परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यक्रम अब अघि बढ्न नसक्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् ।
मन्त्री खड्काले सन् २०१७ पछि विश्वमा नयाँ नयाँ गठबन्धन बनेको र नयाँ रणनीतिहरू आएको बताएका छन् । मन्त्री खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको समेत बताए ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणको मिति तय भइ नसकेको बताउँदै उनले बेला बेलामा उच्चस्तरीय भ्रमण भइरहनु स्वभाविक भएको समेत बताए ।
छलफलमा सांसदहरुले एसपीपीका सम्बन्धमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई प्रश्न गर्दै यसबारे धारणा मागेका थिए । उनीहरुले एसपीपी सम्झौता देशको हितमा नरहेको समेत जिकिर गरेका थिए । सो सम्बन्धमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताए ।