जाजरकोटको दुर्गम जुनीचाँदे गाउँपालिकाका वड्कुले, मौगान, डाडाकोट, आली, देसीपाटा, रावलगाँउ, कोर्ताङ, पराले, मजकोट, भैरवटोल, स्याला, लगाएतका गाउँमा भाईरलको प्रकोपले स्थानियलाई तीन साता देखि सताईरहेको छ । स्थानिय बासिन्दा र उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार हाल सम्म १३ जनाको ज्यान गैसकेको छ ।
यद्यपी जिल्ला स्वास्थ्यले भाईरलले नभई दिर्घरोगी र चिसोले ज्यान गएको दावी गरेको छ । भाईरलको लक्ष्यण नै देखिएर तीन जनाको मात्र ज्यान गएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीको भनाई छ । मृत्यु हुनेमा पाँच बर्ष मुनिका सात जना र ५० बर्ष माथिका ६ जना रहेका छन् । ज्यान गुमाउनेहरु आर्थिक रुपमा निकै विपन्न परिवारका छ्रन । सात दिने शिशु देखि ७९ बर्षिय बृद्ध सम्मले ज्यान गुमाउन पुगेका छन् । मृत्यु भएका मध्य तीन जना मात्र स्वास्थ्यकर्मीको सम्पर्कमा आएका थिए ।
स्वास्थ्यकर्मीले दिएको औषधीले काम नगर्दा उनीहरुको ज्यान गएको पिडित परिवारले जनाएका छन् भने स्वास्थ्यकर्मी आफुहरुको सल्लाह अनुसार नियमित औषधी नखाएको र फलो अपमा नआउँदा ज्यान गएको बताएका छन् । प्रकोप भएको जानकारी आउने वित्तिकै प्रयाप्त औषधी र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा खटाईएको जिल्ला स्वास्थ्यले दावी गरिरहेको बेला शिविर संचालन भैरहेको मजकोट स्थित भैरब माविमा पुगेका स्थानिय एक शिशुको औषधी अभावमा ज्यान गएको घटनाले सरकारी दावी गलत सावित गरिदिएको छ । रुघाखोकी, ज्वरो र निमोनियाले थलिएका वडा नं २ मौगानाका ३६ दिने शिशु भुपेन्द्र नेपालीको निमोनिय विरुद्धको खोप अभावमा ज्यान गएको थियो । सरकारले औषधी र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा प्रयाप्त खटाएको बताईरहेका बेला स्थानियले भने अप्रयाप्त र अपुग भएको गुनासो गरेका छन् । सरकारी स्वास्थ्य संस्था र निशुल्क औषधी प्रति अविश्वासका कारण विरामीहरु निजी मेडिकल वा धामीझाँक्रीसँग जाने गरेको स्थानिय सुरेन्द्र सिहले बताए ।
२०६६ सालमा महामारीको रुपमा जिल्लामा फैलिएको झाडापखालाबाट मजकोटमा मात्र एक दर्जनले ज्यान गुमाएका थिए । भने जिल्लाभर तीन सय बढीको मृत्यु भएको थियो । हजारौ विरामी परेका थिए । त्यस्तै २०७२ सालमा प्रकोपको रुपमा जाजरकोटमा फैलिएको स्वाईन फ्लुबाट तीन दर्जनको ज्यान गएको थियो । गाँउमा मानिसहरु धमाधम विरामी पर्ने ज्यान जाने क्रम नरोकिएपछि स्थानिय पहिलैकै जस्तो अवस्था आउने हो कि भनि त्रस्त छन् । प्रभावित गाँउमा धेरैजसो बालबालिका र जेष्ठनागरिक विरामी परेका छन् । एकै घरमा चार, पाँच जनासम्म विरामी परेको देखियो स्थानिय रेशम खड्काले भने शुरुमा मजकोटमा मात्र देखा परेको भाईरलको प्रकोप छिमेकी गाँउहरुमा सदै गएपछि स्थानिय पहिलैकै जस्तो गरी महामारी फैलने हो कि भनि चिन्तित भएका छन् ।
कसरी फैलियो प्रकोप ?
