News Portal

  • तीन महत्वपूर्ण विषयमा समझदारी

    सुरेशकुमार यादवनयाँदिल्ली, २५ चैत
    ५७५ पटक
    नयाँदिल्ली, २५ चैत

    प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणमा रेलमार्गबाट काठमाडौँलाई भारतको रक्सौलसम्म जोड्ने, दुई देशबीच जलयातायातबाट समेत सम्पर्क विस्तार गर्ने र कृषि क्षेत्रमा नयाँ साझेदारी स्थापना गर्ने तीन महत्वपूर्ण विषयमा समझदारी भएको छ ।

    प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटघाट र छलफलपछि जारी १२ बुँदेसहित यी तीन विषयमा छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरिएको छ । भारतको तीनदिने राजकीय भ्रमणमा जानुभएका प्रधानमन्त्री ओली र समकक्षी प्रधानमन्त्री मोदीबीच शनिबार द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । त्यसलगत्तै १२ बुँदेसहित रेल, जल यातायात र कृषिसँग सम्बन्धित तीन छुट्टाछुट्टै संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो ।

    १२ बुँदे प्रेस विज्ञप्तिमा दुवै देशका प्रधानमन्त्रीले बहुआयामिक नेपाल–भारत सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै दुई देशका सरकार, निजी क्षेत्र र जनस्तरमा झाँगिएको साझेदारीको स्वागत गरिएको छ ।

    साझा ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको सम्पर्कमा आधारित मैत्रीपूर्ण नेपाल–भारत सम्बन्धको सुदृढ आधारशीलाको स्मरण गर्दै दुवै प्रधानमन्त्रीले नियमित रूपमा उच्चस्तरीय राजनीतिक भेटघाटलाई निरन्तरता दिन बचनबद्धता व्यक्त गरेका छन् ।

    भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग नेपाल सरकारको प्राथमिकताअनुसार भारतले सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । नेपाल सरकारले भारतसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउन उच्च महत्व दिएको बताउँदै द्विपक्षीय सम्बन्धलाई भारतको विकास र समृद्धिबाट नेपालको आर्थिक रूपान्तरण गर्न चाहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको वक्तव्यमा जनाइएको छ ।

    प्रधानमन्त्री मोदीले भारत सरकारको ‘सबैको साथ सबैको विकास’ दृष्टिकोण समावेशी विकास र समृद्धिका निम्ति छिमेकीसँग सहकार्य गर्ने मार्ग निर्देशक नीतिकै रूपमा रहेको बताए ।

    प्रधानमन्त्री ओलीले युगान्तकारी राजनीतिक परिवर्तनपछि नेपाल सरकारले ‘समृद्ध नेपाल ः सुखी नेपाली’ भन्ने सिद्धान्तका साथ आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको बताए ।

    प्रधानमन्त्री मोदीले स्थानीय तह, संघीय संसद् र पहिलो प्रान्तीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली जनता र नेपाल सरकारप्रति हार्दिक बधाई ज्ञापन गर्दै नेपाल र नेपालीले देशको विकास र स्थायित्वका लागि लिएको दूरदृष्टिको सरहाना गर्नुभयो ।
    दुवै प्रधानमन्त्रीले वीरगन्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन गर्दै त्यसको शीघ्र सञ्चालनबाट सीमापार व्यापार तथा वस्तु र सर्वसाधारणको आवागमनले विकास र आर्थिक वृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    दुवै देशका प्रधानमन्त्रीले भारतको मोतीहारी–अमलेखगन्ज सीमापार पेट्रोलियम पदार्थ पाइपलाइन बिछ्याउने परियोजना कार्यारम्भको ‘भिडियो’ सम्मेलनमार्फत अवलोकन गरे ।

    नेपालमा सञ्चालित विकासका द्विपक्षीय परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्नुपर्ने र नेपाल–भारत सम्बन्धका विविध क्षेत्रका सहयोगका कार्यसूचीलाई लागू गर्ने विद्यमान संयन्त्रलाई पुनर्जीवित गर्नुपर्नेमा प्रधानमन्त्रीद्वयले जोड दिए ।

    प्रधानमन्त्री ओलीको भ्रमणबाट बहुआयामिक नेपाल–भारत साझेदारीमा नयाँ आयाम थपिएकामा दुवै देशका प्रधानमन्त्रीले सहमति जनाउनुभयो । भारत भ्रमणका निम्ति गर्नुभएको आमन्त्रण र आफू नेतृत्वको प्रतिनिधिमण्डलप्रति देखाइएको हार्दिक आतिथ्यका लागि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीप्रति आभार व्यक्त गरे ।

    प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई यथाशक्य चाँडो नेपालको भ्रमण गर्न आमन्त्रण गरे । प्रधानमन्त्री मोदीले भ्रमणको आमन्त्रणलाई स्वीकार गरे । प्रधानमन्त्री मोदीको भ्रमणको मिति कूटनीतिक माध्यमबाट अन्तिम रूप दिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...