News Portal

  • पुनर्निर्माणमा भक्तपुर मोडल : १ करोड २८ लाखको मन्दिर ७७ लाखमै सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० पुस २०७८
    १५३६ पटक
    भक्तपुर, १० पुस २०७८

    भक्तपुर दरबार क्षेत्र(लायकु)मा अवस्थित नृत्य वत्सला मन्दिरको पुनर्निर्माण सम्पन्न भई उद्घाटन समेत भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले शनिवार एक कार्यक्रमकाबीच मन्दिर उद्घाटन गरेका हुन् ।

    २०७२ वैशाख १२ गतेको महाभूकम्पबाट पूर्ण क्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको आफ्नै बजेटमा पुनःनिर्माण गरिएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिडका कारण भक्तपुर नगरपालिकाको पर्यटन आय ठप्प भएको प्रतिकूल अवस्थामा पनि स्थानीय जनताको सहयोगमा उपभोक्ता समितिमार्फत वत्सला मन्दिर पुनःनिर्माण गरेको अवगत गराए ।

    भक्तपुर नपाले पर्यटक शुल्कको अधिकांश रकम सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्य जस्ता विषयहरुमा खर्च गर्दै आएको बताउदै उनले विदेशी सहयोग, गैरसरकारी संस्था(एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (आइएनजिओ) हरूको सहयोगबिना पनि स्थानीय जनताकै सहयोगमा सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्भव छ भन्ने कुरा भक्तपुर नगरपालिकाले पुष्टि गर्दै आएको प्रष्ट पारे । यसकै निरन्तरताको रुपमा नृत्य वत्सलाको मन्दिर पुनर्निर्माण सम्पन्न गरिएको उनले बताए ।

    वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. १ करोड २८ लाख ६२ हजार लागत अनुमान पारित गरेको थियो । उपभोक्ता समितिमार्फत आवधिक योजनामा समावेश गरी काम गर्दा रु. ७७ लाख १३ हजार खर्चमै पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख सुनिल प्रजापतिले बताए । उपभोक्ता समितिमार्फत काम गर्दा लागत अनुमान भन्दा कममा काम सम्पन्न भएको उनको भनाइ छ । यसरी काम गर्दा पचास लाख बढीको नगरपालिकालाई बचत भएको बताइएको छ ।

    काममा स्थानीय श्रम र शीप प्रयोग भएको र सम्पदा संरक्षणमा स्थानीय ज्ञानहरुको पुस्तान्तरणमा यसले प्रेरणा समेत प्रदान गरेको प्रमुख प्रजापतिले प्रष्ट पारे । उपभोक्ता समितिलाई उत्तरदायी र जवाफदेयी बनाएर कार्य गर्दा काम राम्रो हुने र स्थानीय जनताले त्यसको अपनत्व लिने अनुभव सुनाउदै नगर प्रमुख प्रजापतिले जनताको काममा जनतालाई जोड्न सक्नु नै जनप्रतिनिधिको कर्तब्य भएको जिकिर गरे ।

    मन्दिर उद्घाटन समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले पुनर्निर्माणमा गरेको प्रगती उदाहरणीय भएको भनेका थिए । ढुंगै ढुंगाले बनेको शिखर शैलीको वत्सला मन्दिर पुनःनिर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको बिजुक्छेँले बताए । उनले भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको भन्दै सन्तोष समेत व्यक्त गरे ।

    सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन रहेको उनले आरोप लगाए । नगरपालिकालाई पुनर्निर्माणको जिम्मा नदिंदा कतिपय सम्पदा पुनर्निर्माण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष बिजुक्छेंले विदेशी दातामाथि परनिर्भर नभई पुनर्निर्माणमा जोड दिए । नयाँ पुस्तालाई सम्पदाको महत्वबारे प्रशिक्षित गर्दै मौलिक सीप र प्रविधिको ज्ञान हस्तान्तरणका लागि समेत उनले प्रेरित गरे ।

    उक्त अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले भक्तपुरको सम्पदा संरक्षण भक्तपुरबासी जनताले आफ्नो साझा दायित्वको रुपमा लिएको उल्लेख गरे ।

    उनले सम्पदा संरक्षणसम्बन्धी भौतिक व्याख्यासहितको अभिलेख तयार हुनुपर्नेमा जोड दिदै त्यसले इतिहास अध्ययनमा योगदान पुग्ने बिश्वास व्यक्त गरे ।

    नेमकिपाले काठमाडौं उपत्यकाका भूकम्प पीडित जनतालाई दिदै आएको अनुदान चालु राख्नुपर्ने माग राख्दै आएको बताउदै सांसद सुवालले एमसीसी देशघाती भएकोले पाफ्नो पार्टी यसको बिरुद्धमा रहेको प्रष्ट पारे ।

    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी,दरवार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी, संस्कृतविद् तेजेश्वरबाबु गोंग,पूर्व न्यायाधिस गौरीबहादुर कार्की,इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ,पत्रकार लक्ष्मणराज जोशी लगायतले उपभोक्ता समिति मार्फत काम गर्ने मोडल भक्तपुरमा विवादरहित र सफल रुपमा कार्यान्वयन हुनु नै भक्तपुर नगरपालिकाको विशेषता भएको र कार्यसम्पादन प्रभावकारी देखिएको भन्दै प्रसंशा गरेका थिए ।

    नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गरेका थिए । उक्त अवसरमा नृत्य वत्सला मन्दिर उपभोक्ता समिति अध्यक्ष रामहरि गोराले मन्दिर पुनःनिर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुका साथै नगर प्रमुख प्रजापतिलाई मन्दिर प्रवेशद्वारको साचो हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...