०५९ मा नियतिले खुमबहादुर खडका र मलाई थुनाको एउटै कोठामा पुर्यायो । पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई पनि अख्तियारले थुनामा राख्ने निर्णय गरेको हुँदा हामीसंगै थुनिएका छौं । थुनाको हाम्रो यो सहयात्रा आजदेखि प्रारम्भ भएको छ ।
यहां खुमबहादुर जी र म लगभग १५×१२ फिटको एउटा कोठा जसलाई प्रहरीहरूले आफूहरू बस्ने काममा प्रयोग गर्दथे, त्यसैमा बसेका छौं । माटोको सतह मुन्तिर बनेको तहखाना जस्तो यस कोठामा दिनमा एकरढेड दिनको घन्टा जति झारपातबाट छानिएको घाम आउने गरेको छ ।
यस कोठाको दक्षिण तिरको एउटा आधिमात्र खुल्ने झ्यालबाट बिहानी पख बाहिरी सडकको पेटीमा फलफूल र तरकारी किन्नेहरूको घुइंचोको झिनो गतिविधिमात्र देखिंदा, समाजको बाकी गतिविधिका सबै पक्षबाट हामी वञ्चित छौं भन्ने आभास पाइन्छ ।
यस कोठाको फलामे ढोका बाहिरसंगै टास्सिएको सानो चर्पी छ, जहांको घोर दुर्गन्धले नुहाउन र मुख धुन पनि सम्भव छैन । त्यसका लागि हामी माथिल्लो तलास्थित प्रहरी जवानहरूले प्रयोग गर्ने चर्पीलाई प्रयोग गर्न दिन अनुरोध गरेका छौं ।
एक जना प्रहरी जवानले खुमबहादुर जीलाई खबर गरेछन् त्यसो गर्न मिल्दैन रे । कोठामा एकदुर्इवटा कपडा झुन्ड्याउने ह्यांगरको व्यवस्था भइसकेको छ, मिनरल वाटरको वोटललाई बीचबाट आधी काटेर स्ट्रे बनाइसकेका छौं । खुमबहादुर जी भन्नु हुन्छ, जेपी जी कति नै बस्नु पर्छ र रु किन यी सब गरिरहनु भएको ? मलाई लागेको छ–हामी चाँडै छुटदैनौं ।
झ्यालमा प्रायः प्रहरीले प्रयोग गर्ने नीलो रंगको पर्दा लगाइको छ । छिनछिनमा पर्दा उघारेर प्रहरीहरूले हेर्ने गरेका हुन्छन । यसबाट कोठाको गोपनीयतामा ड्युटीवाल प्रहरी जवानहरूको दृष्टि आक्रमणबाट रक्षा हुने अवस्था छैन ।
तैपनि हामी सन्तोषका साथ बसेका छौ । सीमितरूपमै भएपनि सानातिना वर–व्यवस्था मिलाएर हाम्रो थुना गृहस्थी चलाउन शुरू के गरेका थियौ–हामीलाई एक्कासि, बिनाकारण, त्यसमा पनि मध्यरातिको समयमा थुना सार्ने भनी आएको आदेशले वास्तवमा हुन्डरी वतासमा परेको चराको गुड झैं भएको थियो हाम्रो थुना गृहस्थी ।
तर, यो परिस्थिति तत्काल हाम्रालागि छलफलको विषय हुन सक्दैनथ्यो । अचानक बदलिएको अवस्थामा झिटी गुन्टा बाध्नु र घरमा यस अनपेक्षित बसाइ–सराईको खबर गर्नु नै तत्कालको मुख्य विषय थियो ।
यस्तो अवस्थामा अनामनगर थुनाका इन्चार्जलाई कृपापूर्वक घरमा खबर गरिदिने अनुरोधका साथ हामी अर्को बसाई निम्ति यात्रामा लाग्यौं । हाम्रो सानो यात्राको अन्त्य केही बेरपछि नै महाराजगञ्जस्थित सशस्त्र प्रहरी गण नं २ मा भयो ।
महाराजगञ्जस्थित वीरेन्द्र प्रहरी अस्पतालको पछाडि भागमा रहेको सशस्त्र प्रहरी बलको २ नं गण हाम्रा लागि नयां थियो । गृहमन्त्रीका रूपमा स्वयं खुमबहादुर पनि यहां कुनैपनि औपचारिक कार्यवश आउनुभएको थिएन । यहां हाम्रो बस्ने व्यवस्था कार्यालय भवन कै पहिलो तलाको एउटा कोठामा गरिएको छ ।
