तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज (शुक्रबार) दिउँसो ३ बजे सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको छ । हिजो प्रतिवेदन लेखन कार्य पूरा भएपछि समितिले शुक्रबार दिउँसो सभामुख सापकोटालाई बुझाउन लागेको समिति सचिवालय स्रोतले जनाएको छ ।
बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिने गरी समितिले प्रतिवेदन तयार पारेको छ । बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको छ ।
समितिले नै मन्त्रालयको सिसिटिभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको बताउँदै यसैका आधारलाई सफाइ दिएको हो ।