नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशममा कार्यरत केन्द्रीय समिति सदस्य र प्रदेश पदाधिकारीको बैठकमा ‘काँग्रेसले भाउ खोजे एमालेसंग तालमेल’ गर्ने अभिव्यक्ति नदिएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले प्रष्ट पारेका छन् । एक दैनिक पत्रिकाको अनलाइन संस्करणमा उक्त शिर्षकमा आइतबार समाचार प्रकाशन भएपछि सहयात्रीले समाचार गलत भएको प्रष्ट पारेका हुन् ।
बागमती प्रदेश अध्यक्ष सहयात्रीले उक्त सञ्चार संस्थाले क्लिक बिट पत्रकारिता गरेको आरोप लगाएका छन् । आधिकारिकता नलिई बिषयलाई बंग्याएर टिआरपिको लोभ गर्दा स्वयं सञ्चार संस्थाकै गरिमाको कद होचो भएको उनको भनाइ छ । उनले विषयलाई हल्काफुल्का र मनगढन्ते बनाउन नहुनेमा जोड दिदै सञ्चार संस्थाले आफ्नो गरिमा र विश्वसनीयता कायम राख्नु पर्ने सुझाव दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठक आइतबार ललितपुरको सानेपामा सम्पन्न भएको हो । प्रदेश अध्यक्ष सहयात्रीले जनाए अनुसार आइतबार बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धन भित्र रहेका बामपन्थीहरु स्वभाविक लेफ्ट आईडोलोजिकल पक्ष भएकोले चारदल एकपक्ष जस्तो हुने र कंग्रेस अर्को पक्ष जस्तो भएर गठबन्धनलाई अझ बलियो बनाउनुपर्ने धारणा राखेका थिए । केन्द्रीय गठबन्धनको मर्मलाई आत्मसात गर्दै चुनावी मोर्चामा एकतावद्ध भएर लाग्न अध्यक्ष प्रचण्डले निर्देशन दिएका सहयात्रीले जानकारी गराए ।
उक्त कार्यक्रममा सहभागी भक्तपुरका नेता एवं नेकपा( माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले पनि अध्यक्ष प्रचण्डले गठबन्धन बिरोधि अभिव्यक्ति नदिएको दावी गरे । उनले गलत मनसायले वा गलत सूचनालाई आधार मानेर समाचार प्रेषित भएको हुनसक्ने बताए ।