केही बेरमै हामीले थाहा पायौं, आजै बिहान हामीलाई यहां ल्याउने जानकारी आएपछि यस कोठालाई सकभर प्लास्टिकको टाट ओछ्याएर, एउटा सोफा, दुर्इवटा वेडहरू र सरसफाइ गरेर अपेक्षाकृत सुविधाजन्य बनाइएको रहेछ । यहां आइसकेपछि खुमबहादुर जीलाई पनि लाग्यो, अब हामी लामो समयसम्म थुनामै बस्नुपर्ने हुन्छ ।
सिंहदरबार थुनाको तुलनामा यो स्थान अपेक्षाकृत सुविधाजन्य नै हो । पहिलोपटक झट्ट प्रवेश गर्दा काठमाडौंमा डेरा गरी बस्ने सानो तहको कर्मचारीको वेडरूम कम बैठक कम भान्साजस्तो देखिने यस कोठामा हाम्रालागि सबैभन्दा सुविधाजन्य पक्ष सानो तर टांसिएकै बाथरुम हो ।
यसअघि अफिसको रूपमा रहेको यस कोठालाई बन्दिगृहमा रूपान्तरित गर्न खास प्रकारका प्रयासहरू गरिएका छन् । सायद यस्का केही भिन्नै तौर तरिकाहरू हुन्छन् । कोठाका झ्यालहरूमा रहेका भेन्टिलेसनका खापाहरूमा ग्रिल नभएकाले क्रुरतापूर्वक किला ठोकेर त्यसलाई बन्द गरिएको छ ।
वाथरुमको भित्रि भागबाट ढोका बन्द गर्न लगाइको छेस्कनीलाई उखेलिएको छ । मूल ढोकाको छेस्कनीलाई पनि बल पूर्वक उखेलिएको छ । छतमा बिजुली पंखा झुन्ड्याउन लगाइएको अंग्रेजीको यू आकारको हुकलाई हथौडाले हिर्काएर छत तिरै मोडिएको छ । निराशाले विक्षिप्त भएर हामी झुन्डिएर आत्महत्या गर्न नसकौं भनेर यसो गरिएको होला । राम्रो कोठालाई यसरी दुःख पूर्वक थुनुवा कोठामा रूपान्तरित गरिएको प्रष्टै देखिन्छ ।
यसका अतिरिक्त हाम्रो विशेष निगरानीकालागि छुट्टै प्रहरीहरूको व्यवस्था गरिएको छ । हालै भर्ना भएका केही युवा र अनुभवी अधिकृतहरूलाई समेत खटाइएको छ ।
हाम्रो तत्कालका व्यवस्थाका लागि यस गणका गणपति एस पी र अन्य अफिसरहरू आएका थिए । वास्तवमा हामीप्रति उनीहरूको चासो प्रशंसनीय छ । बास–व्यवस्था आदि सुविधाका सम्बन्धमा उनीहरू बडो फरासिलो देखिए तर भरे(भोलि बिस्तारै सोध्नुपर्ने एउटा कुरा मैले पहिलो भेटमै सोधेर आफूलाई दुःखित तुल्याइसकेको छु ।
मैले सोधेको थिएः हामीलाई भेटघाट गर्न दिनेबारे के नीति छ रु उनीहरूले रत्ति पनि अपठ्यारो नमानी भनेः माथिको आदेशबिना यो सम्भव छैन । वास्तवमा रातिका बेला निक्र्यौल गर्नुपर्ने विषय यो थिएन । जे होस्, बासका लागि भने आज लगभग यस कोठाका सबै आवश्यक व्यवस्थाहरू पूरा भएका छन् ।
हामीले पनि अब थप अन्यथा नभए यहीको परिवेशमा आफ्ना दिनचर्यालाई नियमित गर्न चाहेका छौं । तर, बिहान सबेरै यो सांघुरो सानो कोठामा थप एक खाट हुलियो । खुमबहादुर जीले प्रहरी भाईलाई सोध्न्र भो–को आउने हो ? उनलाई थाहा थिएन । यो खाट चिरंजीवि वाग्लेका लागि थियो । उहांलाई यही ल्याईयो ।
मलाई र खुमबहादुर खड्कालाई अनामनगरस्थित विशेष अदालतमा प्रस्तुत गरियो । हाम्रा वकिलहरूले अनुसन्धानका लागि थुनामा राख्नु नपर्ने तर्कका साथ सामान्य तारेखमा वा धरौटीमा रिहा गरीनुपर्ने बहस गरेका थिए । यद्यपि, वर्तमान अवस्थामा अदालतले हामीलाई तारेखमा वा धरौटीमा छोड्ने कुराको मलाई कुनै आशा थिएन ।
