सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । आशिष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
बिहीबार सम्पन्न पाचौं अधिवेशनको बन्द सत्रले आशिष पौडेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको निवर्तमान अध्यक्ष हेमराज ढकालले बताएका छन् । नवनिर्वाचित अध्यक्ष पौडेल निवर्तमान कार्यसमितिका सचिव हुन् । उनी चक्रपथ डट्कममा आवद्ध रहेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा फोटो पत्रकारको रुपमा कार्यरत छन् ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष खुलामा राजकुमार लामिछाने र महिला उपाध्यक्षमा मिना घोरासाइने निर्वाचित भएका छन् । त्यस्तै सचिवमा नारायण थापा, सह-सचिवमा संगम लामा, सह- सचिव समावेशी विपना मुसिख्वाल र कोषाध्यक्षमा सिर्जना खतिवडा निर्वाचित भएका निवर्तमान अध्यक्ष हेमराज ढकालले जनाएका छन् ।
कार्यसमितिको सदस्यहरुमा देवेन्द्र प्रजापति, रसिला थापा, सुस्मिता धिताल र नवराज काफ्ले रहेका ढकालले जानकारी दिए । सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको उनको भनाइ छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिहरुमा निवर्तमान अध्यक्ष हेमराज ढकाल त्यस्तै उपाध्यक्ष राजकुमार लामिछाने र कोषाध्यक्ष सिर्जना खतिवडालाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा रामचन्द्र प्रजापति, रोशनराज अर्याल र सुस्मिता धिताल चयन भएका प्रेस चौतारी नेपालका भक्तपुर जिल्ला इन्चार्ज रमेश गिरीले जानकारी दिए ।
अधिवेशनको उद्घाटन सत्र भने नेकपा(एमाले)का पोलिट्ब्युरो सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका जिल्ला इन्चार्ज महेश बस्नेतले मिडिया पोलुसन बढेकाले सरकार सामाजिक संजाल नियमन विधेयक ल्याउन बाध्य भएको बताए । सामाजिक संजालले समाजलाई भ्रम र अराजकता तर्फ लगिरहेको जिकिर गर्दै उनले त्यसलाई बेलैमा रोक्नपर्ने आवश्यकता औल्याए ।
युथ फोर्स बनाएर आफूहरुले तत्कालीन वाइसीएललाई तह लगाएको दावी गर्दै नेता बस्नेतले साइवर आतंकबाट आफूहरूलाई क्षति पुर्याउने प्रयास गरिएको भएपनि बिचलित नबन्ने बताए । संगठित राजनीतिक पार्टी र त्यसका नेतालाई भन्दा हावामा उडेर सामाजिक संजालमार्फत उदाएका पार्टी र नेतालाई नै कालान्तरमा यसले बढी खतरा पैदा हुने उनको दावी छ ।
नेता बस्नेतले रवि लामिछाने र उनको पार्टी रास्वपाले साइबर वार गरिरहेको र झुटलाई सत्य तथा सत्यलाई छुट सावित गर्न लागिरहेको आरोप लगाए । प्रेस चौतारीमा आवद्ध पत्रकारले त्यसको प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।
अधिवेशनमा विशेष अतिथि रहेका प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जाललाई मिडियाको संज्ञा दिनु नहुनेमा जोड दिए । त्यस्तै उनले सामाजिक सञ्जाल नियमन सम्बन्धी बिधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नगर्ने पनि जिकिर गरे ।
सरकारले ल्याएको विधेयकले सामाजिक सञ्जाललाई मर्यादित र ब्यवस्थित बनाउने बताउँदै उनले सञ्चार जगतले त्यसको स्वागत गर्नुपर्ने तर्क गरे ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले आफूले चाँगुनारायण नगर प्रमुख रहँदा नेपाल पत्रकार महासंघ भक्तपुरको भवन बनाउन २५ लाख रुपैयाँ उपलब्ध गराएको स्मरण गर्दै सो भवन बन्न नसकेको प्रति दु:ख ब्यक्त गरेका थिए ।
उद्घाटन सत्रमा जिल्ला अध्यक्ष वचन देउजाको पनि विशेष आतिथ्यता रहेको थियो । त्यस्तै, जिल्ला सचिव लगायतका नेताहरु समेत सहभागी रहेका थिए । प्रेस चौतारीको तर्फबाट भने अध्यक्ष बस्नेतका अलावा केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, केन्द्रीय सदस्य मोहन पन्त, कविता अधिकारी,अन्जना सिल्पकार लगायतका नेताहरु र उपत्यका प्रदेशबाट इन्चार्ज हेमराज सिलवाल, अध्यक्ष बिष्णु आचार्य लगायतका नेताहरु सहभागी रहेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज रमेश गिरीले जानकारी गराए ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक र भक्तपुर अध्यक्ष सुन्दर सिल्पकारले शुभकामना मन्तव्य राखेका सो कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी, प्रेस सेन्टर भक्तपुरका अध्यक्ष मदन ढुङ्गाना लगायतको पनि आतिथ्यता रहेको थियो ।
सच्याइएको : ११ सदस्यीय कार्यसमिति हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक ।