News Portal

  • भ्रष्टाचार प्रमाणित गर्नेलाई एक लाख पुरस्कार दिने मेयर थापाको उद्घोष

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ भदौ २०८१
    ३६३ पटक
    भक्तपुर, ७ भदौ २०८१

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले १ रुपैयाँको भष्टाचार प्रमाणित गर्नेलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएका छन् । आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने जिकिर गर्दै उनले सोकुरा बताएका हुन् ।

    श्रावणी मेला समापन कार्यक्रममा बिहीवार डोलेश्वर महादेवको अगाडी उभिएर उनले भने, ”मैले एक रुपैयाँ मात्र पनि भ्रष्टाचार गरेको प्रमाण ल्याउनुस, एक लाख रुपैयाँ पुरस्कार दिन्छु ।” आफू किसानको छोरा भएको र खानपुग्ने जग्गाजमिन रहेको भन्दै भ्रष्टाचार गर्नु नपर्ने उनको भनाइ छ । ”मेरो ३ जनाको परिवारमा छोरा अमेरिकामा सरकारी जागिरे छ, हामी दुई बुढाबुढीलाई भ्रष्टाचार गरेर खानुपर्ने अवस्था छैन ।” उनले भने ।

    काम नपाएका अल्छीहरुले सामाजिक संजालमा सूर्यविनायकमा भ्रष्टाचार छ भन्दै काम देखाएका उनले आरोप लगाएका छन् । त्यसकै पछिपछि केही पत्रकार कुदेका उनको आरोप छ ।

    नगर प्रमुख थापाले आफ्नो पारिश्रमिक भत्ता भन्दा बढी २७ लाख रुपैयाँ आफूले अघिल्लो कार्यकालमा सामाजिक सेवामा लगाएको जानकारी गराउदैं यो कार्यकालमा पनि पारिश्रमिक भत्ता सूर्यविनायककै सेवामा खर्च गर्ने जिकिर गरे । पत्रकार सम्मेलननै गरी यसबारे जानकारी गराउने उनको भनाइ छ ।

    नगरपालिकाले शिक्षा, स्वास्थ्य र खानेपानीलाई विशेष प्राथमिकताका साथ् अघि बढाएको उनले बताए । नगरका फराकिला र कालोपत्रे बाटोघाटो र भौतिक संरचनाले सूर्यविनायकको बिकासबारे बताउने भन्दै उनले कृषी र पर्यटनलाई सम्वृद्धिको आधार बनाउन तल्लीन रहेको तथ्य पनि प्रस्तुत गरे ।

    डोलेश्वर महादेव केदारनाथको शिर घोषणा भएको १५ वर्ष पूरा भएर १६ वर्षमा प्रवेश गरेको र दिन प्रतिदिन पर्यटकको आकर्षण बढ्दै गएको उनले बताए । स्थानीय सरकारको अधिकार प्रयोग गर्दै केदारनाथको शिर डोलेश्वर घोषणा भएको दिन भदौं ६ गते स्थानीय पर्व बिदाको प्रचलन चलाएको र यसले यो क्षेत्रको प्रचारप्रसारमा मद्दत मिल्ने उनले बिश्वास व्यक्त गरे ।

    सो अवसरमा नगर प्रमुख थापाकी पत्नी अम्बिका थापा पनि उपस्थित थिइन् ।

    कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले श्रावणी मेला र डोलेश्वर मन्दिरका कारण स्थानीय उत्पादनले बजार पाएको र आम्दानीको श्रोत बढेको बताइन ।

    त्यसैगरी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले धेरै दान दिने व्यक्तिलाई सम्मान गर्दा समाजमा विभेद उत्पन्न हुनसक्ने तर्फ सचेत गराइन । दान गर्न नसक्नेको मनोविज्ञान बुझी दानलाई गोप्य राख्नुपर्ने तथा करकाप र देखासेखी रहित बनाउनुपर्ने उनले बताइन ।

    कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले ३८ दिनसम्म चलेको मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी गराए । स्थानीयले मेलाप्रति अपनत्व लिएर स्वयंसेवा गरेका र मेलालाई भब्य बनाएका उनले बताए ।

    डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव हरिशरण बस्नेतले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष रामेश्वर बोहोराले स्वागत मन्तब्य राखेका र कोषाध्यक्ष रत्नप्रसाद छुकांले मेलाको आम्दानी खर्च सार्वजनिक गरेका सचिव कविराम थापाले बताएका छन् ।

    कार्यक्रममा रास्ट्रपति चुरे संरक्षणकी सदस्य,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु, इन्द्रबक्स गणका गणपति मोहनबहादुर थापा, जगाती वृत्तकी डिएसपी दिप्ती कार्की लगायतको समेत आतिथ्यता रहेको थियो । कार्यक्रम अघि प्रमुख अतिथि लगायत अतिथिहरुले डोलेश्वर महादेवको पूजाअर्चना गरेका थिए ।

    बिहीवार डोलेश्वरको चारै ढाेका खुला गरिनुका साथै सबै श्रद्धालुलाई गर्भगृहमै प्रवेश गरी पूजाअर्चना गर्नसक्ने व्यवस्था मिलाइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...