जतिसुकै बङ्ग्याउन खोजे पनि इतिहासलाई मेट्न सकिदैन । मुलुकको पछिल्लो राजनीतिक परिवर्तनलाई आत्मसात गर्नुको अर्थ हाम्रा पूर्वज र उनीहरूले रचेको गौरवपूर्ण इतिहासलाई बिर्सने वा त्यसप्रति घृणाभाव फैलाउनु भन्ने कदापि होइन । मैले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर राख्ने आँट गरें, किनकी मलाई एकतामा विश्वास छ । राजनीतिक लाभहानीको प्रतिस्पर्धामा समाजमा समभाव गुम्नु हुन्न । हाम्रो चेतना, विवेक र ज्ञानले समभावसहितको साझा र उत्तम प्रदेश बनाउने अभ्यासलाई निरन्तरता दिनुपर्छ ।
प्रदेश प्रमुखको रूपमा रहँदा मैले आम नागरिकहरूसँग नजिकमा रहेर सत्संग गर्ने अवसर पाएँ । कहिले स्कुले भाइबहिनीहरूसँग कक्षा कोठामा छलफल गरे, कहिले खेतमा पसिना बगाइरहेका हाम्रा अन्नदाता श्रमजिवि किसानहरूसँग अन्तरक्रिया गरें । त्यस्तै कहिले सडक दुर्घटनामा परि घाइते भएका नागरिकहरूको उपचारका लागि तत्परता देखाएँ । मैले गरेका उपरोक्त कार्यहरू मानवता र संस्कारमा आधारित थियो । नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्नका लागि गरिएका आत्मीय प्रयास थियो । राज्यको सार्वजनिक पदमा रहेका मानिसहरूले नागरिकसँग जति अन्तरक्रिया गर्छन्, जति सामिप्यतामा रहन्छन् त्यति नै लोकतन्त्र बलियो हुन्छ । सार्वजनिक पदमा रहनुको मतलब नागरिकबाट टाढिनु, जमिनभन्दा माथि बस्नु वा नागरिक सर्वोच्चतालाई अवमूल्यन गर्नु होइन भन्ने मेरो मान्यता रहिआएको छ । आमनागरिकको भूमि, भावना र भविष्यसँग जोडिनु र तिनका संरक्षणमा अभिभावकको भूमिका निर्वाह गर्नु प्रदेश प्रमुखको मुख्य भूमिका हुनुपर्छ । प्रदेशवासीहरूसँग गरिएका त्यस प्रकारका अन्तरक्रियाले मेरो भोगाई र बुझाइको दायरा निकै फराकिलो बनेको मैले महसुस गरेको छु । देशभक्ति, सीमा सुरक्षा, नागरिकता र आत्मसम्मान सम्झौताका विषय होइनन् भन्ने कुरामा कसैले द्विविधा राख्नु हुन्न ।
प्रदेश प्रमुखको रूपमा कार्य गर्दा समावेशिता र समानुपातिकताको सिद्धान्त अवलम्वन गराउन मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको छु । प्रदेश नं. २ को सामाजिक र जनसांख्यिक बनावट आफैमा विविधताले भरिपूर्ण छ । यस प्रदेशमा बहुसंख्यक रूपमा मधेशी समुदायको बसोबास रहेको भएतापनि थारू, मुस्लिम, मारवाडी, दलित, जनजाति तथा गैरमधेशी (पहाडी) समुदायको समेत उल्लेख्य रूपमा उपस्थिति रहेको छ । फेरि मधेशी समुदाय आफैभित्र पनि विविधता रहेको छ । यो विविधताभित्र एकता खोज्नु हाम्रो दायित्व हो । एकता त्यतिबेला मात्र मजबुत हुन सक्छ जतिबेला यस प्रदेशमा रहेका सबै जाति, भाषाभाषी, लिङ्ग, वर्ग र समुदायको प्रदेश सरकार र तिनका निकायहरूमा समानुपातिक र समावेशी तवरले अर्थपूर्ण सहभागिता रहन्छ । संघीयता र समावेशिता स्थापित गर्नका लागि यस प्रदेशका सयौं सपुतहरूले आफ्नो अमूल्य जीवनको बलिदानी दिएका छन्, हजारौ नागरिकहरू घाइते भएका र भौतिक क्षति व्यहोरेका छन् । कतिपय युवाहरू आज पनि गैरन्यायिक हिरासतमै छन् । तिनका परिवारका जीवनशैली पीडादायक छन् । ती अमूल्य बलिदानीको जगमा निर्माण भएको संघीयताको अभ्यास गर्ने क्रममा नै हामीले समावेशिता र समानुपातिकताको मर्मलाई आत्मसात गर्न सक्दैनौ भने निश्चय नै ती वीर शहीदहरूप्रति अपमान र अन्याय हुन जान्छ । संघीय व्यवस्था भनेको व्यक्तिगत स्वार्थ, निजी मनोरञ्जन, भागवण्डा, लाभ–घाटा र दलीयकरण होइन । अभाव, अपराध र अतिवादको चपेटाबाट प्रदेश ग्रस्त हुँदै गएको कुरा बिर्सनु हुन्न । यसै वास्तविकतालाई आत्मासात गरी प्रदेश नं. २ को हरेक निकाय र प्रक्रियामा समावेशी समानुपातिकताको सिद्धान्त अवलम्बन गर्नुपर्छ भन्ने मान्यतामा अडिग रही मैले प्रदेश नं. २ को मन्त्रिपरिषद्मा प्रदेशको विविधता झल्कनुपर्छ भनि स्मरणपत्र लेखेको थिएँ । प्रदेश सरकार साझा र सुन्दर देखिनुपर्छ भनि माननीय मुख्यमन्त्रीज्यूलाई पटक–पटक मौखिक तथा लिखित रूपमा स्मरण गराएको तथ्य समेत म सम्झिन्छु । मैले गरेको उक्त प्रयासले यस प्रदेशमा समावेशिता र समानुपातिकताको जग बसाल्न बल पुग्नुको साथै संघीयतालाई संस्थागत गर्न सहयोग पुग्यो भने पनि मलाई मैले गरेको कार्यले अर्थ राख्नेछ ।
‘पद’ र ‘शक्ति’ सधैंका लागि कोहीसँग रहदैन । मुख्य कुरा देश र जनताका लागि कति योगदान गर्न सकियो भन्ने हो । मैले प्रदेश प्रमुखको रूपमा रहँदा प्रदेश र प्रदेशवासीका लागि केही न केही योगदान गर्न सके भन्ने लागेको छ । तथापी यसको मूल्यांकन गर्ने जिम्मा प्रदेशवासीको हो । प्रदेश प्रमुख पद कार्यकारी नभई सीमित भूमिका सहितको संवैधानिक पद हो । यद्यपी मैले उक्त भूमिकालाई ‘निष्क्रिय’ होइन ‘रचनात्मक’ बनाउन सक्दो प्रयास गरेको छु ।
अन्त्यमा, मलाई प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त गर्नु हुने सम्माननीय राष्ट्रपतिज्यू, नियुक्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारप्रति म हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु । साथै प्रदेश प्रमुखको रूपमा कार्य गर्दा सहयोग गर्नुहुने प्रदेश नं. २ का प्रदेश सरकार, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारी, अन्य निजामती कर्मचारीहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, नागरिक समाज तथा समस्त प्रदेशवासीहरूमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु । सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा मेरो भूमिका सदैव रहिरहनेछ । पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु ।
( प्रदेशवासीको नाममा प्रदेश नं २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजको सम्बोधनको पूर्णपाठ )