हामीलाई अदालतमा पुर्याइदा त्यहां स्थानीय प्रेसको बडो ठूलो संख्यामा उपस्थिति थियो । विगत केही दिनदेखि यहांका अखबारहरू संसदीय राजनीतिका विरुद्ध बनाइएको जनमतबाट बढी प्रभावित भएका छन् । यसको प्रभाव स्वरूप प्रेसले हामीलाई त विरोधको तारो नै बनाएको छ । हामीलाई पक्राउ गरिएको राजनीतिक मनसाय बुझ्नुको साटो सर्वत्र अख्तियारको वाहवाही भइरहेको छ ।
विशेष अदालतमा लामो बहस भयो । अदालतले हामीहरूलाई थप २५ दिन थुनामा राख्ने आदेश सुनायो । यसबाट म खासै आश्चर्यमा छैन । यस निर्णयलाई अदालतमा उपस्थित कतिपय मित्रहरूले हाल मुलुकमा सिर्जना गराइएको भ्रष्टाचार विरोधी जनमतको प्रभाव भएको राय व्यक्त गरेका थिए ।
बहसका दौरान हामीबाट भ्रष्टाचार भएको कुनै ठोस विषयमा भन्दापनि अख्तियारले खडा गरेको प्रचारको मात्रा बढी सशक्त रहेको अनुभव भयो । अख्तियारले सिर्जेको यस्तो प्रचारको प्रभावबाट अक्षुण्ण रहनुपर्ने अदालत जस्ता निकायहरूसमेत प्रभावित हुदै गएको डरलाग्दो परिस्थिति बन्नथालेको मलाई आभाष भएको छ ।
अब खुमबहादुर जीले पनि भन्न थाल्नु भयो–लामै बस्नु पर्छ क्यार बरू हामीलाई जेलमा सारियोस् । तर, अहिले हामी अख्तियारको थुनुवा भएकाले यो सम्भव नभएको मेरो तर्क छ ।
राजाले असोज १८ गते शासनसत्ता आफ्नो हातमा लिएपछि लोकेन्द्रबहादुर चन्दको सरकारलाई मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, स्थानीय निकायको निर्वाचन सम्पन्न गराउने, प्रतिनिधिसभाको निर्वाचन गराउने, सबै तहबाट भ्रष्टाचार हटाउने जस्ता जिम्मेबारीहरू दिएका छन् । यो नेपाली जनताले तत्कालै ठम्याउन नसक्ने राजाको ठूलो पाखण्ड हो ।
मेरो बयानको क्रममा अख्तियारका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले आफ्नो शेखी देखाउदै मलाई भनेका थिएः मुलुकमा राजनीतिक दलहरूको राज्य चलाउने बारे कुनै एजेन्डा भएन । त्यसैले राजाद्वारा केही निश्चित एजेन्डाहरू निर्धारण गरेर राज्यको कार्यकारिणी अधिकार लिइएको हो । यिनैमध्ये भ्रष्टाचार हटाउने राजाको एउटा मुख्य एजेन्डा हो ।
तसर्थ राजाको सदाशयतालाई साकार पार्न हामीउपर कारबाही गरेरै छोड्छौं । सूर्यनाथका सबै कुराहरू सुन्न विवश रहेको मेरा सामुन्ने उनी बडो सहजताका साथ रत्ति पनि आफ्नो दम्भलाई नलुकाएर बोल्ने गर्छन् । म पनि बडो रमाइलो मानेर सुनिरहेको हुन्थे । सायद शाखा अधिकृत वा अझ त्यसभन्दा पनि तलको तहमा रहदांदेखि मजस्ता राजनीतिक मानिसहरूका अगाडि नतमस्तक रहिआएका सूर्यनाथ आज सजिलै राजनीतिक मानिसहरूलाई स्वेच्छाको भरमा थुन्न सक्ने अवस्थामा पुग्दा देखाउने व्यवहारलाई विथ्थामा के को अहंकार भन्नु । मैले सामान्य रूपमा नै लिएको छु ।
तर, यसबाट भने अब मुलुकमा राजाको यस्तो इच्छालाई मूर्तरूप दिन हाल कतिपय सूर्यनाथहरू जन्मेको र तम्सेको विषयमा मलाई कुनै शंका रहेन । आजभोलि सूर्यनाथ अख्तियारको प्रमुख नियुक्त भएको विषयमा विभिन्न प्रकारका चर्चाहरू चलेको छ ।
