News Portal

  • छोरा जन्माउन छवटी श्रीमती

    रोल्पा, २९ चैत
    ५६६ पटक
    रोल्पा, २९ चैत

    “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ, त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने ।
    हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छोरै पाउन छवटी श्रीमती भित्र्याएको बताए ।
    पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो । उनीबाट दुई छोरी छन् । यस्तै १७ वर्षीया किशोरीलाई उनले ३० वर्षको उमेरमा दोस्रो श्रीमतीका रुपमा भित्र्याए । उनीबाट सन्तान भएनन् । त्यसपछि उनले एकपछि अर्काे गर्दै केही वर्षको फरकमा २०÷२२ वर्षको उमेरका किशोरीलाई भित्र्याउने क्रम जारी रह्यो । हाल उनकी श्रीमती करीब २२ वर्षकी छन । यसअघि भने उनले पाँचौँ श्रीमतीका रुपमा ५६ वर्षको उमेरमा ५४ वर्षीया विधवा महिलासँग प्रेम विवाह गरेका थिए । उनीबाट पनि छोरा नभएपछि करीब एक वर्ष पहिले २१ वर्षीया युवतीलाई श्रीमतीका रुपमा भित्र्याएको पुनको भनाइ छ ।

    यसरी छैटौँ श्रीमतीबाट उनको छोरा जन्माउने धोको पूरा भएको छ तर सुखी जीवन जीउने सपना भने साकार हुन सकेको छैन । उनकी कान्छी श्रीमती चौबिसै घण्टा मदिरा सेवन गरी बेहोस हुने गरेपछि उनलाई मानसिक तनाव बढ्दै आएको छ, जसका कारण उनले शारीरिक तथा मानसिक रुपमा श्रीमतीलाई यातना दिँदै आएको छन । करीब चार महिनाको बच्चा धुरुधुरु रोइरहँदा पनि बच्चा सम्हाल्न नसक्ने गरी मदिरा सेवन गर्नुले यो परिवारलाई विक्षिप्त बनाएको छ ।

    ‘दुई श्रीमतीको पोई, कुनाबसी रोई’ भनिन्छ तर श्रीमतीले घर भरिँदा पनि पुनलाई परवाह छैन । यसरी एकमाथि अर्काे सौता हाल्दै गएपछि केहीवर्ष पहिले उनकी जेठी श्रीमतीले बहुविवाहको मुद्दा चलाइन । जसका कारण उनले साढे एक वर्षको जेल जीवनसमेत बिताइसकेका छन । तर जेलबाट निस्किएर पुनः विवाह गरेको बताउने पुनले विवाह गर्नु र छोड्नुलाई सामान्य रुपमा लिएको बुझिन्छ ।

    आफू ज्याला मजदूरी गरेर घर फर्कने बेला मदिरा सेवन गरेर श्रीमती एकतिर लड्नु र चार महिनाको बच्चा अर्काेतिर रोइरहनुले वरपरका छिमेकीलाई समेत हैरानी हुने गरेको छिमेकीले बताएका छन् । यसरी विवाह गरेका अन्य श्रीमतीले छोडे पनि उनका तीनवटी श्रीमती भने उनकै संरक्षणमा फरक फरक स्थानमा बस्दै आएका छन् ।

    पितृसत्तात्मक सोच र चिन्तनमा जेलिएको हाम्रो समाज अझै पनि छोरीभन्दा छोरालाई प्राथमिकता दिँदै आएको छ । अर्काेतिर घरमा सौता भएको थाहा पाउँदापाउँदै एकपछि अर्काे महिला सौताका रुपमा घरमा भित्रिनुले पनि महिलालाई कमजोर बनाउँदै लगेको अधिकारकर्मीहरुले बताएका छन् ।

    महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार महिलाले छोरा वा छोरी जन्माउनुमा उसको कुनै दोष हुँदैन । यसमा दुवैको समान जिम्मेवारी रहन्छ । महिलाकै कारणबाट छोरा नभएको सम्झनु राम्रो होइन । साथै यसरी मनपरी विवाह गर्नु र छोड्नुले श्रीमान् श्रीमतीलाई मात्र नभएर उनका छोराछोरीलाई समेत नकारात्मक असर पारेको हुन्छ भने जसका कारण निर्दाेष बालबालिकाको बिचल्ली हुँदै गएको छ ।

    अर्काे कुरा घरमा श्रीमती भएको देख्दादेख्दै बाबुको उमेरको पुरुषलाई श्रीमान्का रुपमा स्वीकार्नु महिलाको मूर्खता हो । महिलाका पक्षमा कानून बनिरहँदा तथा कार्यान्वयन भइरहँदा यसरी महिला अधिकारको दुरुपयोग गर्नु वा आफ्नो कर्तव्य बोध नगर्नुले समाजलाई अमर्यादित तथा दूषित बनाउन सक्छ । त्यसैले कानून विपरीत कार्य गर्ने महिला होस् वा पुरुष दुवै सजायको भागेदार हुनुपर्छ । अञ्जानमा सौतामाथि पर्नु दुःखद पक्ष भए पनि जानाजान सौतामाथि, त्यो पनि पाँचौँ छैटौँ श्रीमतीका रुपमा भित्रिनु बिलकुलै राम्रो होइन, उनले भनिन ।”

    यस्तै जिल्ला अदालत रोल्पाका मेलमिलापकर्ता तिर्था आचार्यका अनुसार आफ्नो अधिकार खोज्दै गर्दा अर्काको अधिकार हनन गर्ने जोकोहीलाई कानूनी कारवाही भयो भने मात्र यस किसिमको विकृति रोकिँदै जाने देखिन्छ । एउटी महिला अर्की महिलामाथि सौता जानु वा वाचा कसम खाएर भित्र्याएकी श्रीमतीमाथि सौता हाल्नु दुवै गलत काम भएको हुँदा यस किसिमका गतिविधिमा संलग्न दुवैलाई कानूनी कारवाही हुनैपर्छ ।

    यसैगरी मनोसामाजिक विमर्शकर्ता भावना शर्माका अनुसार छोराछोरीको विवाह भइसक्दासम्म पनि बाबुले दोस्रो तेस्रो हुँदै क्रमशः श्रीमती भित्र्याउँदै जानुले श्रीमान्–श्रीमतीलाई मात्र नभई यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर सिङ्गो गाउँ समाज हुँदै राष्ट्रलाई पर्न जाने भएको हुँदा यस विषयमा सबै सचेत बन्न जरुरी छ । सजायका भागेदारलाई कानूनी कठघरामा नउभ्याएसम्म विकृति रोकिँदैन ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...