अरु बेला सात आठ जना रुघाखोकी र ज्वरोका विरामी आउँथे जुनीचाँदे १ स्थित बड्कुले स्वास्थ्य चौकीमा तर पुस १२ गते एकै दिन १६ जना विरामी आए । विरामी बढ्दै जाँदा २० गते एकै दिन ६४ जना विरामी उपचारको लागी आएपछि मात्र जिल्ला स्वास्थ्यमा जानकारी गराईएको थियो । प्रकोप १२ गते देखि भएपनि ८ दिन पछि मात्र जिल्ला स्वास्थ्यले जानकारी पाएको थियो । जिल्ला बाहिर गएका स्वास्थ्यचौकी ईन्चार्ज हरिबहादुर शाही पनि १९ गते मात्र गाँउ फर्किएका थिए । स्वास्थ्यचौकीमा निशुल्क पाईने औषधी समेत थिएन । २२ गते मात्र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा एक टोली उपचारको लागी पठाईएको थियो । चालु आर्थिक बर्ष देखी स्वास्थ्यको जिम्मा स्थानिय तहलाई दिईएको छ तर, जुनीचाँदे गाँउपालिकाले स्वास्थ्यको लागी बजेट नै छुट्याएको छैन ।
सरकारले औषधी खरीदका लागी दिएको अनुदान पनि अहिलेसम्म निकासा भएको छैन । जिल्लाबाट पठाएको औषधीले झारा टार्ने गरेपछि स्थानिय उपचारको लागी आउँदैन्थे । स्वास्थ्यकर्मीका अनुसा कमजोर आर्थिक अवस्थाका कारण रोगप्रति रक्षा शक्ति कमजोर भएका, कुपोषणले ग्रस्त भएका, घरमा न्यानो कपडा नभएका र प्रयाप्त खानेकुराको अभाव भएकाहरु विरामी परेका छन् । त्यसका साथै पानी उमालेर नखाने, बासी तथा चिसो खान खाने, सरसफाईमा ध्यान नदिनाले पनि रोग बल्झिएको हो । घरघरमा शौचालय छन् तर ति शौचालयमा दाउरा, नल र पराल राखिएको छ । प्रयोग विहिन छन् ।
अधिकांश मानिसहरु खुला दिसापिसाव गर्छन । स्वास्थ्य संस्थासम्मको पहुँच अभाव र भरपर्दो तथा विश्वसनिय सेवा नहुँदा उपचारको लागी स्वास्थ्य संस्था सितिमिति जाँदैनन् । भौगोलिक विकटता, जनचेतनाको अभाव, सुलभ र भरपर्दो स्वास्थ्य सेवा प्रदान नहुनु नै जाजरकोटबासीको लागी पटक पटक सरुवा रोगको प्रकोपले सताईरहने कारण बनेका छन् । प्रकोप र महामारी फैलिएको बेला सरकारी र गैरसरकारी निकाय केही तातेको जस्तो देखिने तर केही समय पछि जिल्लाको स्वास्थ्य सेवामा सुधारका लागी खासै पहल नहुनु पनि बर्षेनी रोग बल्झिनुको अर्को कारण हो । अत्याधिक चिसो रोग फैलिनुको अर्को कारण हो । तापक्रम नबढे सम्म केही दिन भाइरल रहन्छ तर, तातो बढ्ने वित्तिकै विस्तारै कम हुदै जाने चिकित्सकको भनाई छ । तर जाजरकोटमा फैलिएको भाईरलको प्रकोपलाई सरकारले गंभिर रुपमा नलिएको स्थानियको अरोप छ । तीन साता पुग्न लाग्दा पनि सरकारले रोग पहिचान गर्न नसकेको जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसीको भनाई छ ।
के हाे समाधानको बाटो ?
जाजरकोटमा पटक–पटक प्रकोपको रुपमा देखा पर्ने सरुवा रोगको पुनः फैलन नदिन अल्पकालिन र दिर्घकालिन रणनिति बनाउनु आवश्यक छ । अल्पकालिन काम अन्र्तगत जनचेतनामुलक कार्यक्रम संचालनका साथै स्थानिय स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सुधार ल्याउन जरुरी छ । स्थानियको स्वास्थ्य संस्थासँगको पहुँच बढाउन जरुरी छ । बेलाबेला घुम्ति शिविर मार्फत उपचार सेवा दिनु आवश्यक छ । त्यस्तै दिर्घकालिन रणनिति अन्र्तगत यहाँका नागरिकको आय स्रोत बढाई पोषणको अवस्थामा सुधार ल्याउन र रोग प्रतिरक्षा शक्ति बढाउन आवश्यक देखिन्छ ।
स्थानिय सरकारले पनि सवै नागरिकलाई सहज तरीकाले स्वास्थ्य सेवा प्रदान गर्ने गरी दिर्घकालिन रणनिति र कार्यनिति बनाई काम गर्न जरुरी छ । यातायातको सहज पहँच विस्तार गरि जनतालाई उपचारको लागि आवतजावतमा सहज बनाउन जरुरी छ । प्रदेश स्तरीय रुपमा रोग पहिचानको लागी प्रयोगशाला स्थापना गर्नु पर्ने आवश्यकता देखिन्छ । त्यसका साथै ५० शैयामा स्तरोन्नती भएको जिल्ला अस्पतालमा विशेषज्ञ सेवा संचालनको लागी सरकारले आवश्यक कदम चाल्नुका साथै जिल्लाका दुई स्थानम १५ शैया सम्मका अस्पताल स्थापना गर्नु पर्ने देखिन्छ । जिल्लाको गरीवी, अशिक्षा, अचेतना र अविकासलाई निराकरणका लागी सरकारी तथा गैरसरकारी निकायले ठोस र विशेष कार्यक्रम ल्याउनु पर्छ । अनि मात्र सिटामोल र जिवनजलको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।