यस विषयलाई लिएर कांग्रेसका मानिसहरू आपसमा शंका उपशंका पनि गर्दैछन् । कसैले महेश आचार्यलाई त कोहीले सुशील कोइरालालाई दोषि देख्दैछन् । तर, मलाई लागेको छ, यी सब कुराहरू एउटा भिन्नै एजेन्डाअनुसार सम्पादित भएका हुन् ।
वि।सं। २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलताको लगत्तैपछि शक्ति गुमाएका राजा र जनआन्दोलनकारी जनताका सरकारको बीच सार्वजनिक रूपमा देखिएको पहिलो विवाद नै संविधान निर्माण गर्ने आयोगका बारेमा भएको हो ।
त्यसबेला राजाले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको तथा अन्य दलहरूको परामर्श बेगर नै विश्वनाथ उपाध्यायको अध्यक्षतामा आफू खुसी एक आयोगको घोषणा गरेका थिए । यसमा होराप्रसाद जोशीहरू पनि थिए । यसमा राखिएका कतिपय मानिसहरूलाई पछि विवादका कारणले हटाइयो ।
जनआन्दोलन पछिको राजा र जनताको बीचको यो पहिलो विवादित विषयको रूपमा सामुन्ने आएको आयोगमा यिनै सूर्यनाथ उपाध्याय राजाबाट सदस्यसचिव राखिएका थिए । संविधानको निर्माताहरू सरह नै । राजाबाट एक्कासि भएको यस घोषणको सबैभन्दा पहिला नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले सार्वजनिकरूपमा विरोध गरेका थिए र त्यसपछि मात्र यो मुद्दा बन्यो । गणेशमानजीले राजाको यस कदमलाई जनआन्दोलनको मनशाय विपरीतको कार्य भनी कडा रोष व्यक्त गरेपछि यसको समाधान स्वरूप राजाबाट यस आयोगलाई फिर्ता लिइयो र सरकारको सुझावअनुसार अर्को आयोगको घोषणा भयो ।
जसमा केही महत्त्वपूर्ण हेरफेर भयो । यस हेरफेरमा यिनै सूर्यनाथ उपाध्याय सदस्य–सचिवबाट हटाइए । उनीपछि आयोगमा सहयोगी कर्मचारीको रूपमा मात्र रहे । यसबाट सन्देह रहित रूपमा पुष्टि हुन्छ कि सूर्यनाथ मुलुकमा प्रजातन्त्र आएकै दिनदेखि प्रजातन्त्रलाई अफाप सावित गर्ने अभियानका भरपर्दो पात्र हुन् ।
भलै उनको यो पछिल्लो नियुक्ति कसैको इशारामा जोसुकैले गरेको होस् । त्यसैले आज मुलुकमा राजाको इच्छाअनुसारको परिणामहरूलाई हासिल गराउने काममा एउटा निर्धारित एजेन्डालाई सम्पादन गराउने दायित्व यिनको जिम्मामा पनि परेको छ । आज संयोग भनौं वा जे, हामी पनि यसका पात्र हुनपुगेका छौं ।
आज यिनीहरूलाई असोज १८ गतेका दिन राजाले चालेका कदमलाई विविध कोणहरूबाट सान्दर्भिक र आवश्यक थियो भन्ने देखाउनु छ । मलाई पूरा विश्वास छ, यो कार्य पूरा नहुञ्जेलसम्म अख्तियार जस्तो संस्थाहरूको गलत प्रयोग रोकिने छैन । कि त राजाको अभियान असफल हुनु पर्यो ।
तसर्थ अब राजाको इच्छाको औचित्य प्रमाणित नहुञ्जेलसम्म हामी थुनाबाट छुट्ने छैनौं भन्ने मेरो विश्वास भएकै कारणबाट थुनाका दिनहरूलाई उपयोगी बनाउनुको कुनै विकल्प छैन । (खुमबहादुर खडकासंग थुनामा रहदां कार्तिक १५, १६ र १७, ०५९ को केही स्मरणहरू)
(जयप्रकाश आनन्दको फेसबुकबाट)